बारामा ४४ जनामा डेङ्गु पुष्टि

कलैया । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ । 

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताउनुभयो । 

डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताउनुभयो । डेङ्गु अझै बढ्न सक्ने उहाँको भनाइ छ । बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । 

डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पुरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रादेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिनुभएको छ ।  रासस

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : २० बजे