आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालेन, रेणु र हर्कले जरिवाना तिर्नुपर्ने

काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल र धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई साढे ७ लाख रुपैयाँ, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल साढे ७ लाखरुपैयाँ र धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलाई साढे ५ लाख जरिवाना गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएका कारण आयोगले जरिवाना तोकेको हो । मतपरिणाम सार्वजनिक भएको ३० दिन भन्दा ढिलो बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधारमा जरिवाना गर्ने निर्णय गरेको छ ।

निर्धारित समयमै निर्वाचन खर्च विवरण नबुझाउनेमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा कार्की, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम र काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोल छन् । उम्मेदवारले ६ महिनाभित्र जरिवाना नबुझाए पद नै जाने कानुनी व्यवस्था छ ।

विवरण नबुझाउनेमा इटहरी उपमहानगरका उपप्रमुख संगीताकुमारी चौधरी, जितपुरसिमराका प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारी, कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह, उपप्रमुख रौशन परविन, जनकपुरका प्रमुख मनोजकुमार साह सुडी, उपप्रमुख किशोरी साहलगायतका उम्मेदवार छन्  ।

आयोगले यही दफा टेकेर खर्चको विवरण पेस नगर्ने १ लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : १२ बजे