समृद्धिका लागि रणनीति

समृद्धि भनेको एकै पटक हुने वा आउने कुरा होइन । यो हाम्रो समाजको मूल्य मान्यताबाट परिचालित हुन्छ । म यो गर्न सक्छु वा भविष्यमा म एक सफल व्यक्ति हुन्छु भन्ने कुरा समृद्ध देशका आमनागरिकले लिएका हुन्छन् । उनीहरू उद्यमशीलतामा विश्वास गर्छन् । आफ्नो काम र व्यवसायप्रति उनीहरू चिन्तित हुन्छन् । समयलाई अत्यन्तै ख्याल गर्छन् । समृद्ध सोचमा आफ्ना सेवाग्राहीको सेवा र सुविधालाई विशेष महत्व दिइने गरिन्छ । समृद्ध  सोचमा आफ्ना सेवाग्राहीको सेवा र सुविधालाई विशेष महत्व दिइने गरिन्छ । उनीहरूको प्रमुख ध्येय नै आफ्नो अवस्था कसरी सुधार गर्ने भन्नेतर्फ बढी केन्द्रित हुन्छ । 

समृद्धिको मूल आधार नै ज्ञान हो । ज्ञान कै कारण मानिस अरु जीवभन्दा फरक मानिन्छ । आजको मानिस र सय वर्ष अघिको मानिस बीचको मूल फरक नै ज्ञानका कारण भएको हो । गुफामा बस्ने वा कन्दमूलमा निर्वाह गर्ने मान्छेभन्दा निश्चित रुपमा हामी फरक छौं । किनकि हाम्रो ज्ञान अद्यावधिक छ । वैज्ञानिक आविष्कारहरू पनि ज्ञानकै कारण भएका हुन् । केही आविष्कारहरू अनायास हुने भए तापनि अधिकांश आविष्कारहरू परिस्कृत ज्ञान कै कारण भएका हुन् । भएकै कुराहरूलाई अझ परिस्कृत गरेर नवीन आविष्कार गर्न सकिन्छ । 

ल्यापटपको विकास हुनुभन्दा अघि ठूल–ठूला मेनफ्रेम कम्प्यूटर र त्यसपछि डेस्कटप कम्प्यूटरको विकास भएपछि मात्र सम्भव भयो । मोबाइल फोनको विकास क्रम हेर्ने हो भने एकपछि अर्को नवीन आविष्कार हुँदै आज हामी स्मार्ट फोनको समयमा पुगेका छौँ । नवीन आविष्कारले नयाँ उद्यमशीलताको विकास हुुन्छ, जसले उद्योगको स्थापनामा सघाउ पुर्याउँछ । 

विगत छ दशक यता आइ.सी.ए. ले विकास गरेको विकास तथा समृद्धिको मोडेल सरल र प्रभावकारी छ । जुन ठाउँमा हामीले केही परिवर्तन ल्याउनु छ, त्यहाँका मानिसहरूसँग सम्पर्क बढाऔँ । त्यस ठाउँको विविध पक्षहरू जस्तै इतिहास, सामाजिक, आर्थिक, वातावरणीय आदिबारे खोजी गरौँ । यही क्रममा स्थानीय मानिस तथा समुदायबीच सहजीकरणका माध्यमबाट घुलमिल भई उनीहरूको विश्वास जितौँ । अब समूहलाई सहभागीमूलक रणनीतिक योजनाबारे बताऔँ र योजनाको महत्वबारे अवगत गराउँदै त्यस्तो एउटा योजना बनाऔं । यो योजना बनाउँदा स्थानीय बस्तुस्थितिको विश्लेषण गर्दै परिकल्पना गरिन्छ । परिकल्पनामा पुग्न नदिने बाधाहरूलाई खोज्दै त्यसलाई परास्त गर्न सक्ने रणनीतिहरूको विकास गरिन्छ । रणनीतिका आधारमा कामहरुको खोजी गरिन्छ र कार्यान्वयनका लागि कार्य योजनाको तर्जुमा गरिन्छ । 

योजना तर्जुमा सँगसँगै यो प्रक्रियाबाट नेतृत्व विकासमा समेत टेवा पुग्दछ ।  सहभागीमूलक योजनाले समुदायलाई मार्गदर्शन गर्छ, स्थानीय व्यक्तिहरु आफैंले गर्न सक्ने कामहरू छन् भने गर्न सुरु गराइहाल्नुपर्छ । यसबाट योजनाप्रति उनीहरूको विश्वास बढ्छ । जुन काम स्थानीय समुदायले गर्न सक्दैन वा त्यो मंहगो छ, त्यस्को निम्ति स्थानीय वा राष्ट्रिय सरकार तथा गैरसरकारी संघसंस्थाहरू सँग सहयोग माग्नु पर्दछ । त्यसबाट पनि नभए अन्तर्राष्ट्रिय संघ– संस्थाहरूको सहयोग प्राप्त गर्न उनीहरूसँग सम्पर्क बढाउन स्तरीय प्रस्तावना तयार गर्नुपर्छ । कामको थालनी भएपछि त्यसको नियमित रूपमा अनुगमन तथा मूल्याङ्कन गर्नु जरुरी छ । यो प्रक्रिया प्रयोग गरी आइसीएले विभिन्न देशमा परियोजनाहरू सञ्चालन गर्दै आएको छ । आइसीएले यस प्रक्रियामा सहजकर्ताको भूमिका खेल्छ, बाँकी सम्पूर्ण कामहरू स्थानीय समुदायले गर्ने गरी उनीहरूलाई त्यस दिशामा सबल पार्न गरिन्छ (तिम्सिना र न्यौपाने २०१२) । 

कुनै पनि देश धनी वा समृद्ध हुनका लागि नभई नहुने कुराहरू निम्न छन्ः 

  • शिक्षित र तालिमप्राप्त जनशक्ति 
  • स्तरीय पूर्वाधार र सञ्चार
  • प्रतिस्पर्धी र सन्तुलित बजार व्यवस्था 
  • सुरक्षाको प्रत्याभूति
  •  भ्रष्टचाररहित समाज
  • न्यूनतम कर
  • कर्मचारीतन्त्रमा ढिलासुस्ती नहुने व्यवस्था
  • प्रभावकारी कन्ट्राक्ट पद्घति आदि ।

देश समृद्ध हुन पर्याप्त मानवीय तथा भौतिक पूँजी हुनु आवश्यक छ । यसको समुचित परिचालनका लागि उपयुक्त संस्थाहरूको स्थापना गर्दै प्राविधिक ज्ञानको सिर्जना गरिन्छ । भौतिक पुँजी भन्नाले उपकरण तथा यन्त्रहरू जस्तै हलोको सट्टा ट्रयाक्टरको प्रयोगले मानिसलाई बढी उत्पादनशील बनाउँछ । आधुनिक प्रविधिहरू जस्तै स्मार्ट फोन, इन्टरनेट आदिले उत्पादकत्वमा वृद्धि गर्छ । मानवीय पुँजी भन्नाले सुशिक्षित् वा तालिमप्राप्त व्यक्ति भन्ने बुझिन्छ । प्राविधिक ज्ञान भन्नाले प्रविधिको पहिचान तथा उचित प्रयोगलाई इङ्गित गर्छ र धनी देशहरु धनी हुनुमा यी कुराहरूको राम्रो संयोजन हुनुले नै हो । यी कुराहरूको सिर्जना तथा विस्तार गर्न राज्यले संस्थाहरु स्थापना गर्छ । यसको निम्ति इमान्दार सरकारको आवश्यकता पर्छ । राज्यले प्रभावकारी नीति नियम तथा कानूूनको तर्जुमा गरी आफूलाई समेत नियन्त्रित गर्छ । राजनीतिक स्थिरताको अभावमा यी कार्यहरू संभव हुन सक्दैन । समृद्धिको यति सामान्य बाटो हुँदा पनि नेपाल लगायत किन केही देशहरू आफूलाई गरिबकै अवस्थामा राख्न चाहन्छन् ?

केही देशहरूले धेरै छिटो विकास गरेका उदाहरण हामी सामु छन् । दोस्रो विश्वयुद्घपछि जापान र जर्मनीले अचम्म किसिमले विकास गरे, जसको वृद्धि अमेरिकाको भन्दा उच्च थियो । विश्वयुद्घमा ध्वस्त भएका यी देशहरूको अवस्था नेपालमा भएको १० वर्षे जनयुद्घ र त्यसपछिको  १० वर्षे सङ्क्रमणकालीन अवस्थासँग तुलना गर्न मिल्छ । के हामी पनि यस्तै विकासको गति बढाउन सक्छौँ ? चीनले यस्तै अचम्मको वृद्धिदर गरेर देखायो । प्रभावकारी संस्थाहरूको  कारणले नै यी देशहरूले वृद्घिको यो दर प्राप्त गरेका हुन् । जनताको सम्पत्ति माथिको अधिकार, राजनीतिक स्थिरता, प्रभावकारी कानूनी प्रणाली, इमान्दार सरकार र प्रतिस्पर्धी बजार यसका मूल कारण हुन । हाम्रो देशको सन्दर्भमा विकास तथा समृद्धि प्राप्त गर्नका निम्ति चाल्नु पर्ने केही उपायहरू निम्न हुन सक्छन् ः 

  • सरकारले अत्याधुनिक सूचना प्रविधि तथा इन्टरनेटमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रवाह गर्ने । 
  • युवा सञ्जालमा आफ्नो पहँुच बढाई युवाहरूलाई देश विकासमा संलग्न गराउने वातावरणको विकास गर्ने । 
  • ‘एक युवा, एक सिर्जना’ को माध्यमबाट युवाहरुलाई नयाँ कुराको आविष्कार तथा विकास गर्न अभिप्रेरित गर्ने । देशव्यापी रूपमा नयाँ नयाँ कामहरूको थालनी गर्न उनीहरूलाई उत्साहित गर्ने । त्यस्ता कामहरूको प्रचार–प्रसार तथा प्रोत्साहन गर्ने ।
  • केही नयाँ काम वा खोज गर्न चाहनेलाई अभिपे्ररित गर्ने, त्यस्तो वातावरण मिलाइ दिने, कुनै कानुनले सो गर्न नदिए सोको विश्लेषण गर्ने र कानुनको दायरा समेत बढाउनु पर्ने ।
  • परनिर्भरता हटाउन सानै कुरा नै किन नहोस्, यदि कसैले केही गर्छ भने त्यसलाई प्रोत्साहन गर्ने । आत्मनिर्भर हुन सहयोग पुर्याउने, साना–ठूला सबै कुरालाई प्रोत्साहन गर्ने । 
  • नेपालमा विगत केही वर्षयता उपभोक्ता समूह तथा सहकारीहरूको उच्चतम् विकास भएको छ । विशेषगरी सहकारीहरूलाई अझ अघि बढाउन कम लागत पर्ने तथा स्थानीय स्तरमै भएका स्रोतहरूको प्रयोग गर्ने किसिमका उद्योगहरु सञ्चालन गर्न उपयुक्त प्रविधिको प्रयोग गर्नेतर्फ सबल बनाउन सकिन्छ । यसबाट सहकारीले दिने सुविधामा गुणस्तर मात्र वृद्घि नभई गाउँमा उद्यमशीलताको विकास हुनेछ । 
  • विद्यालय तहदेखि नै चिनियाँ भाषालाई पाठ्यक्रममा राख्ने । यसले भविष्यमा प्रविधि भित्र्याउन ठूलो सहयोग पु्याउनेछ । 
  • विज्ञान तथा प्रविधिलाई गाउँ तथा टोलका तल्लोस्तरमा पुर्याउने । यसलाई इन्नोभेसन (नवीन आविष्कार) सँग जोड्ने । सबैमा वैज्ञानिक सोचको विकास हुनुपर्ने कुरामा जोड दिने ।
  • हरेक व्यक्तिलाई इन्नोभेटिभ (अन्वेषक÷आविष्कारक) हुने वातावरणको सिर्जना गर्ने । यसको निम्ति उपयुक्त वातावरण तथा नीति नियम तथा कानूनको तर्जुमा गर्ने । आविष्कारकहरूको सहयोगका निम्ति भरमग्दुर प्रयत्न गर्ने, गर्न चाहनेहरूलाई गर्न दिने वातावरणको विकास गर्ने । 
  • हरेक व्यक्तिलाई अत्यन्त क्षमतावान र सिर्जनशील बनाउने । सबैले आफ्नो मस्तिष्कको उच्चतम् प्रयोग गर्न सक्ने वातावरणको सिर्जना गर्ने ।
  • समाजका हरेक तह÷स्तरमा नेतृत्व तथा व्यवस्थापनमा अभ्यस्त व्यक्तिहरूको सहयोगमा वैज्ञानिक तथा सामाजिक रुपान्तरण कार्यलाई अघि बढाउने । गरिबी विरुद्घ लड्न सक्ने सर्वाङ्गीण सोच भएका समूहहरूको विकास गर्ने । 
  • कृषि– वातावरणीय पर्यटनलाई प्रश्रय दिँदै कृषि तथा पर्यटनको अभिवृद्धि गर्ने । स्थानीय स्तरमा आवश्यक पर्ने सबै वस्तुहरू यथासम्भव स्थानीय स्तरमै उत्पादन गर्ने व्यवस्था गर्ने । पर्यटन वृद्घि गर्न अच्चमका उपायहरुको खोजी तथा व्यवस्था गर्ने, जस्तै केबलकार र सुरुङ्गमार्गबाट प्यूठानको स्वर्गद्वारी पुग्ने व्यवस्था गर्ने, थवाङ्ग (रोल्पा) लाई खुल्ला युद्ध संग्रहालय  बनाउने । पोखराबाट एकै क्षणमा अन्नपूर्णको काखमा र धरानबाट सगरमाथा बेशक्याम्प पुग्ने सुरुङ्गमार्ग र द्रुत गतिको हाइपर लुप र ठूलो वातानुकूलित हलको व्यवस्था गरी त्यहीँबाटै उच्च शृङ्खलाहरू चुम्न सकिने जस्तो वातावरणको सिर्जना गर्न सके वर्षेनि एक करोड पर्यटकलाई आकर्षण गर्न सकिनेछ ।   
  • स्थानीय स्तरमै उपलब्ध स्रोतहरूमा आधारीत साना–ठूला उद्योगहरू स्थापना गरी स्थानीय आवश्यकता पूर्ति गर्दै  स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने । सबैलाई व्यवसायिक हुन प्रेरित गर्ने ।
  • प्रदेश भित्रका गाउँ–गाउँ र सहर– सहरबीच स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरणको सिर्जना गर्ने । पर्यटक, आविष्कारक, लगानीकर्ता आदिलाई आकर्षण गर्ने उपाय खोज्ने ।
  • आफ्नो क्षेत्रको समृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्भावना तथा सहयोगको खोजीलाई तीब्रता दिने । स्थानीय स्तरमा नयाँ सम्भावनाहरुका लागि अवलोकन भ्रमणको व्यवस्था, सहकार्य, भगिनी सहर, गाउँ आदिका संभावना खोज्ने । वन–वनस्पति जोगाएर वा कार्वन सञ्चित गरेर आउन सक्ने बाह्य सहयोगको प्राप्तिमा जोड दिने । 
  • प्राङ्गारिक खेती प्रणालीमा जोड दिने । रासायनिक मल र विषादी हाम्रा लागि महङ्गा मात्र होइनन्, हाम्रो वातावरणका लागि हानिकारक पनि मानिन्छन् । प्रतिबद्घ भए कृषिमा रासायनिक वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउन सकिन्छ भन्ने कुरा सिक्किमले देखाइसकेको छ । 
  • स्थानीय स्तरमै प्राणी तथा वानस्पतिक उद्यान, विज्ञान पार्क आदिको व्यवस्था गरी सानो उमेरदेखि नै सबैलाई जिज्ञासु हुन उत्प्रेरित गर्ने ।  
  • विज्ञान तथा प्रविधिको अध्ययन तथा अनुसन्धानमा अभिरुचि जगाउन सबै प्रदेशको एक एक स्थानमा विज्ञान अध्ययन केन्द्र खोल्नु आवश्यक छ । यस्ता खुल्ला तथा बन्द अध्ययन केन्द्रहरुमा विज्ञान तथा प्रविधि झल्काउने सामग्रीहरू राखी व्यक्ति आफैंले त्यस्को प्रयोग गरी अनुभव लिने व्यवस्था गर्नुपर्छ । यस्ता केन्द्रहरूमा विद्यार्थीहरूलाई आकर्षण गरी सानै उमेरदेखि विज्ञान तथा प्रविधिप्रति उनीहरुको चासो बढाउनु पर्छ । 
  • विज्ञान तथा प्रविधिको समुचित विकासका निम्ति राज्यले विशेष पहल लिनु आवश्यक छ । निजी क्षेत्रलाई यस कार्यमा संलग्न गर्न प्रभावकारी नीति नियमको तर्जुमा गरिनुपर्छ । 
  • देश सुहाउँदो प्रविधि हस्तान्तरण गर्ने सम्बन्धमा विशेष पहल लिनु आवश्यक छ । 
  • विज्ञान तथा प्रविधिको विकासका निम्ति राज्यले पर्याप्त लगानी गर्नु आवश्यक छ । यसमा गरिएको लगानीले भविष्यमा कैयौं गुणा बढी प्रतिफल दिन्छ भन्ने कुरामा नीति निर्माताहरू विश्वस्त हुनु जरुरी छ । 
  • उपरोक्त कार्यहरू गर्न सक्ने समूहहरुको खोजी तथा विकास गर्दै सहकार्य गर्ने । यसको निम्ति हरेक जिल्लामा सहजकर्ताहरूको विकास गर्दै उनीहरुलाई उक्त विषयहरुमा तालिम दिई सशक्त टोलीको विकास गर्ने । आफ्नो ठाउँको विकासमा सबैलाई लागि पर्नु पर्छ भन्ने कुराको जिम्मेवारी बोध गराउने ।

निष्कर्ष
गरिबीकै कारण हामीले हाम्रो समृद्धि हासिल गर्न सकिरहेका छैनौँ । यो हामी आफैंले निम्त्याएको अवस्था हो । अहिलेसम्म हामीले आफूलाई गरिबीमै राख्न आवश्यक पर्ने नीति नियमको तर्जुमा गर्यौँ । त्यसैको परिणति आज सामना गर्न हामी बाध्य भएका छौँ । 

प्रशस्त सम्भावनाहरू हँुदाहुँदै अझै हामी गरिबीको सूचीमा अगाडि आउछौँ । दशकौँ देखिका हाम्रा अभ्यासहरू अझै सफल हुन सकिरहेका छैनन् । यसको कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचकहरूमा हामी धेरै पछाडि परेका छौँ । हाम्रोमा पहिला नै भइसकेका भनिएका वैज्ञानिक तथा प्राविधिक वस्तु तथा विचारलाई आधुनिक विज्ञानसँग जोड्न सक्नुपर्छ । यसो गर्न नसक्दा यी केवल मिथकका रूपमा हामीमा प्रस्तुत हुन्छन् । हामीलाई आधुनिक विज्ञानको दिशामा अघि बढ्नु छ, विज्ञान तथा प्रविधिलाई विकास र समृद्धिसँग जोड्दै समृद्ध राष्ट्रका नागरिकका रुपमा आफूलाई चिनाउनुछ । 

विकास तथा समृद्धिको बाटो अब हामीलाई थाहा भइसकेको छ । सबैलाई क्षमतावान बनाउँदै नवीन प्रवर्तन गर्ने अनुकूल वातावरणको व्यवस्था गर्दै हामी अघि बढ्न सक्छौँ । नवीन कार्यहरू गर्ने वातावरणको विकास गर्दे समग्र राष्ट्रलाई यस दिशातर्फ अघि बढाउनु आवश्यक छ । समृद्धिको यात्रा सहभागीमूलक हुनुपर्छ, सबैले आफ्नोपन महसूस गर्ने अवस्था सिर्जना गर्नुपर्छ । यो खालको संस्कृतिकै विकास गरी विज्ञान तथा प्रविधिलार्ई आमजनसमूहबीच पुर्याई समृद्धि प्राप्त गर्ने अभियानलाई साकार पार्नु आवश्यक छ । 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : २२ बजे