सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल यू-२० एसियन कप छनोटकाे सम्भावना न्यून

काठमाडौँ ।​​​​​​​ नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताउनुभएकाे छ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ ।  

प्रशिक्षक केसीले भन्नुभयाे, ‘छनोट हुने सम्भावना न्यून छ । किनभने, समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न हामीलाई गाह्रो छ । हामीले दुई खेल हारिसकेका छौं,’ केसीले भन्नुभयाे । 

पहिलो खेलमा नेपाल भुटानसँग २-१ ले पराजित हुँदा दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो । दुई खेल खेलेका बंगलादेश ४ अंकसहित शीर्षस्थानमा छ । एक खेल खेलेको कतार र दुई खेल खेलेको भुटानको समान तीन अंक छ । यस्तै, बहराइनको १ अंक रहँदा बिना अंक नेपाल पुछारमा छ । 

बहराइनविरुद्ध उत्कृष्ट खेल हेर्न पाउनेमा केसी आशावादी देखिए । यस्तै, केसीले अघिल्ला खेलपछि टिम पूर्ण तयारी नभएको बताउनुभयाे । ‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारीरिक रूपमा पूर्ण तयार थिएनौं । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ केसीले भन्नुभयाे । 

आयुष घलानको कप्तानीमा रहेको नेपाली टिम विगत सात दिनयता बहराइनमा छ । प्रतियोगिताको अघिल्लो दिन मात्रै बहराइन पुगेको थियो । प्रशिक्षक केसीले बहराइनको वातावरणमा घुलमिल भएको र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताउनुभयाे । 

‘हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो ।  एसियन कपमा छनोट हुनेभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्छौं,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : २४ बजे