आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले  शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । 

राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ः०० बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनः निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्नेछ । 

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो ।

भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष ली भ्रमणको दोस्रो दिन मङ्गलवार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलवार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो । 

प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलवार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तर संसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।  

मङ्गलवार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

मङ्गलवार नै दिउँसो परराष्ट्र मन्त्री डा.नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो ।

अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । 

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।    

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ४८ बजे