‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताउनुभयाे।

काठमाडौं महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राख्नुभएकाे थियाे । फुड इन्सपेक्टर राख्नुपूर्व खाद्य परिकार बनाउने र बेच्ने व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम गर्नलाई आवश्यक प्रशिक्षित गर्नुपर्ने खाँचो महसुस गरेर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र वार्ड नम्बर ३० को अगुवाइमा यससम्बन्धी तालिम दिइएको छ ।

मण्डिखाटारस्थित गेट कलेजको समन्वयमा वडा नम्बर ३० का होटल व्यावसायी, रेस्टुराँ व्यावसायी, विद्यालयहरूका चमेना घर, खाज घर, ठेला पसले मालिक तथा कर्मचारी गरी ५४ जनालाई पहिलो चरणमा खाद्य सुरक्षासम्बन्धी तालिम दिइएको हो ।

सहरी स्वास्थ्य प्रबर्धन केन्द्रकी प्रमुख डा. आरती शाह नेतृत्व तथा गेट कलेजका प्रुमख कार्यकारी अधिकृत खेम लकाइँको समन्वयमा आयोजित कार्यक्रममा खाद्य स्वास्थ्य फुड हाइजिन्, स्वास्थ्य मापदण्ड, फोहोर व्यवस्थापनलगायतका शीर्षकमा तालिम दिइएको थियो।

कार्यक्रममा डा. शाहले खाद्य व्यवसायीहरूले स्वास्थ्यका प्रत्येक विषयमा संवेदनशील नभएमा यही नै जटिल स्वास्थ्य समस्याको कारण बन्ने भएकाले सम्बन्धित व्यवसायीहरूलाई जागरुक बनाउन तालिम आयोजना गरिएको बताउनुभयाे । 

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाइँले खाद्य स्वच्छता मानव जीवनको हरेक पक्षमा अपरिहार्य भएको अवस्थामा महानगरपालिकाको महान अभियानमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गर्नुभयाे । विश्वका थुप्रै मुलुकमा खाद्य निरीक्षकको व्यवस्था रहेको प्रसंग उल्लेख गर्दै उहाँले काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई खाद्य निरीक्षक नियुक्त गरि महानगरमा खाद्य स्वच्छता कायम गर्न लाग्नु स्वागतयोग्य भएको विचार व्यक्त गर्नुभयाे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारी किशोर खत्री, प्रमुख प्रशिक्षक गेट भोकेसनल फ्याब स्कुलका महाप्रबन्धक विवेक पौडेललगायत गेट कलेजका विभिन्न अध्यापकहरूले खाद्य सुरक्षा तथा स्वच्छताका विभिन्न आयामबारे प्रशिक्षण दिनुभएकाे थियाे । विज्ञहरू डा. किरण पाण्डे, डा.अनुपलगायतले खाद्य स्वच्छताका आयामबारे सहजीकरण गर्नुभएकाे थियाे । वडाको अगुवाइमा प्रमाण पत्र दिने, तर बीचबीचमा अनुगमन गरेर सरसफाइ तथा खाद्य सुरक्षाको स्टिकरसमेत प्रदान गरिने वडाध्यक्ष दलबहादुर कार्कीले बताउनुभयाे ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ४० बजे