आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनी ट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । 

गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडाँै लागिएको छ ।

गए राति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनी ट्रकले ठक्कर दिएको जनाइएको छ ।

ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई  गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।

मिनी ट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ ।

ठक्कर दिने बा३ख १६४ नंको मिनी ट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिनुभयो ।

दुर्घटनापछि फरार भएको मिनी ट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडक खण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । 

घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।रासस

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : २१ बजे