भारतीय विदेश मन्त्री जयशङ्करको भनाइले उठेको तरङ्ग र एसियाली विरासत !

झन्डै ६ महिनादेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यस युद्धले विश्वलाई नै प्रभावित गरिरहेको छ । विभिन्न कोणबाट यस युद्धको अन्त्य कसरी होला र त्यसले भविष्यलाई कसरी प्रभावित गर्ला भन्ने बहस विश्वभरि चलिरहेको छ । यसै समयमा भारतीय विदेश मन्त्री एस जयशङ्कर युरोप भ्रमणमा निस्केका थिए । 

अमेरिकासँग बहुपक्षीय साझेदारीमा रहँदै आएको भारतले वाशिङ्गटनले चाहे अनुसार युक्रेनमाथि आक्रमण गरेको रुसको आलोचना नगरेको मात्र होइन, कडा आर्थिक प्रतिबन्ध लगाउने कुरा पनि अस्वीकार गरेकाले दिल्लीमाथि अमेरिकाको चर्को दबाब छ । तर पनि भारतले रुससँगको सम्बन्धलाई पनि महत्त्व दिइरहेको छ ।  यो कूटनीतिक खिचातानी चलिरहेको समयमा भारतीय विदेश मन्त्रीले युरोपमा गरेको टिप्पणीले महत्त्व राख्ने धेरैले अड्कल गरे ।

विदेशमैत्री जयशङ्करले ३ जूनका दिन स्लोभाकियाको राजधानी ब्रातिस्लावको GLOBSEC फोरममा दिएको मन्तव्य सुनेर पूर्वी एसियामा अमेरिकी रणनीतिको महत्त्वपूर्ण खम्बा मानिँदै आएको भारत अमेरिकी रणनीतिक साझेदारीबाट उम्कन लागेको हो कि भनेर पश्चिमेली कूटनीतिक जगत स्तब्ध भयो । जयशङ्करले त्यहाँ युरोप, अमेरिकाका सबै समस्या एसिया र भारतको समस्या हुन नसक्ने र हाम्रा सबै समस्या युरोपका पनि समस्या हुन नसक्ने भन्दै यस्तो सोचाइबाट मुक्त हुन आवश्यक रहेको बताएपछि युरोप र अमेरिकामा तीव्र बहस भयो । चीनसँग शत्रुतापूर्ण सम्बन्ध रहेकोले भारतले अमेरिका र युरोपको साथ कदापि नछोड्ने विश्वास लिएका पश्चिमाहरूलाई झस्काउँदै जयशङ्करले चीनलाई ‘म्यानेज’ गर्न भारत समर्थ रहेको समेत भन्न छुटाएनन् ।

युक्रेन—रुस युद्धको मुख्य कारण युक्रेनमाथि अमेरिकी नेतृत्वको नाटोको  बढ्दो प्रभाव नै हो । युक्रेन—रुस विरुद्ध नेटो देशहरूको सहयोगमा नै लडिरहेको छ । यस युद्धले अमेरिकाले आफ्नो प्रतिद्वन्द्वी मानेको रुस र चीन झन् निकट भएका छन् । इरान पनि विगत लामो समयदेखि अमेरिका विरोधी खेमाको निकट देखिँदै आएको छ । भारतले अमेरिकाले चाहे जस्तो रुससँग कडा नीति अपनाउन अस्वीकार गरेर दुवैतिर आफ्नो आवश्यकता अनुसार सम्बन्ध कायम राख्ने मनसाय देखाएको छ । जय शङ्करको भनाइले यही सङ्केत गर्छ । उनले तात्कालिक रूपमा रुससँग आफ्नो आवश्यकता अनुसार सम्बन्ध राख्ने कुरालाई प्रष्ट पार्न त्यो भनाइ राखेका थिए या अबको भारतको रणनीति नै यो भनाइबाट प्रेरित हुने हो भन्ने व्यवहारमा प्रष्ट हुन बाँकी छ ।

जय शङ्करको भनाइलाई सामाजिक सञ्जालको स्तरमा झरेको मानिने भारतको मुख्य धाराका विद्युतीय सञ्चारमाध्यमहरूले सनसनी बनाएर मसालेदार ढङ्गले प्रसार गरे पनि भारतको वरपर रहेका साना देशका सञ्चार माध्यमहरूले खासै महत्त्व दिएको देखिएन । भारतका साना छिमेकी देशका सञ्चार माध्यम र बौद्धिक व्यक्तित्वहरूले जय शङ्करको यो भनाइलाई  चीन र पश्चिमाहरूप्रति लक्षित हो र यसले भारतको छिमेकमा खासै अर्थ नराख्ने भनेर बुझेका थिए । भारत यस क्षेत्रको प्रभावशाली देश हो भन्ने कुरामा दुई मत छैन, तर यी देशहरूले जे जस्तो भए पनि दिल्लीको छाता ओढ्नै पर्छ भन्ने पूर्वाग्रहबाट कुनै न कुनै रूपमा पीडित रहँदै आएको कुरा असत्य भने होइन । बाहिर जेजस्तो देखिए पनि यी देशहरूका आन्तरिक मामिलाहरूमा भारतको बलियो प्रभाव रहँदै आएको कुरा पनि सत्य हो । त्यस प्रभावमा कतैबाट आँच आउने सङ्केत दिल्लीका लागि सैह्य हुने गरेको छैन । वरपरका साना देशहरूसँगका दुई पक्षीय सम्बन्धहरूलाई दुरुस्त राख्न र आपसमा देखिएका समस्याहरूलाई बेलैमा समाधान गर्न भारत कहिल्यै तदारुकता देखाउँदैन । यसलाई छिमेकमा उसको हेपाहा बानीका रूपमा लिने गरिन्छ । उसको यो बानी नै उसको छिमेक नीतिको मेरुदण्ड बन्दै आएको छ । उसले बताउने गरेको ‘छिमेकी पहिला’को नीति पनि यस्तै प्रवृत्तिको डङ्गुरमा हराएको देखिन्छ ।

जय शङ्करको स्लोभाकिया भ्रमणको दुई महिना बित्दा नबित्दै गत २ अगस्तमा अमेरिकाको तल्लो सदनकी सभामुख नान्सी पेलोसी चीनले आफ्नो अभिन्न भूभाग मान्दै आएको ताइवान भ्रमणमा आएपछि अमेरिका—चीनबीच सम्बन्ध झन् तनावपूर्ण भयो । उसले दक्षिणी चीन सागरमा चीनलाई दबाबमा राखेर युक्रेन बाहेक यो क्षेत्रमा पनि ताइवानलाई अगाडि सारेर युद्ध सुरु गर्न सक्ने सन्देश दिन खोजेको छ । यस क्षेत्रमा सामरिक दबाब उत्पन्न गरेर भारतलाई चीन र रुसी गठबन्धनबाट आफूतिर आकर्षित गर्ने प्रयास पनि अमेरिकाको छ ।

जय शङ्करको भनाइमा भारत मात्र नभएर पूर्वीय सभ्यताको दमित मानसिकता अभिव्यक्त भएको मान्न सकिन्छ । संस्कृति, दर्शन, सभ्यता, प्राकृतिक संसाधन, कृषि उत्पादनमा  भारत वरपरको क्षेत्र र चीन आजको आधुनिक र समुन्नत रहेको युरोप र अमेरिकाभन्दा निकै सम्पन्न थियो । ई.पू २६००–२०००मा सिन्धु उपत्यकामा विकसित सभ्यताको विकास भइसकेको थियो । पहिलो सहश्राब्दीमा सिन्ध क्षेत्रबाट भारतको गङ्गा नदीको मैदानी भागमा हिन्दकुश वरपरबाट सिन्ध क्षेत्रमा प्रवेश गरेका आर्यहरूको सम्पन्नशाली वैदिक सभ्यताको विस्तार भइसकेको थियो ।  ईसापूर्व १२५० तिर चीनमा रेशमी कपडाको व्यापारिक उत्पादन सुरु भएको थियो । त्यसै समयमा चिनियाँहरूले आफ्नो भाषाको शब्दकोष बनाइसकेका थिए । ईसापूर्व १०००मा बेइजिङ सहर स्थापना भएको थियो । मध्यपूर्वको मेसोपोटामियामा ईसापूर्व १० हजार वर्षदेखि नै मानव सभ्यताको विकास हुन थालिसकेको पुरातात्त्विक खोजहरूले देखाएका छन् ।

ईसापूर्व ७००मा गोरा केल्टहरूले बाहिरबाट आएर ब्रिटिस टापुहरूमा आक्रमण गर्दै थिए र काला आदिवासीहरूलाई उनीहरूको स्थानबाट पक्रेर दास बनाउँदै थिए र पनि एसियाको गौरवगाथाले कहिल्यै विश्वमा प्रतिध्वनित हुने अवसर पाएन । ईसापूर्व पाँचौँ शताब्दीतिर यस क्षेत्रमा गौतम बुद्ध, कन्फुसियस र जरथ्रुष्टहरूले दर्शनको लामो परम्परामा ज्ञानको मसाल बालिसकेका थिए । त्यसबेला ईसाई धर्मको संसारमा कतै नामो निशान थिएन ।

कुनै समयको वैभवशाली एसिया अहिले पश्चिमाहरूको औँलो समात्दै हिँड्न अभिशप्त छ । एसियासँग प्रचुर खनिज सम्पदा, संस्कृति, उपजाउ जमिन, दर्शन सबै कुरा थियो । तर पनि यस सम्पन्नताले आफ्नो विरासत जोगाउन सकेन ।  अहिले एसियाका शक्तिशाली भनिएका चीन, भारत, जापान, कोरिया जस्ता देशहरू पश्चिमी देशहरूकै खटनपटनमा आपसी झैझगडामा अल्झिएर प्रत्यक्ष—परोक्ष उनीहरूलाई बलियो बनाउन भूमिका खेलिरहेका छन् । 

(लेखक इतिहास, साहित्य र क्षेत्रीय राजनीतिका अध्येता हुनुहुन्छ ।)

 

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ११ बजे