‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रेमीलाई नियन्त्रणमा लिई ५ जनाले गरे पालैपालो बलात्कार

मोरङ । मोरङमा प्रेमीलाई नियन्त्रणमा लिएर प्रेमिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका  प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । 

साथीको बर्थ डे मनाएर घर फर्किरहेकी किशोरीलाई आफ्नै प्रेमीले मोटरसाइकलमा घर पुर्‍याउन लगेका थिए । घर पुग्नुअघि विराटनगर १४ जतुवास्थित नहरमा मोटरसाइकल रोकेर गफिरहेका उनीहरूलाई  पाँच जना युवाहरूले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै घटना सार्वजनिक भएको हो ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।  जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेका युवाहरूले शुरूमा उनका प्रेमीलाई नियन्त्रणमा लिएका थिए । २ जना युवाहरूले प्रेमीलाई नियन्त्रणमा लिएपछि बाँकी ३ जनालाई किशोरीलाई पालैपालो बलात्कार गरेका थिए । उनका प्रेमी युवाहरूको नियन्त्रणबाट फुत्कन सफल भई चिच्याउन थालेपछि स्थानीयवासी जम्मा भएका थिए । स्थानीय जम्मा हुन थालेपछि युवाहरू घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ । 

कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुवैजनाको घाउ जाँच गराइसकेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ । 

यस्तै, मोरङको जहदा गाउँपालिका ७ मा बिहीवार राति १० बजे ३७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

प्रहरीले जहदा ७ का २८ वर्षीय सन्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको हाे । 
राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो ।

पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  २ : ४१ बजे