सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

कञ्चनपुर । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा  कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो ।

चिकित्सको सिफारिसअनुसार अभिलेख राखेर बेच्नुपर्नेमा मेडिकल सञ्चालक बिनाअभिलेख बेचेको पाइएपछि त्यस्ता औषधि जफत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब हरिनाथले बताउनुभयो ।“नशा रोग, निन्द्रा लगाउने, गर्भपतन गराउनेलगायत औषधि बेच्नका लागि मेडिकलमा राखेको पायौँ”, उहाँले भन्नुभयो, “बेचिएका त्यस्ता औषधिको  अभिलेखसँगै चिकित्सकको सिफारिस पनि फेला नपारेपछि जफत गरेका छौँ ।”

भियग्रा नामक औषधिसमेत चिकित्सको सिफारिसबिना बेच्न नपाइने भएकाले सो समेत जफत गरिएको सिनियर अहेब हरिनाथले बताउनुभयो । उहाँका अनुसार म्याद नाघेको ठूलो परिणामको औषसधसमेत तीनवटै मेडिकलबाट बरामद गरिएको छ । चिकित्सकको सिफारिसबिना चलाउनै नपाइने औषधि बेच्ने मेडिकलका बारेमा प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।

बजार अनुगमनका क्रममा म्याद नाघेका र मेडिकल सञ्चालकले सिफारिसबिना आफ्नै खशीले बेच्न नपाउने औषधि नबेच्न सचेत गराइए पनि  अटेरी गर्दै मानव स्वास्थ्यमा असर पर्ने गरी औषधि बेच्न थालेपछि  नगरपालिकाले कारबाही  अगाडि बढाउने भएको छ ।

अनुगमन टोलीले औषधि पसल चार, मासु पसल एक, नास्ता पसल चार, मिठाइ पसल एक, किराना पसल सात, मोबाइलसम्बन्धी पसल चार, सुनचाँदी पसल एक, हार्डवेयर पसल तीन, फेन्सी पसल दुई, श्रृङ्गार पसल एक र अन्य एक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका पसलमा मूल्यसूची नराखिएको, म्याद नाघिएका वस्तु राखिएको र नापतौलाका उपकरण प्रमाणित नगरेको पाइएको छ । “म्याद नाघेका वस्तु तत्कालै जफत गरेका छौँ”, अनुगमन टोलीमा सम्लग्न नगरपालिकाका नायब सुब्बा लक्ष्मीदत्त पाण्डेयले भन्नुभयो, “नापतौलका उपकरण तत्काल प्रमाणित गराउन र  चियानास्ता पसलमा सरसफाइ गर्नका लागि पहिलोपटकका लागि सचेत गराएका छौँ ।”

बजार क्षेत्रमा हुने कालोबजारी नियन्त्रण गर्ने कार्यसँगै सर्वसाधारणले सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु चाडपर्वका बेला उपभोग गर्न पाउन् भनेर अनुगमनलाई अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

चाडपर्वका बेला बजार क्षेत्रमा व्यापारीले मनोमानी तरिकाले मूल्य वृद्धि गरी सामान बेच्दा सर्वसाधारणलाई आहात हुने भएकाले त्यस कुरालाई मध्यनजर गरी बजार अनुगमनको कार्यलाई कडाइका साथ अगाडि बढाइएको उहाँको भनाइ थियो । दशैँ, तिहारसँगै छठपर्वसम्म बजार अनुगमन जारी रहने बताइएको छ ।

नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न माग 

नदीजन्य पदार्थ उत्खनन बन्द गर्न कृष्णपुर नगरपालिका–२ बाणि खल्ला बस्तीका बासिन्दाले माग गरेका छन् । मछेली नदीमा बर्सेनि हुने बालुवा, गिट्टी र ढुङ्गाको दोहनबाट बस्ती नै विस्थापित हुने अवस्थामा पुगेकाले उनीहरुले उत्खनन बन्द गर्न माग गरेका हुन् ।

बाणिस्थित खल्ला बस्तीका भलमन्सा फूलपाती चौधरीले नदीजन्य पदार्थ जथाभावीरूपमा उत्खनन हुँदा नदीले बहाव क्षेत्र परिवर्तन गरी बस्तीतर्फ सोझिएर बग्न थालेको बताउनुभयो ।“नदीले बहाव क्षेत्र परिवर्तन गर्दा बस्ती जोगाउनका लागि बनाइएको तटबन्धसमेत भत्किने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “पूर्व–पश्चिम राजमार्ग जोड्नका लागि मछेली नदीमा निर्माण गरिएको पुलसमेत खतरामा परेको छ ।”

खेतीयोग्य जमिन कटान भई यहाँ बस्दै आएका बासिन्दाले बस्ती नै छाडेर विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीयवासी चौधरीले बताउनुभयो । नदी उत्खनन बन्द नगरिए यस क्षेत्रका बासिन्दाले सडक सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिएका छन् । नदीको उत्खनन बन्द गर्नका लागि वडा कार्यालयमार्फत ८५स्थानीय बासिन्दाले हस्ताक्षरसहित नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

“नदीजन्य पदार्थ उत्खनन  वैज्ञानिकरूपमा गरिनुपर्ने हुन्छ”, जानकी चौधरीले भन्नुभयो, “वातावरणीय प्रभाव मूल्याङ्कनबिना गरिने नदीजन्य पदार्थको उत्खनन तत्काल रोकिनुपर्छ ।”  नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेको थियो । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनलाई कर्यान्वयनमा ल्याएरमात्रै नदीजन्य पदार्थ उत्खनन गरिनुपर्ने वडाध्यक्ष अर्जुन साउदले बताउनुभयो । उहाँका अनुसार खल्ला गोठ, मुक्त कमैया बस्ती बाणि र खल्ला बस्तीमा नदीजन्य पदार्थ सङ्कलन र उत्खननका सम्बन्धमा  नियमित अनुगमन तथा सुपरीवेक्षणका लागि समिति गठन गरिने छ ।
 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : २४ बजे