खडेरीले खोस्यो गाँस

राँझा । खडेरीले धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिका–३ निवासी ताज मोहम्मद खाँ वर्ष दिन खाने धान कसरी जोहो गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । आफ्नो एक बिघाभन्दा बढी खेतमा धानखेती गर्दा वर्ष दिन खान पुग्दै आएकामा यो वर्ष आकाशे पानी नपर्दा धान रोपाइँ गर्नै नपाएको उहाँले बताउनुभयो ।आफ्नो खेतमा खडेरीले धान रोप्न नपाएका त्यहाँका किसान यो वर्ष चामल किनेर खानुपर्ने बाध्यताले चिन्तित बनेका छन् । आकाशे पानी नआएका कारण पम्पसेटमार्फत पानी लगाएर धान रोपाइँ गरेका किसानको समेत धान सुकेर नष्ट भएको छ । नवडा नं २ का वडाध्यक्ष मसूद अहमद शाहले आफ्नो जीवनकालमा यस्तो खडेरी र सुक्खा कहिले नभोगेको बताउनुभयो । 

“धान रोपाइँ गर्ने नरैनापुरका किसानको असार र साउन महिना आकाश हेरेर बित्यो, तर एक थोपा पानी परेन”, वडाध्यक्ष शाहले भन्नुभयो, “धान रोप्ने खेत बाँझै छन्, यो वर्ष किसानको गाँस खडेरीले खोसेको छ ।”विगतका वर्षमा धान बेच्दै आउनुभएका वडा नं १ निवासी यातरी बेहनालाई यो वर्ष धान–चामल जोहो गर्ने चिन्ताले सताउन थालेको छ । खडेरीले धान रोप्न नपाइएका कारण यो वर्ष चामल किनेर खानुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो। 

खडेरीले धान उत्पादन नभएपछि चामल किनेर खान सक्ने स्थिति पनि नभएको   नरैनापुर–१ का अगुवा मोल्हे बेहना शेषले बताउनुभयो । स्थानीय राजनीतिक दलको नेतासमेत रहनुभएका उहाँले खडेरीको मारमा परेका नरैनापुरवासीलाई यो वर्ष सरकारले समयमै उचित राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका किसानले वर्षा नहुँदा यो वर्ष करिब १५ प्रतिशतमात्र धान रोपाइँ गरेका छन् । रोपाइँ भएको धान पनि खेडेरीले सुकेको छ । धान रोपाइँ गर्न नपाइएका कारण यो वर्ष भोकमरी लाग्ने अवस्था आउन सक्ने चिन्तामा आफूहरु  रहेको वडा नं ६ गङ्गापुरका सोहनलाल यादवको भनाइ थियो . करिब चार हजार दुई सय हेक्टर जमिनमा धान खेती हुने उक्त गाउँमा खडेरीका कारण १५ प्रतिशतमात्रै रोपाइँ भएको र रोपाइँ भएको धान पनि पर्याप्त वर्षा नभएका कारण सुकेर नष्ट भएको  बाँके जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो ।

वर्षा नभएर धान रोपाइँ हुन नसकेपछि उक्त गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताउनुभयो । उहाँका अनुसार बढदो गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार भएकाले यस्तो निर्णय गरिएको हो ।

सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सङ्घीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष साहको भनाइ थियो। 
 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ४ : ०० बजे