मोरङ । गएको फागुन १२ गते मोरङको लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीय करुणा राईको शव नग्न अवस्थामा लालहिरा सामुदायिक वनभित्र ढुङ्गाले थिचेको अवस्थामा फेला पर्यो । सो घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लेटाङ नगरपालिका–८ का ६४ वर्षे दीपक गिरीलाई पक्राउ गर्यो । अन्ततस् घटनामा उनी संलग्न भएको खुलासा भयो ।
प्रहरीका अनुसार विद्यालयबाट घर फर्कंदै गरेकी एक्ली बालिकालाई पछ्याएका उनले फकाइ फुल्याई बीच जङ्गलमा पुर्याए शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । बालिकाले गिरीको प्रस्ताव अस्वीकार गरिन् तर गिरीले बालिकामाथि जबरजस्ती करणी गरे। त्यसपछि बुबालाई भनिदिन्छु भन्दै बालिका त्यहाँबाट भागिन् । अपराध लुकाउने डरले गिरीले बालिकाको घाँटी थिची, मुख थुनी हत्या गरेको प्रहरीसमक्ष गिरीले दिएको बयानमा खुलेको छ । त्यसपछि गिरीले नजिकैको खोल्सीमा शवलाई घोप्टो पारी ढुङ्गाले छोपेर भागेको प्रहरीले जनाएको छ ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत उनी विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । घटना संलग्न भनिएका गिरी राई परिवारको चिनजानकै व्यक्ति हुन् । पछिल्लो समय प्रदेश–१ मा चिनजान र परिवारकै सदस्यबाट बलात्कारको घटनाको ग्राफ प्रत्येक वर्ष बढ्दै गएको छ ।
प्रहरीका अनुसार गएको आर्थिक वर्षमा नाता भित्रकै र चिनजानबाट बालिका बलात्कृत हुने र घटना सार्वजनिक हुने डरले अपराध लुकाउने उद्देश्यले घटनाका पीडित तीन जना बालिकाको हत्या भएको तथ्याङ्क छ । यसरी बलात्कारपछि हत्या गरिएका दुई घटना मोरङ र अर्को एक घटना इलामको रहेको छ ।
प्रदेश १ मा एक वर्षदेखि हजुरआमाको उमेरका महिलासमेत बलात्कारको सिकार भएका छन् । जसमा बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र विपन्न बढी छन् । प्रहरी तथ्याङ्क अनुसार आफन्त, बिरामी, अपाङ्गता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको सिकार हुने गरेका छन् ।
शहरी क्षेत्रमा बलात्कारका घटना बढी
प्रदेश १ प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्ष अवधिमा प्रदेशका १४ जिल्लामा कुल १ हजार ५९४ बलात्कारका घटना भएका छन् । जसमा कुल घटनाको ७२ प्रतिशत शहरी क्षेत्र झापा, मोरङ र सुनसरीमा घटेका छन् ।
आर्थिक वर्ष २०७६र०७७ मा ४७६ बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष ०७७र७८ मा ५ सय १६ र आर्थिक वर्ष ०७८र०८९ मा ६ सय २ बलात्कारका घटना भएका छन् ।
प्रहरीका अनुसार गएको पछिल्लो आर्थिक वर्षमा मात्र हेर्ने हो भने प्रदेश १ मा जम्मा ६ सय २ बलात्कारका घटना मध्ये नाता भित्रैकै सदस्यबाट ९६ छिमेकीबाट १७०, चिनेका व्यक्तिबाट १२१ र अपरिचित व्यक्तिबाट २१५ जना बालिका तथा महिला बलात्कारका सिकार भएका छन् । यी घटनामा पीडित हुनेमा १ देखि १५ वर्ष उमेर समूहका सबैभन्दा बढी २५३ जना रहेका छन् ।
६० वर्ष उमेर समूहभन्दा माथि अर्थात् हजुरआमा उमेरका १२ जना बलात्कारका सिकार भएको प्रहरीको तथ्याङ्क छ । प्रहरीकै तथ्याङ्कलाई आधार मान्ने हो भने प्रदेश १ मा दैनिक दुई जना बालिका तथा महिला बलात्कारका सिकार हुने गरेका छन् ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले सहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको बताउनु हुन्छ। प्रहरी उपरीक्षक राई भन्नुहुन्छ– ‘हामीले त्यस्ता घटना बढी हुने सहरी क्षेत्रमा निगरानी बढाएका छौं।’
प्रहरी उपरीक्षक राईले ललाइफकाइ प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको बताउनुभयो । त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह १६ देखि २५ वर्षका मानिसहरूको संख्या बढी छ भने पीडितको उमेर समूहमा १६ वर्षदेखि मुनिका छन् ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेको राईका अनुसार जबरजस्ती करणीका अन्य कारणहरूमा डर त्रास, धाक धम्की तथा आर्थिक प्रलोभन हुने गरेको पाइएको छ । यसरी पीडित हुनेमा १८ देखि ३५ वर्ष उमेर समूहका महिला बढी छन्। साना–बालिका तथा वृद्धा भने प्रतिकार गर्न नसक्दा बलात्कारमा पर्ने गरेका छन् । धेरैजसो बलात्कारको घटनामा परिवारभित्रको सदस्य र आफन्तबाट हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जघन्य अपराधका घटनामा पनि राजनीतिक हस्तक्षेत्र
प्रत्येक वर्ष बलात्कारका घटनामा वृद्धि हुनु र आफन्तहरू नै त्यसमा संलग्न भएको पुष्टि हुनुले महिलाको सुरक्षामा चुनौती थपिएको महिला अधिकारकर्मी मञ्जिता उपाध्याय बताउनुहुन्छ ।
महिलामाथि हुने यौनजन्य हिंसा धेरैजसो त आपसी सहमतिमा मिलापत्र गरेरै अहिले पनि टुङ्गिने प्रचलनका कारण अपराधीलाई उन्मुक्ति दिने क्रमले अपराधका घटनामा वृद्धि भइरहेको उपाध्यायले बताउनुभयो।
‘बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न जति नै व्याख्यात्मक र फराकिलो कानुनी व्यवस्था गरिए पनि यस्ता घटनामा कमी आउन सकेको छैन’ महिला अधिकारकर्मी उपाध्याय भन्नुहुन्छ– ‘नैतिक शिक्षाको कमी, सामाजिक परिवेश र कानुनी अनभिज्ञताका कारण यस्ता घटनामा कमी नआएको हो।’ योसँगै सामाजिक तथा राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउँदा पनि अपराधीको मनोबल बढेर घटना न्यूनीकरण हुनुको सट्टा झन्–झन् बढ्दै गएको पाइन्छ।’
डिग्री क्याम्पस विराटनगरका समाजशास्त्र विभागका उप–प्राध्यापक डा डिल्ली प्रसाईंले भने बलात्कार गर्नुजस्तो जघन्य अपराधमा फस्नुको पछाडि सहानुभूतिको कमी, महिलाप्रति शत्रुताको भावना र विषाक्त पुरुषत्व रहने गरेको बताउनुहुन्छ ।
समाजशास्त्री प्रसाईं भन्नुहुन्छ– ‘मानसिक अवस्था कमजोर, अक्षम भएका पुरुषमा यस्ता गुणहरू हुन्छन्, जसका कारण उनीहरू बलात्कार गर्न पुग्छन्।’
प्रसाईंका अनुसार बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै संयुक्त परिवारबाट एकल परिवारमा हुने विभाजन लगायतका कारण पनि बालिका तथा महिलाहरू असुरक्षित हुने कारक हुने गरेको छ ।
के छ, कानुन व्यवस्था
नेपालको मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले जबरजस्तीकरणी मुद्दामा सजायको व्यवस्था गरेको छ ।
दफा १९ को ३ मा १० वर्ष भन्दा कम उमेरकी बालिका, अशक्त, अपाङ तथा ७० वर्षभन्दा माथिकालाई जबरजस्ती करणी गर्दा जन्मकैदको व्यवस्था गरेको छ।
१० वर्ष वा १० वर्ष भन्दा माथि र १४ वर्ष भन्दा कम उमेरका बालिकालाई जवरजस्तीकरणी गर्नेलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरेको छ।
त्यसै गरी १४ वर्ष भन्दा बढी र १६ बर्ससम्मका उमेर समूहका बालिकालाई जवरजस्तीकरणी गरेमा १२ वर्षदेखि १४ वर्षसम्म कैदको व्यवस्था गरिएको छ भने १८ सम्म र त्यो भन्दा माथिका भएमा ७ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।
पछिल्लो संशोधनले कानुनमा पर्याप्तता ल्याएको भए पनि कानुन कार्यान्वयन पक्ष फितलो हुँदा जघन्य अपराध अन्तर्गत पर्ने बलात्कारका घटनाहरू बढेकाले महिला अधिकारकर्मीहरूले यसको पूर्ण कार्यान्वयमा जोड दिँदै आएका छन् ।
स्वतन्त्र समाचारबाट
प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १ : ५३ बजे
प्रतिक्रिया