कांग्रेसको अवस्था हेर्दा राम–राम भन्नु शिवाय अरु केही छैनः रामवरण यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता ब्यत्त गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताउनुभयो । ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उनले भने, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ’,उहाँले भन्नुभयो । 

पूर्वराष्ट्रपति यादवले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा राम–राम भन्नु शिवाय अरू नरहेको उल्लेख गर्नुभयो। ‘कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी । जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । राम, राम, राम । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ’,उहाँले भन्नुभयो। 

विपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै उहाँले टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताउनुभयो । पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताउनुभयो ।

उहाँले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना एवं सम्मान हुन छाडेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 
 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ३ : २९ बजे