भारतीय नागरिक १९ किलो चाँदीसहित पक्राउ

जनकपुरधाम – १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाको जटही नाकाबाट चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल (जटही) का प्रहरी नायब उपरीक्षक निर्मल खड्काका अनुसार शरीरमै चाँदीका पोका बाँधेर साइकल चढेर आउँदै गर्दा चेकजाँचका क्रममा उनी चाँदीसहित पक्राउ परेका हुन्। बरामद १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३४० नेपाली रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनु भयो ।

पक्राउ परेका भारतीय नागरिकको साथबाट एक थान साइकल, मोबाइल र घडी पनि बरामद गरिएको छ। पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १ : ४३ बजे