‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कथा अरनिकोको : परिचय प्राचीन नेपाली कला कृतिको

नेपाली जनजिब्रोमा झुन्डिएको एउटा उखान छ त्यो के भने 'बाठो मानिसको पिठो पनि बिक्छ लाटोको चामल पनि बिक्दैन' अर्थात् बाठो मान्छेले नाना थरीको बखान गरेर पिठो पनि बेच्न सक्छ तर सोझो सिधा मान्छेले पिठो भन्दा बहुमूल्य चामल पनि बेच्न सक्दैन भन्ने हो । हिजो आज घर(घरमा डायबिटिजका रोगीहरू भएका कारण चामलभन्दा पिठो महत्त्वपूर्ण भएको प्रसङ्ग छँदैछ । 

भनाइको तात्पर्य के मात्र हो भने आफ्नो काँचो सभ्यता कला र टुसाएको संस्कृतिलाई समेत अनेक आख्यान जोडेर दुनियाँ सामु प्रस्तुत गर्न आधुनिक प्रविधि र विज्ञानको सहायताबाट खप्पिस रहेको यस विश्वमा हामीले भने आफ्नो पुर्खाहरूले आर्जेको सदियौँ सदियौँ पुरानो कलाकृति, सभ्यता र संस्कृतिलाई पनि राम्रो सँग उजागर गर्न सकेका छैनौँ ।

यसको एउटा ज्वलन्त प्रमाण यलय भनिने पाटन सहरका यलेय बाबु अर्थात् अरनिकोले ७०० वर्ष अगाडि तिब्बत र चीन पुगेर त्यहाँ हाम्रो कला, संस्कृति र बुद्ध धर्मको दीप प्रज्वलन गर्दा समेत हामीले उनको योगदान र तपस्या बारे युगौँ सम्म जानकारी पाउन सकेका थिएनौँ ।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी पटक/पटक चीनमा नपुग्नु भएको भए सम्बत २०२८ सालमा पनि अरनिको र उनले तिब्बत र चीनमा फैल्याएको नेपालको कृतिबारे हामी नेपाली समेत अनविज्ञ नै रहने थियौँ । हाम्रो मूर्तिकला, वस्तुकला, हस्तकला, चित्रकला, दर्शन र सृजनाबारे विश्वका अन्य समुदायमा जानकारी पुर्‍याउने त कल्पना सम्म पनि गर्न सक्ने कुरा भएन । सत्यमोहन जोशीले चार(चार पटक चीनमा जाने र त्यहाँ अध्यापन गर्ने अवसर पाउनु भएको कारण ढिलै भए पनि हामीले हाम्रा प्राचीन कला संस्कृति र दर्शन तिब्बत र चीन सम्म फैल्याएर त्यहाँ ख्याति कमाएर नेपाल र नेपालीको सम्मान कायम गर्ने अरनिकोका सम्बन्धमा जानकारी पाउने अवसर पायौँ । यो हामी सबैको सौभाग्य हो ।

२०२८ साल पछि सत्यमोहन जोशीको अन्वेषणलाई आधार बनाएर अरनिको बारे धेरै चर्चाहरू भए । तर जति चर्चा भए पनि अरनिकोको बारे सत्यमोहन जोशीले आजभन्दा ५० वर्ष अगाडी गरेको अन्वेषणकै सेरोफेरोमा मात्र केन्द्रित रहेको छ । अरनिको र उनले तिब्बतको शाक्य विहारमा निर्माण गरेको 'स्वर्ण स्तुपा' र 'तातु' नगर हालको बेइजिङमा निर्माण गरेको 'श्वेत चैत्य' सम्बन्धित जानकारीको सर्वै श्रेय वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नै जान्छ । अरनिकोले ७०० वर्ष अगाडि तिब्बत र चीन पुगेर आफ्नो अद्भुत क्षमताबाट नेपाली कला र संस्कृति फिँजाएको तथ्य एउटा भूगर्भविद्ले पृथ्वीको सतहबाट हिराको खानी अन्वेषण गरे जस्तो गरी अन्वेषण गर्न उहाँ सफल हुनुभएको छ । उहाँकै योगदानका कारण अहिले नेपाली जनता अरनिको, तिब्बतको शाक्य विहार स्थित 'स्वर्ण स्तुपा' र चीनको बेइजिङमा रहेको अद्भुत 'श्वेत चैत्य' बारे धेर/थोर जानकारी राख्न पाएका छौँ । शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषा र नेपाली भाषामा लेख्नु भएको तथा नेपाल भाषा बाट नेपाली भाषामा अनुवाद गरिएको अरनिको बारेको सोध ग्रन्थले नेपाल र नेपाली भाषी धेरैलाई राम्रोसँग जानकारी दिन सफल भयो।

तर नेपालको मूर्धन्य कला सम्राट् जसले ७०० वर्ष पहिले नेपाल र नेपाली राष्ट्रको कला सभ्यता र संस्कृतिलाई विशाल छिमेकीमा परिचय दिएर दुई देशबीचको सांस्कृतिक सेतुलाई जोड्ने काम गर्‍यो, उनका बारे अन्तर्राष्ट्रिय जगतले पनि जानकारी राख्नु अझ राम्रो कुरा हो। त्यही अन्तर्राष्ट्रिय जगतमा अरनिको र उनको अतुलनीय योगदान बारे जानकारी दिने उद्देश्यले लेखक कृष्ण कुमार पाण्डे पाण्डे ( k.k Pandey) ले अरनिको र उनको कलाकृति सम्बन्धमा अङ्ग्रेजी भाषामा एउटा पुस्तक प्रकाशन गर्नु भएको छ । यस पूर्व विभिन्न विषयका आठ(आठ वटा पुस्तक लेखिसक्नु भएका पाण्डेको यो पछिल्लो अरनिको बारे इतिहासमा आधारित औपन्यासिक कृति 'दि डिभाइन हैण्डस'  'अरनिको मोर देन ए गेष्‍ट अफ एनसिएन्ट चाइना'ले अरनिको र तिब्बतको 'स्वर्ण स्तुपा' र  चीनको बेइजिङमा निर्माण गरेको 'श्वेत चैत्य' बारे अन्तर्राष्ट्रिय जगतलाई राम्रो जानकारी दिनेमा विश्वास गर्न सकिन्छ । हामी सबैलाई थाहा छ साहित्य साधना आफैँमा एउटा कठिन काम हो । त्यसमा पनि एउटा कालखण्डको इतिहासको सत्य(तथ्यलाई त्यसै ऐतिहासिक उपन्यासका पात्रको सेरोफेरोमा जीवन्त रूपमा प्रस्तुत गर्नु अझ गाह्रो काम हो । यो जो कसैले गर्न सम्भव छैन ।

अरनिकोको यस ऐतिहासिक सत्य तथ्यलाई साहित्यको उपन्यास विधामा परिणत गरेर लेखक के के पाण्डेले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्राचीन मूर्तिकला वास्तुकला, संस्कृति र सभ्यता चिनाउन एउटा रोचक काव्य नै सृजना गर्नु भएको छ । सरल र मिठो अङ्ग्रेजी भाषामा लेखिएको कारण नेपालको प्राचीन कला सभ्यता संस्कृतिप्रति चाख राख्ने पाठकहरूका लागी इतिहासको तथ्यमा आधारित यो उपन्यास एउटा कोसेढुंगा साबित भएको छ । प्राचीन नेपाल चिन्ने आँखीझ्याल भएको थियो । 

अरनिकोले नेपाल र चीनबिचको मित्रता बढाउन पुर्‍याएको योगदानलाई इङ्गित गर्दै के।के पाण्डेको औपन्यासिक कृति 'दी डिभाइन हैण्डस' को लोकार्पण गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले यस कृतिले मञ्जुश्री, बलभद्र र भृकुटीले न्यानो बनाएको नेपाल र चीन बिचको मित्रता तथा बौद्ध दर्शनको विस्तारलाई नेपाली धर्ती पुत्र अरनिकोले थप उज्यालो तुल्याएको तत्थ्यलाई समेत नेपालबारे जानकारी राख्न चाहने विदेशी पाठकका लागि लेखकले उजागर गर्दिनु भएको कुरा बताउनु भएको हो । 

के।के। पाण्डे एउटा सिद्धहस्त साहित्यकार नभएको भए अरनिकोको बारे ऐतिहासिक तथ्याङ्कका आधारमामा सरसर्ति रूपमा लेख्दा कथावस्तुको लेखन यसरी हुन सक्दथ्यो ।त्यो के भने तेह्रौँ शताब्दीको सुरुवात सँगै चीन एकीकरण गर्ने युनान वंशका शक्तिशाली सम्राट् हुपिले भनेर चिनिने कुवलाई खाँले आफ्ना तिब्बती धर्म गुरु पासपालाई तिब्बतमा रहेको शाक्य गुम्बा भित्र एउटा 'स्वर्ण स्तुपा' बनाउने इच्छा प्रकट गर्दछन् । सम्राट्को उक्त इच्छा पूरा गर्न शिल्पकला, वास्तुकला चित्रकारिता दर्शन सांस्कृतिक र सभ्यताको धनी भनी त्यस बेला नै प्रसिद्धि कमाएको नेपालको यलय ९पाटन नगर० बाट स्तुपा निर्माण गर्न १०० कालिगढ पठाउन राजा भीमदेव मल्ललाई अनुरोध गरी आफ्नो दूत पठाउँछन् । बौद्ध धर्म गुरु पासयाको अनुरोधमा ८० जना दक्ष कालिगढ राजाले पठाउने तयारी गर्दछन् । तिनै कालिगढहरूको नाइके भएर १७ वर्षे ठिटो यलयबाबु नाम गरेको ९अरनिको० तिब्बत गएका हुन् । स्वर्णिम स्तुपाको निर्माण सकेर नेपाल फर्कने तरखरमा रहेका उनलाई धर्मगुरु पासपाले आफू सँगै चीन पुगेर एक पटक सम्राट् कुवँलाई खाँलाई भेटेर मात्र नेपाल फर्कन आग्रह गर्दछन्। चीन पुगेर सम्राट्को दरबारमा अरनिकोको कलाकृति र सिपको तारिफ धर्मगुरु पासपाले गर्दछन् । सम्राटले उनको सिपको परीक्षा लिनका लागि एउटा भत्केको ढलौटको मूर्ति मर्मत गर्ने काम दिन्छन् । त्यसमा अरनिको पुरै सफल हुन्छन् ।सम्राट्को विश्वास जित्दछन् । चीनको राजधानी 'तातु' हालको बेजिङ सहरमा एउटा  'श्वेत चैत्य' बनाउन सम्राटले दिएको काम समयमा नै  सम्पन्न गर्दछन् । सम्राटले उनलाई मन्जी सरहको मानपदवी दिएर राख्दछन् । राजधरानासँग वैवाहिक सम्बन्धमा पनि उनी जोडिन्छन् । उनको मृत्यु पश्चात् उनको स्मृतिमा उनको बयान लेखेर शिलालेख ठड्याइन्छ । त्यसै शिलालेखबाट उनी अद्भुत कलाकार, वास्तुकार र चित्रकार भएको तथ्य खुल्छ । यसै शिला लेखबाट ७०० वर्ष अगाडि देखी हावा, पानी, तुषारो र वर्षाको बाबजुद एउटा उज्ज्वल नक्षत्र जस्तो चम्किएको देखिने 'श्वेत चैत्य' का निर्माता अरनिको नाम गरेको व्यक्ति नेपालका हुन् भन्ने परिचय भेट्टाइएको हो । इतिहासको वर्णन यति मै सकिन्छ ।

साँच्चै भन्नु पर्दा के के पाण्डेले अरनिकोको सम्बन्धमा सत्यमोहन जोशीले अन्वेषण गरेर पत्ता लगाउनु भएको इतिहास रूपि अस्थिपञ्जरमा मांसपेशी श्वासप्रश्वास प्रणाली मात्र होइन पुरा प्राण नै भरिदिनु भएको छ ।

तथ्य सत्य उजागर गर्न  'श्वेत चैत्य' र अरनिकोको समाधि स्थलको अध्ययन गर्न लेखक पाण्डे स्वयम स्थलगत भ्रमण गर्न वेइजिङ्ग पुग्नु भएको कारण आफ्नो रचना प्रति उहाँको उच्च समर्पणलाई उजागर गरेको छ ।

यसै कुरालाई इङ्गित गर्दै पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति स्वयमले भन्नु भएको छ 'लामो अन्वेषण र विश्लेषणबाट प्राप्त तथ्यलाई पात्रहरूको माध्यमबाट रोचक सामग्री तयार गर्ने काम एक गम्भीर र सृजनशील रचनाकारबाट मात्र सम्भव छ । आफ्नो कृतिलाई जीवन्त बनाउन रचनाकार सफल हुनु भएकोमा म बधाई दिन चाहन्छु ।'

राष्ट्रपति भण्डारीबाट यस कृतिका सम्बन्धमा पोखिएको विचार वास्तवमा साश्‍वतसत्य हो। एउटा भनाई छ 'तस्बिर आफैँ बोल्छ'। त्यसमा कुनै शब्द लेखिराख्नु पर्दैन । रचनाकार पाण्डेले एउटा सानो(सानो घटनाक्रमलाई प्रस्तुत गर्दै त्यस बेला नेपाल तिब्बत चीनबीच रहेको प्रगाढ मित्रताको सन्देश कुनै शब्द अलङ्काबाट विभूषित नगरी पनि दिन सफल हुनु भएको छ । यो उहाँको अर्को लेखन विशेषता हो भन्नुपर्दछ । जस्तो कि रचनाकारले आफ्नो उपन्यासिक आख्यानमा तिब्बती धर्मगुरु पासपाले आफ्नो दूत पठाएर पाटनका राजा भीमदेव मल्ल समक्ष एक सय दक्ष कालिगढको माग गर्दा राजा स्वयम् कालिगढहरू छिटो पठाउन आफैँ अग्रसर भएका थिए । आफ्नो मुलुकमा पाँच वर्षको अन्तरालमा ठुला/ठुला भूकम्प गएको र पुन निर्माणको कामलाई अगाडी बढाउनु पर्ने अवस्थामा तिब्बतबाट माग हुँदासाथ दक्ष जनशक्ति तुरुन्त पठाउने राजाको हुटहुटीबाट प्राचीनकालदेखि नै नेपाल र तिब्बत चीन बिचको प्रगाढ मित्रतालाई उजागर गरेको पाइन्छ ।

त्यसैगरी मित्रता, सम्मान र सद्भाव एकतर्फी मात्र थिएन । जसरी नेपालले ७०० वर्ष अगाडि आफ्नो पुन निर्माणलाई अफ्ठेरो परेको अवस्थामा पनि तिब्बत चीन सँगको अपार मित्रताका कारण दक्ष जनशक्ति पठाउने काम गर्‍यो त्यस्तो मित्रता आधुनिक युगसम्म पनि अटुट रूपमा रहेको छ भन्ने सन्देश चीनका तत्कालीन प्रधान मन्त्री चाउ एन लाई ले 'श्वेत चैत्य' तोडफोड गर्नबाट रोक्दै यो नेपाल चीन मित्रताको प्रतीक भएकोले त्यसको संरक्षण गर्नुपर्ने अठोट व्यक्त गरेबाट प्रष्‍ट हुन्छ ।

यो मित्रताको पक्षलाई रचनाकारले कुनै व्याख्या नगरी  'तस्बिर आफैँ बोल्छु भन्ने जस्तो गरी व्यक्त गरिएको छ । यो अद्‍भूत नयाँ प्रयोग गर्न पनि लेखक सफल हुनुहुन्छ ।

यसरी एउटा रचनाबाट देशको प्राचीन कला संस्कृति सभ्यताका साथै मित्रराष्ट्रसँग रहेको मित्रताको कसिलो गाँठो समेतलाई उजागर गर्न लेखक सिद्धहस्त साबित हुनुभएको छ । 

यसै कुरालाई हृदयम् गरेर होला लोकार्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले भन्नु भएको थियो 'इतिहासको एउटा युगलाई जीवन्त रूपले स्मरण गराउने 'श्वेत चैत्य' आज पनि नेपाल र चीन बिच मित्रताको प्रतीक बनेर उभिएको  छ । हाम्रो नजिकको छिमेकी मित्र राष्ट्रसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रले खेलेको भूमिका ऐतिहासिक हुनुका साथै उच्च सम्मान योग्य रहेको पनि यसबाट पुष्टि हुन्छ'। उहाँको भनाई थियो ।

समष्टिमा भन्नु पर्दा रचनाकार के के पाण्डेको कृति  'दि डिभाइन हैण्डस्' शताब्दी पुरुष सत्यमोहन जोशीले अन्वेषण गर्नुभएको अरनिको र नेपालको कलाकारिता मूर्तिकला, हस्तकला, वास्तुकला, सभ्यता र बौद्ध दर्शनको सन्देश चर्मोकर्ष अवस्थामा रहेको प्राचीन नेपाललाई अङ्ग्रेजी भाषामा लेखिएको कारण विश्व समक्ष चिनाउन सफल हुनेमा विश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ३४ बजे