विधायन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ । 

विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिाय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गर्नुभएकाे हाे । 

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाउनुभएकाे थियाे । 

यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेस गरेको हो । 
 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ४ : २५ बजे