प्लेनमा चढे रवि,काठमाडौँ ल्याइँदै

हेटौँडामा डेङ्गु फैलँदै, ७५० भन्दा बढी  सङ्क्रमित

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुर गढी, थाहा नगरपालिकालगायतका क्षेत्रमा डेङ्गु देखिएको हो। बुधबारसम्म मकवानपुर जिल्लामा सात सय ५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ। रोग पहिचान हुने बित्तिकै  उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्।

केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।   हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४  र  ५ मा  बढी डेङ्गु रोगका बिरामी फेला परेका छन्।

हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगरको १ देखि १९ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने, सरसफाइ गर्ने कार्य गरिरहेको मेयर मिना लामाले बताउनुभयो। यसका लागि आवश्यक स्वास्थ्यकर्मीलाई १० खटाइएको छ भने डेङ्गु परीक्षणका आवश्यक कीट पनि अस्पताललाई उपमहानगरपालिकाले उपलब्ध गराएको छ। डेङ्गुको परीक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो। 
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी हेटौंडा ४ मा २८८ जना डेङ्गुबाट सङ्क्रमित भएका छन्। हेटौंडा १ मा, ४९ जना, हेटौंडा २ मा ५१ जना, हेटौंडा ३ मा १७ जना, हेटौंडा ५ मा ८९ जना, हेटौंडा ६ मा ११ जना, हेटौंडा ७ मा  ६ जना, हेटौंडा ८ मा ३८ जना, हेटौंडा ९ मा ३९ जना सङ्क्रमित भएका छन्। यसैगरी हेटौंडा १० मा ६१ जना, हेटौंडा ११ मा २७ जना, हेटौंडा १२ मा १४ जना, हेटौंडा १३ र १६ मा ४/४ जना, हेटौंडा १४, १७ र १९ मा ५/५ जना, हेटौंडा १५ मा ३ जना, हेटौंडा १८ मा १ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर प्रवक्ता लक्ष्मण घिमिरेले जानकारी दिनुभयो। यस्तै मनहरी गाउँपालिकामा ५ जना, मकवानपुर गढी गाउँ पालिकामा ४ जना, थाहा नगरपालिकामा १ जना र अन्य २९ जना गरि बुधबारसम्म ७५७ जना सङ्क्रमित भएका छन्।

सन् २००६ मा नेपालमा पहिलो पटक डेङ्गु फैलिएको थियो।  बाँके जिल्लाबाट सुरु भएको डेंगु रूपन्देही, चितवन, नवलपरासी, दाङ, कपिलवस्तु लगायतका ९ जिल्लामा फैलिएको थियो।

यो रोग मुख्य त लामखुट्टेको टोकाईबाटै सर्ने गर्छ। एडिस प्रजातिको लामखट्टेबाट यो रोग सर्ने स्वास्थ्यकर्मीको भनाई छ। जापानिज इन्सेफ्‌लाइटिस गराउने लामखुट्टेले कसैलाई टोक्यो भने त्यो मरिहाल्छ, तर, डेङ्गु सार्ने एउटै लामखुट्टेले धेरै मानिसमा सार्न सक्छ। पानीको स्रोत ढाकेर नराखिने भएका कारण लामखुट्टे बढ्ने वातावरण बनिरहेको छ।  अहिले सामान्य डेङ्गु र गम्भीर डेङ्गु भनेर विभाजन गरिएको छ। गम्भीर भनेको नाक, कानबाट रगत बग्ने हुन्छ। कोषबाट बाहिर निस्किएर शरीरका विभिन्न अङ्गमा पानी भरिएर अन्तत शरीर सुनिएर मान्छेको मृत्यु नै हुन्छ। रोगबाट बच्न मुख्यत सरसफाइ हुनुपर्छ र लामखुट्टेको टोकाईबाट बच्ने  र लामखुट्टे नियन्त्रण तथा प्रजननको रोकथाम गर्नुपर्ने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भोला चौलागाइँले बताउनुभयो। यस्तै मकवानपुरमा जापानिज इन्सेफ्‌लाइटिस सङ्क्रमणबाट मकवानपुरमा ३ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका –७ का दुई जना र हेटौँडा उपमहानगरपालिका –३ बसामाडीमा एक जनाको ३ दिन अगाडि मृत्यु भएको हो।
साउन र भदौमा १२ जना जापानिज इन्सेफ्‌लाइटिस शंकास्पद बिरामी फेला परेका थिए। जसमध्ये ४ जनामा जापानिज इन्सेफ्‌लाइटिस देखापरेको थियो। जापानिज इन्सेफ्‌लाइटिस पोजेटिभ देखिएका ४ जनामध्ये ३ जनाको मृत्यु भएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो।

यो रोग फैलाउने लामखुट्टे माध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिन्हहरू भएका हुन्छन्। तीनले प्रायः घाम ढल्किएपछि र अँध्यारो भएपछि टोक्ने उनले बताए। विशेष गरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको स्वास्थ्यकर्मीको भनाई छ।

साउन, भदौ र असोजमा जापानिज इन्सेफ्‌लाइटिस बढी देखिने भएकोले यो समयमा अझ सजग हुन जरुरी रहेको छ। यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरेपनि केहीको गम्भीर अवस्था सृजना भइ दिमागलाई नै असर गरी मृत्यु हुने गरेको छ। यस रोग लाग्दा धेरै जसोलाई  ज्वरो, झाडा पखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने,  टाउको दुखाई वा कमजोरी देखिन्छन्। 

यस रोगका खतराका लक्षणहरू छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ। खोपको प्रयोगबाट जापानिज इन्सेफ्‌लाइटिसको रोकथाम हुन्छ।

स्वतन्त्र समाचार

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १ : ०६ बजे