पिरियड केमेस्ट्री : अन्धविश्वासको जरा हल्लाउने सुमधुर साहित्य !

अहिले यसै २०७९ को सुरूमा ‘पिरियड केमेस्ट्री’ नामको एउटा सानो उपन्यास प्रकाशित भएको छ । यसै त सानो वा ठूलो भन्ने के नै हुन्छ र ? सानो वा ठूलो सापेक्ष विषय हो— मान्छे, मान्छेको उमेर, वस्तु, घटना होस् वा पुस्तक ! कुनै अर्कोसँग तुलना नगरी केही पनि सानो वा ठूलो भन्न सकिँदैन । 

उपन्यास, त्यो पनि जीवनको साह्रै महत्वपूर्ण मनोविज्ञान बोध गराउने पुस्तक १२४ पेजको, मैले त यसलाई सानो देखेँ । मैले आफ्नो जवानीको सुरूआतमा मनोरञ्जनका लागि पढेका भारतीय उपन्यासकारहरू कर्नल रञ्जीत, वेदप्रकाश शर्माका सयौँ पृष्ठका उपन्यास हुन् या राजनीतिक वैचारिक मार्गदर्शन समेत गर्ने गरी जीवन र जगतबारे गहिराइमा डुबाउने लेखिएका महापण्डित राहुल साङ्कृत्यायन, मुन्सी प्रेमचन्द्र, आचार्य चतुर्सेन शास्त्री आदिका उपन्यास, म्याक्सिम गोर्की, निकोलाई अब्स्त्रोव्स्की, दोस्तोयव्स्की आदि सोभियत लेखकहरूका बडे बडे उपन्यास, प्रागैतिहासिक गहनतम विषय वस्तुलाई रोचकतासाथ प्रस्तुति दिने मदनमणि दीक्षितको  माधवी उपन्यास ! यिनीहरूसँग तुलना गर्दा कभर पृष्ठसमेत गन्दा १२४ पृष्ठको उपन्यासलाई सानो देख्नु मेरो आँखाको कमजोरी नभई सापेक्षताको—तुलनाको विषय हो । तर, एउटा पाठकका हिसाबले भन्नुपर्दा पुस्तकले दिन चाहेको विषयवस्तु महत्वपूर्ण पक्ष हो र यो आकारमा सानो देखिने ‘पिरियड केमेस्ट्री’ले यतिबेलाको समाजलाई पिरोली रहेको विषयलाई कलात्मक र सन्देशमूलक ढङ्गले वहन गरेको छ । 

मैले सुरूमै पुस्तकलाई सानो भनेर त्यसको औचित्य पुष्टि गर्न प्रयत्न गर्नुको अर्को पाटो पनि त्यस्तै स्पष्टीकरण दिएर औचित्य साबित गर्नुपर्ने छ, त्यो यस पुस्तका लेखकको उमेर । पिरियड केमेस्ट्रीका लेखक कृपा भण्डारी हुनुहुन्छ र उहाँको उमेर अहिले १७ वर्षको छ । अपवाद बाहेक साँचो कुरा भन्ने हो भने यो उमेर प्रकृति, पुतली, चराचुरुङ्गी, विद्यालय, शिक्षक, परिवारका सदस्यहरूका बारेमा गीत—कविता मात्र लेखेर स्याबासी थाप्ने उमेर हो कृपाको । तर, पिरियड केमेस्ट्री उपन्यास नेपाल निश्चित भूभागमा अलि बढी र सामान्यतया देशैभरिका खस—आर्य परिवारका महिलाहरूले नमिठो गरी भोग्नुपरिरहेको पीडाको बयान हो । 

यो पुस्तक पढिसक्नुभएका केही साथीहरूले यसबारे सामान्य चर्चा गर्नुहुँदा यसको नाम सुनेरै पढ्न पाए हुन्थ्यो भन्ने लागेको थियो । मेरा हातमा परे पनि हेर्नै नपाई त्यो अरूको हातमा सर्यो । कभर पृष्टमा राखिएको चित्र, लेखकको उमेर र त्यसले पाएको चर्चाले मैले यसलाई बालउपन्यास भन्ने ठहर गरेको थिएँ । अब के भन्ने लेखकको उमेरसँग दाँज्दा यसलाई ‘बाल’ भन्न सकिए पनि विषयवस्तु र प्रस्तुति देख्दा त्यसो भन्न सकिनँ । बाकीँ कुरा पाठकले आफै बुझ्नुहुनेछ । 

पुस्तकको नाम दुई शब्दमा छ— पिरियड केमेस्ट्री । पिरियड ? निर्धारित समयमा नियमित हुने । यहाँ महिलाहरूमा किशोरावस्थादेखि सुरू हुने मासिक चक्र वा रजस्वला हुने कुरालाई पिरियड भनिएको छ । केमेस्ट्री ? अन्तर्वस्तु, प्रभाव पार्ने तत्व । यस्तै होला । यसै पनि केमेस्ट्री भनेको रसायन हो । रसायनमा पदार्थको घटक, बनोट वा संरचना, आन्तरिक मेलमिलाप र फेरबदलको गुण हुन्छ । यी दुई शब्दको माध्यमबाट रजस्वला हुँदा उत्पन्न हुने मानसिक तथा भौतिक अवस्था जनाउन खोजिएको छ । पुस्तकको नाम सुन्दै जिज्ञासा उत्पन्न हुने ।

२२ वर्षकी अक्षता र २५ वर्षको आकाशको बसको यात्राबाट सुरू भएको यो कथा उनीहरू दाम्पत्य जीवनमा बाँधिएर उनीहरूको एक मात्र छोरी सन्तान १३ वर्षकी हुँदा सकिएको छ । कथाको मूल विषय रजस्वला हुने प्राकृतिक विषयलाई नछुने हुने बनाइएको र अझ छाउगोठमै बस्नुपर्ने कठोर नियमको सेरोफेरोमा छ । 

पोखरा जानुपर्ने अक्षता सुर्खेत जाने बसमा चढेको प्रसङ्गबाट यो यात्रा र कथा दुवै सुरू हुन्छ । यो घटना आफैमा सन्देशपूर्ण छ । ‘हो रहेछ । म चढेको बस सुर्खेत हिँडेको रहेछ । कति हुस्सु म ? बस चढ्नासाथ भुसुक्क निदाएँछु । समय काटेको पत्तै भएन छ । बसमा खालि सिट भएकाले उसले मलाई केही नभनी पछाडिको सिटमा बसेछ । कोहलपुरमा मानिसहरू बस भरिने गरी आएछन् । यी बुढी आमा जब बसमा चढ्न आइन् अनि बल्ल सिटको खोजी भएको रहेछ । बस यतिखेर पोखरा होइन, कोहलपुर कटिसकेको रहेछ ।’ यसरी गरिएको भुल कुनै घटनाबाट मात्र थाहा पाउन सकिन्छ र ती बुढी आमा जस्ता पात्रको भुल सुधारमा भूमिका हुन्छ भन्ने सन्देश यसको साह्रै महत्वपूर्ण प्रारम्भिक सन्देश हो । कसैले भनेनन् भन्दैमा कुनै गल्ती सही हुँदैन । गल्ती सच्याउन कुनै बुढी आमाको उपस्थिति महत्वपूर्ण हुन सक्दछ । 

अक्षता पोखराका लागि हिँडेकी थिइन्, बस थियो सुर्खेत जाने । यति कुरा बुझाउन बुढीआमैको उपस्थिति देखाइयो, यो पक्ष बडो गज्जबको छ । गल्ती हुन्छ, गल्ती सच्याउन सकिन्छ, तर त्यसका लागि कुनै घटना या त्यस्तै खास व्यक्तित्वको भूमिका हुन्छ, सक्रिय वा निस्क्रिय पनि हुन सक्दछ । यो बडो गज्जबको बिम्ब परिकल्पना हो । 

रजस्वला विशेष प्राकृतिक अवस्था हो । यो न पवित्र हो, न अपवित्र नै । पवित्रता, अपवित्रता त मानिसले बनाएका मान्यता हुन् । यसलाई पवित्र भनेर मान्नेहरू पनि अपवित्र भन्ने जत्तिकै अन्धविश्वासी हुन् । अनजानमा अपवित्र बनाइएको यो प्राकृतिक अवस्थालाई पवित्रताको जामा भिराउनुपर्ने केही छैन । समाजको अन्तर्विरोध नै यही हो— कसैले जे भन्छ, त्यसको उल्टो कथ्नैपर्ने र भन्नैपर्ने । रजस्वला हुनुलाई ‘रजस्वला भएको’ मात्र बुझ्न सकिन्छ नि ! पुस्तकको केन्द्रीय विषय यही नै हो जस्तो लाग्छ । 

अज्ञात कालदेखि पवित्र र अपवित्र, छुन हुने र छुन नहुने, घर बस्न हुने तर आजापूजा र भान्सा निषेध गर्ने, घरमै बस्न नहुने, छुट्टै गोठ बनाएर जोखिममा बस्नुपर्ने गलफतीमा जकडिएको सामाजिक मनोविज्ञानलाई जस्ताको तस्तै बुझेर यसरी पस्कन सक्ने कृपाको क्षमता सराहनीय देखिन्छ । कृपाको यो बुझाइ र प्रस्तुति हेर्दा उमेर र परिवेश दोषि मात्र हुँदो रहेन छ, बरु नयाँ र सही बुझाइको मूलढोका पनि हुन सक्दोरहेछ भन्ने देखिन्छ । 

कहीँ कहीँ अक्षता थकित र दुःखि देखिन्छिन् । कहीँ सामाजिक परिवेश र आकाशसँग रिसले मुर्मुरिएको देखिन्छिन् । उनी कहिलेकाहीँ आश्चर्यचकित देखिन्छिन् । कहिले भयाक्रान्त—त्रसित ! रातको भयङ्कर समय हुन्छ, जङ्गली जनावरहरूको सम्भावित आक्रमणको जोखिमको सन्दर्भ पनि छ । कहिले प्रेमालापमा लठ्ठ देखिन्छन् । जिस्किएर सिँगानी, रुन्ची जस्ता शब्दको प्रयोग र आकाशको एकोहोर्याइँ हाँसो उठ्दा पनि छन् । यसमा रोदन छ; तर रुन प्रोत्साहित गर्दैन । पीडा छ; तर पीडित भइरहने नियतिको पक्षपोषण गर्दैन । परिवर्तनको पक्षपोषण गर्दछ; तर जिन्दाबाद—मुर्दाबाद, होहल्ला र ढुङ्गामुढाको आन्दोलन सिकाउँदैन । यथार्थ वर्णन, व्यवहार र मनोवैज्ञानिक सन्देश यसमा कुँदिएका छन् । 

यो पुस्तक पढ्दा लेखकको सानो उमेर र यसको आकार हेरेर सहानुभूति प्रकट गर्नुपर्ने ठाउँ कतै भेटिँदैन । पुस्तकमा समेटिएका यस्ता दृश्य र वर्णनले शृङ्गार, वीर, करुण, हास्य, भयानक आदि साहित्यका नौ भावरसहरूमध्ये धेरैलाई पछ्याएको देखिन्छ । यसरी भावका दृष्टिले यो पुस्तक गतिलो साहित्यिक कृतिको रूपमा लिन सकिने खालको छ । 

साहित्यमा हुनैपर्ने सारभूत गुण हो— सामाजिक हित । साहित्यको सिद्धान्तका बारेमा भनिएको छ, हितेन सहितं साहित्यम् अर्थात् हितसहितको नै साहित्य हुन्छ । यो प्रत्यक्षतः महिलाहरूलाई रजस्वलाका समयमा हुने शारीरिक पीडा त छँदैछ, अन्धविश्वासका सामाजिक विभेद बेहोर्न विवश पारिएका महिलाहरूको हितमा छ भने अज्ञानता आधारित विसङ्गतिबाट जोगाउने प्रयास भएकोले सिङ्गो समाजको हितमा समेत रहेको देखिन्छ । यस सानो उपन्यासलाई असल साहित्य बनाउन यी पक्षहरूको महत्वपूर्ण र निर्णायक भूमिका रहेको छ । 

‘छाउ’ भनेको छुइ, ‘पडी’ भनेको हुनु अर्थात् छुइ हुनु भनिएको जस्तो बुझिन्छ । आमरूपमा नै खस— आर्य समुदायमा रजस्वला हुँदा छोइछाइ नगर्ने, बार्ने प्रचलन छ । यो प्रचलनको पालना कतै अलि कडा—कठोर छ भने कतै केही खुकुलो । एकनास नभए पनि सुदूरपश्चिमका र कणालीका केही भागमा रजस्वला भएका महिलाहरूका लागि छुट्टै गोठ बनाएर राख्ने चलन रहेको छ । यस्तो गोठलाई त्यता ‘छाउगोठ’ भनिन्छ । यो पुस्तकमा यो विषयलाई पनि छोइएको छ । यात्राका क्रममा पिरियड अर्थात् रजस्वला भएकी अक्षतालाई आमाले भान्सा र मन्दिर जान नदिएको बाहेक अरु कुरामा वास्ता  थिएन । तर, सहयात्री रहेको आकाशलाई सुर्खेततिरको यो प्रथा थाहा थियो । स्थानीय महिलाले आप्mनी सानी छोरीसँग गरेको संवाद ‘छि ! छि ! यस्तो हेर्नुहुँदैन । त्यो केटी फोहोरी र लाज पचेकी हो । त्यसैले त्यसको पछाडि रगत छ । भगवान्ले माफ गर्नुहुन्न यस्तालाई, छ्या ! कस्तो नकचरी र लाज पचेकी ?’ वास्तवमा रजस्वला हुनु भनेको त्यस्तो अक्षम्य र घृणित विषय हो त ? यसबारे उचित जानकारी नहुँदाको अन्धविश्वास हो । तर, कुनै पनि विषयवस्तुलाई सबैले एकै ढङ्गले हेर्दैनन् भन्ने कुरा पनि त्यहीँ आकाशले अक्षतालाई जोगाउन गरेको प्रयासबाट पनि स्पष्ट हुन्छ । रजस्वला भएकी अक्षतालाई महिलाले हेपेको, पुरुष आकाशले सघाएको प्रसङ्ग अर्थपूर्ण छ । 

साहित्यको मुख्य विषय एउटा हुन्छ, तर त्यसले प्रसङ्ग मिलाएर कलात्मक ढङ्गले फरक विषयमा पनि सन्देश दिनुपर्ने हुन्छ र यसो हुँदा साहित्यमा साहित्यिक रङ्ग तेजिलो हुन्छ । यो उपन्यासमा त्यसतर्फ पनि कृपाको ध्यान पुगेको देखिन्छ । एउटा प्रसङ्गमा ‘मानिसलाई सबैभन्दा ठूलो समस्या भोक नै हो र भोक शमन गर्न मानिसले धेरैधेरै तल झर्नुपर्छ’ लेखिएका हरफ मनछुने खालको छ । 

सलल्ल बगेको कथाभित्रै रजस्वला र प्रजनन्का विषयमा प्रशिक्षकको मुखबाट भनाइएको यो प्रसङ्ग व्यावहारिक जीवनमा ग्रहणीय, मननीय र अनुकरणीय छ, ‘महिनावारी एउटा महत्वपूर्ण शारीरिक प्रक्रिया हो । भविष्यमा बच्चा जन्माउनका लागि नारीले पहिलेदेखि नै तयार हुनुपर्छ र महिनावारी यही प्रक्रियाको एक चक्र हो ।’ कति राम्रो, कति स्पष्ट !

यस्ता अनेकौँ प्रसङ्ग यस उपन्यासमा पढ्न पाइन्छ । साहित्यले मानव समाजको हित गर्ने भनेको कलात्मक ढङ्गले उपयुक्त सन्देश दिनु हो । अलि दुरूह, अपाच्यजस्ता विषयलाई सहज, सरल र ग्राह्य—सुपाच्य बनाएर प्रस्तुत गर्नु लेखकीय क्षमता हो । कृपा भण्डारीमा यो क्षमता देखिन्छ । 

उपन्यासमा स्वास्थ्य सचेतना ? तर पिरियड केमेस्ट्रीमा यो विषय छ, ‘महिलाले महिनावारी भएको बेला फोहोर कपडा प्रयोग गर्दा कीटाणुहरूले पाठेघरमा सङ्क्रमण गर्न सक्ने बताइन् ।’ 

रजस्वलाका विषयमा हाम्रा शास्त्रीय मान्यता के हुन् ? यस्ता प्रसङ्गमा— 
‘भष्मना शुध्यते कांस्यं ताम्रमम्लेन शुध्यति । रजसा शुध्यते नारी नदी वेगेन शुध्यति अर्थात् खरानीले माझ्नाले काँसको भाँडा शुद्ध हुन्छ । तामाको भाँडा अमिलोले माझ्दा शुद्ध हुन्छ । रजस्वला भएर नारी शुद्ध हुन्छन् । बग्नाले नदी शुद्ध हुन्छ ।’ यसरी रजस्वला हुने विषयलाई शुद्धीकरण हुने कुरासँग जोडिएको छ । रजोवती भएकी सिंगो महिला नै अशुद्ध हुने विषय शास्त्रसम्मत छैन भन्ने विषय जोड्न सकेको भए अझ प्रामाणिक र स्पष्ट हुन्थ्यो ।

पिरियड केमेस्ट्री विधाका हिसाबले उपन्यास हो । यसले पाठकहरूलाई औपन्यासिक रोमाञ्चमा मात्र सीमित पार्दैन । यसले त सन्दर्भ मिलाएर कानुनी ज्ञान समेत पस्केको छ, ‘छाउपडी प्रथाका नाममा दुःख दिने व्यक्तिलाई ३ महिना कैद वा ३ हजार दण्ड सजाय दिने व्यवस्था कानुनमा छ । अहिलेसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरेर ८ हजार ३ सय ४० छाउगोठ भत्काइसकिएको छ । 

नेपाल सरकारले छाउपडी प्रथालाई २०६२ सालमा कुरीति घोषणा गरिसकेको छ । अब गाउँमा छाउगोठ राख्न मिल्दैन । कानुन अनुसार यो चलन दण्डनीय अपराध हो । हामी कसैलाई अपराध गर्न मन लाग्दैन ।’ यसरी कानुनी जानकारी र तथ्य प्रस्तुत हुनुले यस उपन्यासले समाजमा व्याप्त छाउपडीबारेको अन्धविश्वास हटाउन सहयोग पु¥याउने देखिन्छ । 

यसले युवा मनोदशा र मनोविज्ञान, सामाजिक परिवेश, स्वास्थ्य सचेतना, कानुनी जानकारी समेत गराउन सक्ने देखिन्छ । काठमाडौँ र देशका अन्य सहरमा बसेकाहरूलाई गाउँको सुरम्य परिवेशबारे जानकारी गराउने यी पङ्क्तिहरूले ग्रामिण जीवनप्रति न्याय गरेको देखिन्छ:
​​​​​​​‘हरियो वन,
कोइलीको आवाज गुञ्जिरहेको,
नागबेली बाटो, 
काफल र ऐँसेलुले सजिएको, 
तोरीबारीको बीच कतै
परालको गुडिया लुकेको,
सानो छ घर, 
ज्स्तापाता र परालले छाएको, 
सङ्लो छ खोलो,
ठूला र साना ढुङ्गाले
नयाँ बाटो रोपिँदै छ, 
धानको कुटाइ र मकैको पिनाइ,
नाङ्लो र ढिकी—जाँतोले बताउँछन् । 
माटोको वासना र हावाको तिर्सना
छुटाउन अलि गाह्रो छ, 
झूटो कत्ति नबोली भन्छु म,
कत्ति नबढाई—चढाई भन्छु म,
यो गाउँ अविस्मरणीय छ ।’ 

गहकिलो साहित्यिक भावसँगै देश चिनाउने कविताका यी हरफहरूले कृतिलाई मनमोहकता र पठनीयता थपेका छन् । 

लेखक कृपा भण्डारी प्रतिभावान् हुनुहुन्छ । १७ वर्षीय किशोरीले २२—२५ वर्षको युवा मनोविज्ञानलाई समेट्न सक्नु आफैमा महत्वपूर्ण छ । 

यद्यपि, एउटा सानो पुस्तकमा पाठकले चाहेजति सामग्री समेट्न सम्भव हुँदैन, तथापि रजस्वलाका विषयमा हाम्रो समाजमा प्रचलित सनातन संस्कृति र यसका आधार ग्रन्थहरूमाथि दोष लगाउने अन्धविश्वासलाई चिर्न केही शास्त्रीय सन्दर्भहरू पनि मिसाउन सकेको भए अझ राम्रो हुन्थ्यो । हाम्रा पूर्वीय वाङ्मयमा रजस्वलालाई कहीँ कतै हेय मानिएको छैन । बरु यस अवस्थाका लागि रजोवती हुनु, रजदर्शन हुनु, रजोधर्म हुनु, ऋतुमति हुनु आदि अत्यन्त सम्मानजनक र आत्मीय शब्दहरू प्रयोग गरिएका छन् । 

‘प्रथमर्तौ अक्षतैरासनं कृत्वा तत्र तामुपवेश्य पतिपुत्रवत्यः स्त्रियो हरिद्राकुङ्कुमगन्धपुष्पस्रक्ताम्बूलादि तस्यै दत्वा दीपैर्नीराज्य सदीपालङ्कृते गृहे तां वासयेयुः । सुवासिनीभ्यो गन्धादिकं लवणमुद्गादि च दद्यात् अर्थात् पहिलो पटक कन्या रजस्वला हुँदा बस्ने ठाउँमा अक्षता बिछ्याइदिएर त्यसमाथि ती कन्यालाई राखेर पति र पुत्र भएका स्त्रीहरूले बेसार, केसर, चन्दन, पूmल, माला, पान आदि कुरा ती कन्यालाई दिएर आरती गरेर उनलाई बत्तीहरूले सिँगारिएको घरमा लगेर राखिदिनुपर्छ । त्यसबेला विवाहित युवतीहरूलाई नुन र मुगीमास आदि दिनुपर्छ ।’ धर्मसिन्धुसारः तृतीयपरिच्छेद— पूर्वार्ध पृ. ३१२) आउँदा कृतिहरूमा यस्ता विषयले पनि ठाउँ पाउनुपर्दछ । 

जे होस्, पिरियड केमेस्ट्री अर्थपूर्ण साहित्यिक कृति भएको कुरामा कुनै शङ्का छैन । जान्नु—बुझ्नुपर्ने कुराको त कहाँ सीमा हुन्छ र ? यसमा युवा उन्मत्तता छ । ठूलो कुरा पुस्तकभरि युवा सम्वाद छ । सम्वादको माध्यमबाट समाजमा परिवर्तन ल्याउन सङ्केत गरिएको यो कृति किशोर किशोरीहरू, युवाहरू र सामाजिक रूपान्तरणका क्षेत्रमा लाग्नेहरूका लागि त महत्वपूर्ण छ नै, साहित्यतिर मन लगाउने गरेका भर्खरका र छिप्पिएका साहित्यकारहरूका लागि समाजका साना ठानिने  तर मानवीय हिसाबले कठोर विषयमा लेखेर सामाजिक रूपान्तरणमा योगदान गर्न सकिन्छ । यस पुस्तकको मायाप्रेमका साहित्यको विकल्प मायाप्रेमको माध्यमबाट परिवर्तनको सन्देश दिन सकिन्छ भन्ने प्रेरणा पनि दिएको छ ।
  
लेखक कृपा भण्डारीको प्रयास प्रशंसनीय छ । सानो उमेरमा यति गहिरो विषयमा कलम चलाउने हिम्मत गर्नु मात्रै पनि ठूलो कुरा हो, तर यसमा विषयवस्तु र प्रस्तुति दुवै हिसाबले उहाँलाई जिम्मेवार लेखकको पङ्क्तिमा उभ्याएको छ । भविष्य उज्वल छ । 

अन्त्यमा, ‘सोम शौचं ददौ तासां गन्धर्वाश्च शुभां गिरम् । पावकः सर्वदा मेध्यो मेध्यो वै योषितो ह्यतः अर्थात् सोमले पवित्रता, गन्धर्वले सुन्दर वाणि र अग्निले पवित्रता दिएका हुनाले स्त्रीहरू सधै नै चोखा हुन्छन् ।’ (श्री गरुडपुराणम् १९÷९५) महिलाहरू कहिल्यै अपवित्र नहुने, सदा पवित्र रहने प्रमाणको रूपमा लिन सकिन्छ ।  

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : २६ बजे