पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपीको १०९औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदै छ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनः स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । 

बिपी जयन्तीका अवसरमा काँग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम बिपी जयन्ती मनाउन लागेको जनाइएको छ ।

विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जन निर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो । 

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनः स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ४१ बजे