राजनीति देश र जनताको हितका लागि हो । जनताको जीउ ज्यानको सुरक्षाका लागि हो । तर, महामारीको रूपमा विस्तार भएको र सरकारकै प्रक्षेपण अनुसार चाडबाडको समयमा झन् बढ्ने अनुमान गरिएको डेंगुको रोकथाममा सरकारको ध्यान गएको देखिँदैन । केही सावधानी र सचेतनताका सन्देश प्रवाह गर्नु बाहेक सरकारले कुनै ठोस कदम चालेको देखिँदैन ।
सङ्घीय राजधानी काठमाडौँमा डेंगुको विस्तार तीव्र छ । दसैँ तिहारका बेलामा मानिसहरू सहर बजारबाट गाउँतिर र सहर बजारकै एक ठाउँबाट अर्को ठाउँमा हुने आउजाउका कारण डेंगु अझ फैलने र बढ्ने प्रक्षेपण गरिएको छ । यसो हुन सक्ने सहज अनुमान लाउन सकिन्छ ।
सरकारले डेंगुबाट जोगिन सन्देशहरू प्रवाहित गरिरहेको छ । प्रवाहित सन्देशहरू मार्फत सचेतना बढाउनु राम्रो हो । सम्भव हुने जतिले सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्छ । असावधानी र हेलचेक्र्याइँले आफैलाई हानि गर्दछ । तर, सरकारी क्षेत्रका विज्ञहरूले भनेजस्तो सावधानी अपनाउन र सुरक्षित हुन सक्ने अवस्था सबैलाई जत्तिकै सहज छैन । सहर बजारमा कुनै निश्चित आसनमा बसेर काम गर्नेहरूका लागि पूरा शरीर ढाकिने गरी लुगा लगाएर बस्न र अन्य सुरक्षा अपनाउन सम्भव होला, तर आम मानिसहरूलाई यसो गर्न सम्भव छ ? छैन । खेत—बारी, वन—पाखा, खेत—खलियानमा काम गर्ने, खोला किनारमा र अन्यत्र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई यस्ता सन्देशहरू झन् महँगा पर्दछन् ।
सरकारले लाम बाहुले, पूरा शरीर ढाक्ने लुगा लगाउने सन्देश दिइरहेको छ । यस्तो आर्थिक हैसियत र यस अनुकूल कामका क्षेत्र भएका मानिसहरूको मात्र भएजस्तो गरी सन्देश प्रसारण गरिरहेको छ । सबैलाई झुल उपलब्ध होला ? सबैलाई पूरा शरीर ढाक्ने लुगा उपलब्ध होला ? यस्तो नहुनेहरूका लागि सरकारको दायित्व हुन्छ कि हुँदैन ? बस्ती र श्रमका हरेक क्षेत्रमा डेंगु लार्भा नष्ट गर्ने अभियान किन चलाउँदैन सरकार ?
अहिले सङ्घीय व्यवस्था छ । सरकार तीन तहका छन् । काठमाडौँको सिंहदरबारले देख्न नसक्ने ठाउँहरू देख्न सात वटा प्रदेश सरकार र राजधानी छन् । त्यति मात्र होइन, सात सय त्रिपन्न स्थानीय सरकार छन् । जो जहाँ छ, त्यही राज्यको उपस्थिति र सरकारको अनुभूति हुने व्यवस्थालाई नै ‘गाउँ गाउँमा सिंहदरबार, टोल टोलमा सरकार’ भनिएको हो । विगतमा कोरोना महामारीका बेला देखिएको प्रदेश सरकार र स्थानीय सरकारहरूको सक्रियता अहिले देखिएको छैन ।
अहिले सङ्घीय र प्रदेश सरकारको राजनीतिक नेतृत्वलाई चुनाव लागेको छ । उनीहरू चुनावी तयारीमा छन् । बहुदलीय लोकतन्त्रमा चुनावले उच्च महत्त्व पाउनु पर्ने विषय ठिक हो । तर, जनताको जीउ ज्यान—जीउधनभन्दा माथि कुनै राजनीति हुँदैन । चुनाव, राजनीति, प्रतिस्पर्धा, खबरदारी जनता, समाज र राष्ट्रको हितका लागि हो । यी सबै बिर्सेर, जनताका तात्कालिक समस्याहरूप्रति बेखर रहेर गरिने राजनीतिको अर्थ हुँदैन ।
सङ्घीय सरकारको राजनीतिक नेतृत्व आफ्नो गठबन्धन जोगाउन र आगामी निर्वाचनलाई आफ्ना पक्षमा पार्ने ध्याउन्नमा छन् । प्रदेशका नेताहरूको अवस्था पनि उस्तै छ । गठबन्धन र भागबन्डामा सीमित राजनीतिक नेतृत्व कस्तो हुन्छ भन्ने बुझ्न अहिले गठबन्धन दलका नेताहरूको जनताप्रतिको उदासीनताबाट छर्लङ्ग हुन्छ । प्रदेश सरकारका नेताहरूको अवस्था पनि उस्तै छ । नेपाली जनता रोग व्याध, प्रकोप, महामारीमा पर्दासमेत सरकारको राजनीतिक नेतृत्व बेखर गठबन्धनको निरन्तरता जनताको अपेक्षा र कामना हुन सक्छ त ? कदापि हुन सक्दैन ।
देशको स्थायी सरकार भनेर चिनिने प्रशासनिक नेतृत्व जनताभन्दा टाढाको शक्ति होइन । यो ठूलो राजनीतिक निर्णय पर्खनुपर्ने विषय पनि होइन, आचारसंहिता आकर्षित हुने विषय पनि होइन । तसर्थ सङ्घीय प्रशासनले डेंगु रोकथामका लागि प्रशासनिक सक्रियता बढाउनु पर्दछ । स्थानीय तहको निर्वाचन सकिएर बनेको स्थानीय सरकारहरूले महामारीको रूपमा फैलिँदै गरेको डेंगुको रोकथामका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ । गठबन्धन राजनीतिक गलफतीबाट मुक्त रही स्थानीय सरकारहरूले अविलम्ब उचित कदम चाल्न ढिलो नगरुन् ।
प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार २ : १० बजे
प्रतिक्रिया