असोज १ देखि दसैं सहुलियत पसल, कुन सामानमा कति छुट ?

काठमाडौं – दसैंका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ । 

काठमाडौं उपत्यकामा चार ठाउँहरू रामशाह पथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदि कम्पनीको वेबसाइट/अनलाइनबाट अर्डर गरेमा सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधा समेत रहेको बताइएको छ ।

कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेकोमा सहुलियत दरमा १०३ रुपैयाँ पर्नेछ । जीरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ । 

त्यस्तै खाने तेलको मूल्यमा पनि प्रतिलिटर ७ रुपैयाँ रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ । तेलको मूल्य भने ब्रान्डअनुसार फरक फरक पर्दछ । यसैबिच कम्पनीले दसैँका लागि २ हजार खसी बोका र १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।

 जिउँदो खसी बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । साल्ट ट्रेडिङले पनि चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुट दिने भएको छ भने नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ८ : ०५ बजे