काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक बयान लिन सुरु गरेको छ । बयान दिन जबरा शुक्रवार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुग्नुभएको हो ।
समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यसअघि ४३ वटा प्रश्न सोधिसकेको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो।
बयानका क्रममा जबराले सात जना वकिलको नाम लिनुभएको थियो । जबराले नाम लिनुभएका सात जना वकिलसँग समितिले सोधपुछ गरेको थियो ।
सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उहाँहरू भने उपस्थित हुनु भएन।
जबराविरुद्ध सत्तारुढ दलका सांसदले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित हुनुभएकाे थियाे ।
हालसम्मको बयानमा जबराले महाभियोग निष्क्रिय भइसकेको दाबी गर्नुभएको छ । आफू विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उहाँले दाबी गर्दै आइरहनुभएको छ ।
प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १० : ३१ बजे
प्रतिक्रिया