यस्तो छ आजको विनिमय दर

पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव

मध्यविन्दु । पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । डङ्ेगुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताउनुभयो । जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म नौजना मात्रै डेङ्गुका बिरामी फेला परेका छन् । 

सूचना अधिकारी सुवेदीले भन्नुभयो, “उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं ।” सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको सुवेदीले बताउनुभयो । डेङ्गु परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । 

 पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको सुवेदीले जानकारी दिनुभयो । 

अहिले ओपिडीमा दैनिक २० जना डेङ्गुका सम्भावित बिरामी आउने गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलराज न्यौपानेले बताउनुभयो । सेतो रगतको कमी वा गम्भीर बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरेको भन्दै डा न्यौपानेले भन्नुभयो, “डेङ्गु किटको अभाव भए पनि अन्य अस्पतालमा परीक्षण गरेर रिपोर्टअनुसार उपचार गरेका छौँ,दैनिक दुई जना डेङ्गुका बिरामी भर्ना भएका छन् ।” 

जिल्लाको सरकारी अस्पतालमा नै डेङ्गुको परीक्षण नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् । सूचना अधिकारी सुवेदीका अनुसार जिल्ला अस्पतालमा डेङ्गुको मात्रै होइन स्क्रब टाइफसको परीक्षण किटको पनि अभाव रहेको छ । 
 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : ३३ बजे