काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई नेपालका सिनेमा हलहरूले शो नदिएपछि निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । निर्माण पक्षले बिहीबार दिउँसो पौने ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
शुक्रबारबाटै रिलिज हुने भनिएको हिन्दी सिनेमा ‘ब्रह्मास्त्र’ सेन्सर पास रोकिएकाले नेपाली हलहरूले ‘ऐना झ्यालको पुतली’ लाई अहिलेसम्म शो दिएका छैनन् । हिन्दी सिनेमा वितरकको प्रभावका कारण नेपाली चलचित्रलाई शो उपलब्ध नगराइको भन्दै निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राख्न लागेको निर्देशक सुजित बिडारीले जानकारी दिनुभयाे ।
‘ऐना झ्यालको पुतली’ हेरेका चलचित्रकर्मी तथा पत्रकारले चलचित्रको निकै तारिफ गरेका छन् । धेरै पछि मौलिक नेपाली चलचित्र बनेको भन्दै अहिले सामाजिक सञ्जाल र मिडियामा ‘ऐना झ्यालको पुतली’ प्रशंसा भइरहेको छ । तर, सिनेमा हल मालिकहरूले अहिलेसम्म चलचित्रका लागि शो उपलब्ध गराउन चाहेका छैनन् ।
रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ महँगो मूल्यमा किनिएको र सो फिल्मलाई धेरै शो दिनुपर्ने भन्दै हल मालिकहरूले ‘ऐना झ्यालको पुतली’ देखाउन नचाहिरहेका हुन् ।
प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार २ : ०९ बजे
प्रतिक्रिया