स्कुल मन्दिर बनोस् !

मेरी छोरी कतिखेर स्कुल जाने भइन् ? पत्तै भएन । तातेताते हिँड्ने छोरीको स्कुल जाने दिन आउँदा साह्रै खुसी लाग्ने । कताकता एकै छिन पनि आफ्नो समीपबाट नछुटाएको नानी स्कुलको भरमा छोड्नुपर्दा मन पिरो भो । शिक्षिकाको हात समाउँदै भनेँ, 'यिनी फकाएपछि मान्छिन् हप्कीदप्की नगरिदिनुहोला …….!'
`नानी रोइन् भने मलाई फोन गर्नुस् है ! म यतै नजिकै हुन्छु  आइहाल्छु | आज पहिलो दिन बानी छैन नानीलाई गाह्रो होला ।´ शिक्षिकालाई यति भन्दै म स्कुल बाहिर नजिकैको एउटा घरमा बसिरहेँ ।
नभन्दै ठ्याक्कै एक घण्टामै फोन आयो स्कुलबाट,  'नानी रोइन्' भनेर । म फटाफट स्कुल गएँ,  नानीलाई लिएर घरमा आएँ । त्यसपछिका दिनमा बिस्तारै बानी हुँदै गयो । पहिला दिनजस्तो गाह्रो भएन ।
रमाउँदै स्कुल जान्थिन् । अलि धेरै सताउने बानी मेरो नानीको । म कहिले पनि रिसाइनँ । रिस देखाउने जत्रो मान्छे पनि थिइन । हेर्दा सानो अबोध नानी । हाँस्दा त अलिक राम्रो अनुहार देखिने । तर रुँदाचाहिँ विरक्त लाग्ने अनुहार देख्दा म हार्थेँ । डर लाग्थ्यो, सानो मान्छेको सबैभन्दा धेरै । म सहन्थेँ, तर कहिले पनि रिसाइनँ नानीसँग । मेरो धेरैजसो समय नानीलाई फकाउनुमै बित्थ्यो ।
एक दिन नानीको स्कुलबाट 'अभिभावक मिटिङको लागि आउनू' भनेर फोन आयो । म पनि स्कुलमा गएँ ।
मलाई मेरो नानी पढ्ने स्कुलमा प्रवेश गर्दा एउटा मन्दिरमा पाइला राखेको अनुभव हुन्छ । साना साना नानीहरू सबै आफ्नै छोराछोरीजस्तो लाग्छ । शिक्षक शिक्षिकाहरूमा साक्षात् भगवानको रूप देख्छु । आहा ! कति पवित्र ठाउँ मन प्रफुल्ल हुन्छ ।
धेरै अभिभावकहरू आउनुभएको थियो । सबैका आफ्ना आफ्ना कुराहरू थिए । नानीहरूका बारेमा स्कुल प्रशासन र शिक्षक शिक्षिकालाई भन्नुपर्ने ।
मिटिङ सुरु भो । प्रधानाध्यापकले 'नानीबाबुहरूका बारेमा आफूलाई मनमा लागेका कुराहरू निर्धक्कका साथ भन्नुहोस्, ता कि हामीले आउँदा दिनहरूमा सुधार गर्न सकियोस्' भनेर आग्रह गर्नुभयो ।
अभिभावकहरू पनि तयार हुनुभयो, बोल्नका लागि ।
'स्कुलमा आएको यतिका दिन भइसक्यो, अझैसम्म अक्षर चिन्दैन ।'
'पहिलो त्रैमासिक परीक्षामा जम्मा ९८% आयो । सबै जानेको छ कहाँनेर गलत गरेछ ?' 
'खेल्नको लागि मात्रै ध्यान धेरै भो, पढाइमा ध्यान पटक्कै छैन ।'
'जति भने पनि टेर्दैन । कसरी होला ? थप्पड लगाइदिए पनि हुन्छ । अलि मान्थ्यो कि ?'
'गृहकार्य थोरै भो, अलि धेरै दिनुपर्‍यो । यतिका दिन भयो स्कुलमा आएको केही जान्दैन ?'
यस्तै यस्तै धेरै गुनासाहरू सुनिरहेकी मेरो पनि बोल्ने पालो आयो । म पनि स्टेजमा गए माइक्रो फोन हातमा लिएँ । मैले  मेरो भर्खरै स्कुल सुरु गरेकी नानीको अनुहार सम्झिए । अनायासै आँखाभरि आँसु भो । गला अवरुद्ध भो । बडो हिम्मतका साथ आँसु लुकाउँदै मैले भने मलाई कुनै पनि गुनासो छैन । मेरो नानी झोला बोकेर स्कुलमा आउँदा उसको अनुहार उज्यालो होस् ।
शिक्षक र शिक्षिकालाई देख्दा आफ्नो आमाबाबुलाई देखेजस्तो होस् । उसलाई विद्यालय रमाइलो लागोस् । मलाई गृहकार्य चाहिँदैन । धेरै नम्बर पनि चाहिँदैन । विद्यालयको वातावरण डर र भय रहित होस् । यो पवित्र ठाउँमा सानो ठुलो कुनै पनि प्रकारको यातना भन्ने  नाम निसान नहोस् । स्वतःस्फूर्त रूपमा ज्ञान आर्जन गर्ने थलो बनोस् । बच्चाभित्र लुकेका प्रतिभाहरू प्रस्फुटित हुने अवसर पाउन । बच्चाहरूको उमेर अवस्थालाई बुझेर त्यही अनुसारको वातावरण बनाइयोस् ।
योभन्दा म केही बोल्न सकिनँ ।
'अहिलेसम्म राम्रो छ । सानी नानी खुसी भएर स्कुल जान्छिन् । योभन्दा मलाई अरू के चाहियो ! सधैँ यस्तै बनोस् स्कुलको वातावरण । कामना गर्दछु ।
कुनै पनि शिक्षकको हातबाट बच्चा कुटिन नपरोस् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : ३४ बजे