नेपालमा शैक्षिक क्रान्ति किन ?

विद्यालय शिक्षाको अन्तिम परीक्षा अर्थात् कक्षा १२ को परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित भएको समाचारहरू आएका छन् । असारमा एसइईको परीक्षाको नतिजा आउँदा पनि एक÷दुई दिन विद्यालय शिक्षा खास गरी सार्वजनिक शिक्षाका बारेमा केही चर्चा भएको थियो, तर चिन्तन होइन । 

त्यसैगरी अहिले पनि कक्षा १२ को परीक्षाको नतिजापछि विद्यालय शिक्षाका बारेमा चिन्ता गरेर चर्चा गरिएको छ, चिन्तन होला कि नहोला यसै भन्न सकिन्न । यतिखेर एसइई र कक्षा १२ को नतिजामा विद्यार्थी सफल हुन सकेनन् भनेर चर्चा हुँदा शिक्षा व्यवस्थाले विद्यार्थीहरू असफल बनाइरहेको तथ्यहरूलाई स्विकारिएको छैन । विद्यार्थीहरू असफल भएका होइनन्, हाम्रो शिक्षा व्यवस्थासँगै हाम्रा शिक्षकहरू पनि असफल भइरहेको सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । किनभने शिक्षा व्यवस्थाको खराबी र शिक्षकहरूको असक्षमताका कारणले विद्यार्थीहरू असफल भएका हुन् ।

“नेपालमा शैक्षिक क्रान्ति किन ? सबैका लागि गुणस्तरीय शिक्षा दिन !” भन्ने आजको आवश्यकतालाई राज्यको उच्च तहमा रहेका सरोकारवालाहरूले आत्मबोध गर्न सकेका छैनन् । स्थानीय सरोकारवालाहरू पनि शैक्षिक मुद्दामा केन्द्रित भएर गतिविधिहरू गरिरहेका छैनन् । जसले गर्दा देशको भविष्यसँग जोडिएको मुद्दा ‘सबैका लागि गुणस्तरीय शिक्षा’ ले प्राथमिकता नपाउँदा वर्षेनी लाखौँ विद्यार्थी बीचमै पढाइ छोड्न बाध्य भएका छन् । शिक्षा असफल हुँदा विद्यार्थीहरू असफल भए र विद्यार्थी असफल हुँदा राष्ट्र पनि असफल हुन्छ भन्ने यथार्थलाई स्वीकार नगर्दा आज देशको लागि चिन्ता गर्नुपर्ने पुस्ता देशलाई सराप्दै बिदेसिने लाइनमा लागेको छ । नागरिक निर्यात गरेर आएको विप्रेषणले देश समृद्ध बनाउन सकिदैन् भन्ने चेत हामीमा अझै आएन । विप्रेषण भनेको बिरामीलाई लगाइएको स्लाईन पानी जस्तै हो भनेर न हामीले बुझौँ न त नीति बनाउनेहरूले नै बुझ्न सकेका छन् ।

“शिक्षा भनेको शक्ति, प्रकाश र शान्ति हो ! गुणस्तरीय शिक्षा दिगो भविष्य निर्माणको मुख्य आधार पनि हो ।” त्यो शिक्षा गुणस्तरीय, सबैका लागि सहज, सान्दर्भिक र वैज्ञानिक हुनुपर्छ । तर त्यो शिक्षा कस्तो र कसरी प्राप्त हुन्छ भन्ने प्रश्नमा केन्द्रित नभईकन शैक्षिक गुणस्तर विशिष्ट बनाउन सकिदैन् । त्यसैले आगामी निर्वाचनको पहिलो मुख्य मुद्दा ‘सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शैक्षिक क्रान्ति’ नै बन्नुपर्छ । अन्यथा यथास्थितिमा सुधारको प्रयास भनेको सीमित श्रोत साधनहरू दोहन मात्र हुनेछ । यो कुरो सबै राजनीतिक दलहरू खास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प बोकेको दलले बुझ्नुपर्छ अनि जनतालाई पनि बुझाउन सक्नुपर्छ ।

हामीले बुझ्नुपर्छ, आफ्नोपन र सकारात्मक पक्ष छोडेर पराईपन अपनाउन र नकारात्मक मात्र खोज्न सिकाउने सामाजिक चेतनाको विकास गर्ने अनि नागरिकको क्षमता विकास नगर्ने शिक्षाको निरन्तरताले अपेक्षित गतिमा देशको दिगो प्रगति गर्न सक्दैन । दिगो प्रगतिका लागि नकारात्मक छोड्दै सकारात्मक पक्षलाई पछ्याउँदै अघि बढ्न सिकाउने र सकारात्मक चेतना विकास गर्ने शिक्षाको आवश्यकता हुन्छ । समयले त्यो आवश्यकता बोध गराएको छ । खराब शिक्षा र कमजोर जनचेतना कायम भएसम्म न राजनीतिलाई प्रगतिशील र लोकतान्त्रिक बनाउन सकिन्छ न त राज्य संयन्त्रहरू नै जनमुखी, देशमुखी र गतिशील बनाएर जनअपेक्षाहरूको सम्बोधन नै गर्न सकिन्छ । त्यसैले शैक्षिक क्रान्ति सार्वजनिक शिक्षाको गुणस्तर विशिष्ट बनाउने राष्ट्रिय दृष्टिकोणबाट निर्देशित हुनुपर्छ ।

शैक्षिक क्रान्तिमा शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य, शिक्षकको तयारी, तालिम र नियुक्ति, पाठ्यक्रमको विकास, पाठ्यपुस्तक तथा सन्दर्भ सामाग्रीहरू तयारी र वितरण, शिक्षकहरूको दक्षता मूल्याङ्कन र विद्यार्थीहरूको प्रगति मापनको तरिकाको व्याख्या, शैक्षिक पूर्वाधार र सुविधाको स्तर र सरोकारवालाहरूको भूमिकाको बारेमा स्पष्ट व्यवस्था भएको हुनुपर्छ । राजनीतिक लाभहानीको दाउपेच बनाएर चल्दा सार्वजनिक शिक्षाप्रति अभिभावकहरूको चासो घट्दा सार्वजनिक शिक्षालयहरूमा विद्यार्थीहरू घटेर कैयौँ विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् । 

वैश्विक नागरिक बनाउने नाममा संस्थागत शिक्षालयहरूले विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास बढाएर अनि अभिभावकहरूमा सन्तानको भविष्य राम्रो हुन्छ भन्ने आस जगाएर शिक्षालाई जोखिमरहित बढी नाफा कमाउने व्यवसाय बनाएका छन् । राज्यले पनि शैक्षिक माफियाहरूबाट नागरिक लुटिने क्रम बढ्दा पनि त्यसलाई नियमन र नियन्त्रण गर्ने चासो देखाएको छैन ।  त्यति मात्र होइन, शैक्षिक माफियाकरणले देशबाट नागरिक विदेश पलायनको प्रवृत्ति पनि बढाएको छ । 

जसले गर्दा एकातिर देशमा युवा जनशक्तिको अभाव बढ्दो छ भने अर्कातिर जनसाङ्ख्यिक अतिक्रमण बढ्ने वातावरण बनाउन बाह्य शक्तिहरू सफल भइरहेका छन् । त्यसको पछिल्लो उदाहरण शिक्षा ऐनभन्दा कम्फर्टेबल नागरिकता विधेयकले प्राथमिकता पायो र संसद्को प्राविधिक बहुमतले पास पनि गरायो ।

आजको शिक्षाले कमसल र औसत प्रकृतिको नागरिक तयार गरिरहेको छ । यसले मान्छेलाई कुनै जीवन दर्शन सिकाउँदैन । मान्छेलाई घातक बनाउँदै छ, किनभने यसले खुसी हुन, सहयोगी बन्न, व्यावहारिक र आसावादी हुन सिकाउने अनि  आफ्नो मौलिकता जोगाउने परिकल्पना नै गरेको छैन ।

अब प्रश्न उठ्छ, कस्तो शिक्षा ? भन्ने प्रश्नको उत्तर खोज्न हामी निम्न पक्षहरूमा स्पष्ट हुनै पर्छ:
​​​​​​​१ शिक्षाको दार्शनिक, सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक र सामाजिक पक्ष
२ शिक्षाको राष्ट्रिय लक्ष्य, उद्देश्य र परिकल्पना
३ शिक्षा नीति, कानुन, योजना र व्यवस्था
४ पाठ्यक्रम र सन्दर्भ शैक्षिक सामाग्रीहरू
५ शैक्षिक जनशक्तिको विकास र तालिम
६ विद्यार्थीको शैक्षिक उपलब्धिको मापन विधि र 
७ शिक्षकको दक्षता मूल्याङ्कन प्रणाली

शिक्षा व्यवस्थाले राष्ट्रिय दृष्टिकोण, आवश्यकता र मान्यता, विद्यार्थीहरूको परिवेश, इच्छा र क्षमता अनि सन्दर्भहरूको ख्याल गर्नुपर्छ । पाठ्यक्रम र शैक्षिक सामाग्रीहरू सान्दर्भिक र व्यावहारिक बनाउनुपर्छ  । शैक्षिक जनशक्तिहरूमा नयाँ पुस्तालाई प्रशिक्षित गर्ने क्षमता र इच्छा हुनुपर्छ । शिक्षक तयारी र तालिमको ढाँचा व्यावहारिक हुनुपर्छ  । शिक्षकको दक्षता र विद्यार्थीको शैक्षिक उपलब्धि मापन गर्ने प्रणाली वैज्ञानिक बनाउनुपर्छ । जबसम्म यथास्थितिमै सुधारको परिकल्पना गरेर शिक्षामा लगानी भइरहन्छ तबसम्म न ऐतिहासिक पक्षको प्रयोग हुन्छ न त समय, नयाँ सन्दर्भ र आवश्यकताहरूलाई सम्बोधन गर्ने परिस्थिति बन्छ । अनि नागरिकको मनस्थिति र देशको परिस्थिति पनि सकारात्मक र रचनात्मक बन्दैन । तसर्थ शैक्षिक क्रान्ति किन ? भन्ने प्रश्न उठाउने, नयाँ शिक्षा व्यवस्थाका पक्षमा पैरवी गर्ने, अनुभव, अभ्यास र विकासका आधारमा नीति, कानुन र व्यवस्थापनमा परिमार्जन गर्ने अनि सो बमोजिम लगानी सुनिश्चित गर्नै पर्ने भएको छ ।

नेपालको शिक्षा व्यवस्थामा जति–जति मात्रामा पूर्वीय दर्शनको प्रभाव कमजोर भयो, त्यति–त्यति यो विवादित र निस्प्रभावी बन्दै आएको छ । जसले गर्दा हाम्रो ऐतिहासिक, भाषिक तथा सांस्कृतिक विविधता र सामाजिक अवस्थाका बारेमा विद्यार्थीहरूले जान्ने र प्रयोग गर्ने अवसर नै पाएनन् । शिक्षा व्यावहारिक र वैज्ञानिक हुनुपर्छ । सान्दर्भिकता र वैज्ञानिक पक्षको ख्याल गर्नुपर्छ । तर शिक्षा खराब दर्शन र नीतिबाट निर्देशित हुँदा विगतलाई बिर्सन, वर्तमानलाई भद्रगोल र भविष्यलाई अनिश्चित बनाउन आजको शिक्षा सहयोगी बनेको छ ।

शिक्षा व्यवस्थालाई नजिकबाट सूक्ष्म ढङ्गले नियाल्दा मैले बुझेको कुरा औपचारिक तथा अनौपचारिक शिक्षा खराब हुँदा अर्थात् ठिक नहुँदा नागरिकदेखि लिएर नेतृत्व पनि खराब उत्पादन भइरहेको छ अनि असललाई खराबहरूले विस्थापन गरिरहेको छ । 

त्यसैले पूर्वीय दर्शन तथा ऐतिहासिक चिन्तन तथा ज्ञान प्रणालीलाई प्रयोग गर्दै नयाँ दर्शन र ज्ञानलाई प्रयोग गर्ने नयाँ शैक्षिक प्रणाली आवश्यक भएको छ । खराबलाई असल बनाउन वा असले खराबलाई विस्थापित गर्न पनि अबको चुनावमा पूर्वीय दर्शनको जगमा शैक्षिक क्रान्ति गर्ने मुख्य राजनीतिक मुद्दा बन्नुपर्छ ।  मौलिक ज्ञान, विज्ञान, सीप र कलाको जगमा नयाँ ज्ञान, विज्ञान, सीप र कला सिक्न र बुझ्न थालियो भने मात्रै हामीले परिवर्तनलाई गुणात्मक र दिगो बनाउन सक्छौँ । राजनीतिले यो पाटोलाई बुझेर देशको विकासको मुख्य आधार ऐतिहासिक तथा परम्परागत ज्ञान, विज्ञान, सीप र कलालाई बनाउन पनि शैक्षिक क्रान्तिलाई प्राथमिकता दिनुपर्छ ।

एउटा दर्शन र ज्ञान प्रणालीले अर्को दर्शन र ज्ञान प्रणालीलाई विस्थापन गर्ने होइन । तर पश्चिमा दर्शन तथा ज्ञान प्रणालीले शिक्षामार्फत हाम्रो पूर्वीय दर्शन तथा ज्ञान प्रणालीलाई बिस्तारै विस्थापन गर्न खोजिएको छ । जसले गर्दा आज हामी आफ्नोपन छोड्न र पराईपन अपनाउन रमाउँदै छौ । यो हाम्रो शिक्षा तथा सामाजिक प्रणालीको सबभन्दा ठुलो कमजोरी हो । आज यो कमजोरीलाई हटाउन, नागरिकलाई देश चिनाउन र विदेश पलायन हुनबाट रोक्न अनि देशको दिगो विकास गर्न पनि शैक्षिक क्रान्ति अनिवार्य भएको छ । किनभने गुणस्तरीय शिक्षा दिगो भविष्य निर्माणको मुख्य आधार पनि हो भने असल नागरिक दिगो विकासको पहिलो पूर्वाधार हो ।”

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : २३ बजे