काठमाडौँ । दसैँ, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।
दसैँको पूर्णिमा (असोज २३ गते)सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो ।
यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ ।
दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठुला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्न सक्ने बताउनुभयो ।
काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आआफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । उहाँले भन्नुभयो, “यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ ।”
सबै क्षेत्रले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालवाहक सवारीसाधनलाई दिनुपर्ने उहाँले बताउनुभयो । अति आवश्यक पर्ने सामान ल्याउने बाहेक १८ र २० चक्के सवारीसाधन चल्न पाउने छैनन् । विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो । कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो सङ्ख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने उहाँले बताउनुभयो ।
दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ ।
सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँ ठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोध समेत गरेको छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी छन् । वर्षा नरोकिएकाले ठाउँ ठाउँमा पहिराका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ । रासस
प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ७ : ५४ बजे
प्रतिक्रिया