व्यासमा फौजी किराले मकै बाली नष्ट

तनहुँ । व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकै बाली नष्ट गरेको छ । 

मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् । 

करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकै बाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिनुभयो । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा व्यहोर्नु  पर्‍यो यस पटक केही होला भनेको फेरि उस्तै भयो”, उहाँले भन्नुभयो ।

राम्रो मूल्य पाउने आशामा हिउँदे मकै खेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरूको भनाइ  छ । 

किराको रोकथामका लागि पटक पटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ ।  सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन् । पन्ध्र वर्षसम्म लगातार वैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेसा गर्ने सोच बनाएर बसे पनि उपलब्धि नदेखिएको किसान आचार्यको भनाइ छ  ।

कति विदेश बस्ने भनेर अब आफ्नै परिवारसँग बसेर कृषि पेसा गरौँ भनेर अँगाल्दा घाटा मात्रै भोग्नुपरेको उहाँको दुखेसो छ । उहाँले मकै खेती सँगसँगै कोदो खेतीका साथै गाई पालन पनि गर्दै आउनुभएको छ ।

मकैसँगै कोदोमा पनि फौजी किराले नोक्सान पुर्‍याएको छ । मकै र कोदो बालीमा किराले नष्ट बनाएपछि सम्बन्धित कार्यालय वडाको कृषि प्राविधिक, नगरपालिकामा र कृषि ज्ञान केन्द्रमा जानकारी गराउँदा कृषि ज्ञान केन्द्रले औषधि दिनेबाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ । 

स्थानीय अर्का किसान तिलकुमारी आचार्यले पनि बर्सेनि फौजी किराले मकै बाली नष्ट हुँदा घाटा व्यहोर्नु परेको बताउनुभयो । किसानलाई घाटा पर्दा कुनै पनि निकायबाट सहयोग नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । बिहान उठेर मकै बारी हेर्दा निकै उराठ लाग्ने गरेको किसान बताउँछन् ।

व्यास नगरपालिकामा दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको ब्यास नगरपालिका–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो । कृषि खेती गर्ने किसानले भरिएको वडा भए पनि सधैँ किसानले नोक्सान व्यर्होनु परेको उहाँले बताउनुभयो । दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीरताका साथ लागिएको छ । उहाँले भन्नुभयो, “किसानलाई राहत दिलाउनका लागि आफूले पनि पहल गरिरहेको छु ।” रासस

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ४१ बजे