राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

त्रिशूली । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयअनुसार नुवाकोटका चार विद्यालयमा चार कोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधिक प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।

चार कोठे भवन निर्माणका लागि छनोटमा परेका नुवाकोटको ऐंसेलुभूमे मावि किस्पाङ, सुन्दरादेवी मावि तादी, नवजीवन मावि र कालिका मावि ककनीले रु ५० लाखका दरले र सूचना प्रविधि प्रयोगशाला कार्यक्रममा छानिएका २५ विद्यालयले रु छ लाख ५० हजारका दरले बजेट प्राप्त गर्ने कार्यविधिमा भनिएको छ ।

कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । 

यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ०२ बजे