‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । 

वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रवारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । 

फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरूमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताउनुभयो । 

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् ।

नगरपालिकामा गठबन्धनबाट काँग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा विजयी हुनुभयो । 

मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा दलगत र समूहगत रूपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र सङ्घीयता विरोधी कार्य भएको वडा अध्यक्ष चौहानले बताउनुभयो। 

मेयर र उपमेयरले लिखित रूपमा वडामा हस्तक्षेप नगर्ने प्रतिबद्धता नजनाए सम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“गठबन्धनको उम्मेदवारले नजितेकै कारण समग्र वडावासीलाई असर पार्ने गरी हस्तक्षेप गरेर कानुनी राज्यको खिल्ली उडाइएको छ”, वडाध्यक्ष चौहानले भन्नुभयो, “नगरपालिकाको हस्तक्षेपबाट वडाले गर्ने काम, कर्तव्य र अधिकार प्रयोग गर्न सक्ने कुनै आधार देखिँदैन । वडा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।” 

फरक आस्था र विचार राख्ने करारका कर्मचारीलाई बिना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको उहाँले बताउनुभयो । 

वडाध्यक्ष चौहानले उपभोक्ता समितिमा आफ्नो कार्यकर्तालाई राख्न नपाएको रिसमा मध्य पहाडी लोक मार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र वाबारी एकीकृत बस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्सी खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्दा हाल्न लगाएर अवरोध गरेको आरोप लगाउनुभएको छ । 

यस्तै, चुच्चेढुंगा दोवेला सिँचाई योजना उपभोक्ता समिति गठनका विषयमा नगरपालिकामा उजुरी हाल्न लगाइएको बताउनुभयो । वडामा भइरहेका विकास निर्माणमा अवरोध पुर्‍याउन गठबन्धनका स्थानीयलाई योजनाबद्ध उजुरी हाल्न उक्साउने गरिएको चौहानले दाबी गर्नुभयो । 

स्टीमेटअनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत बस्ती विस्तार योजना अलपत्र परेको लगायतका विषयलाई गठबन्धन दलले उठाउँदै आएको छ । दलीय स्वार्थले द्वन्द्व सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ३२ बजे