काठमाडौँ । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ ।
टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।
हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ ।
नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ । नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ ।
इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेकट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन ।
यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिम कार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
मोबाइल सेट बाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार ७ : ५१ बजे
प्रतिक्रिया