एनपीएलको ट्रफी सार्वजनिक

पर्व र परम्परा : जानेर गरे विज्ञान, नजानी गरे अन्धविश्वास 

सभ्य हुनु भनेको सभा, समुदाय, समाज, समूहमा बस्नयोग्य हुनु भनिएको हो । यसको प्रारम्भिक एकाइ परिवार नै हो । परिवार बन्न थालेदेखि नै सभ्य हुने विषय सँगसँगै उपस्थित भएको हो । सभ्यता भनेको सभ्य भइसकेको अवस्था हो । सभ्यताको विकास एकै पटकमा, एउटै सभामा, एउटै सन्दर्भमा, कुनै एउटा समयमा हुँदैन । सभ्यता विकासकै क्रममा हाम्रा वेद, उपनिषद्, पुराण, शास्त्रहरू लेखिएका हुन् । यी सबै तत्तत् समयका लागि जस्ताको तस्तै अनुकरणीय र पालनीय थियो होला । त्यसका बलिया पक्ष पछिसम्म रहिरहे होलान्, कमजोर पक्ष क्षय हुँदै गए होलान् । 

त्यसैले संसारको सार भन्नु नै परिवर्तनशीलता हो । राम्रो होस् वा नराम्रो, हरेकको विकल्प हुन्छ र बलियो विकल्पले जित्छ । मानिस हिजोका हुन् वा आजका वा भोलिका— जानेर वा नजानेर नयाँ खोज्छ, नयाँ भेटाउँछ, नयाँ बनाउँछ र नयाँ उपयोग गर्दछ । विकास, क्रान्ति, परिवर्तन, रूपान्तरणका सिद्धान्तमा यी विषय भेटिन्छन् । सभ्यताको विषय निरन्तरताको विषय हो । यही र यस्तो थियो भन्न सकिन्छ, तर कस्तो हुनेछ भन्न सकिँदैन, तर कस्तो बनाउने भनेर परिकल्पना र प्रयत्न गर्न सकिन्छ र सक्नुपर्दछ । पुराना कुराको विरोध गरेर होइन, नयाँ कुराको खोजी र विकास गरेर नै नयाँ, न्यायिक र सभ्य समाज बन्ने हो । सभ्य समाज बन्नु नै नयाँ संस्कृति स्थापित हुनु हो । त्यसैले भनिन्छ, ‘प्रकृतिले मान्छे बनायो, मान्छेले संस्कृति बनायो । मान्छेले बनाएका नियम र व्यवस्था मान्छेले फेर्न पनि सक्दछ । अवस्थामा सुधार र परिवर्तन गर्न सकिन्छ ।’

अहिले भनिदैछ, हाम्रा परम्परा रूढीवादी छन्, अन्धविश्वास हुन् । यसो भनेर केही मानिसहरू वेदका विरुद्धमा, देवस्थलका विरुद्धमा, मान्यताका विरुद्धमा, परम्पराका विरुद्धमा खनिन थालेका छन् । यस्तो देख्दा लाग्दछ, ‘भालुको रीस खन्युँमाथि (भालुलाई बेस्सरी  रिस उठ्यो भने खन्युँमाथि जाइलाग्छ रे)’ भन्ने उखान सोचेर कथिएको रहेछ । मानिस र भालुमा फरक हुनुपर्यो । भालुझैँ जाइलाग्ने होइन, नयाँ विकल्प विकास गर्नुपर्यो । सयौँ, हजारौँ, अज्ञात समयको सत्य आजको सान्दर्भिक नहुन सक्दछ भनेर मानिसहरूलाई सम्झाउन सक्नुप¥यो, नयाँ सभ्यता र संस्कृति दिन सक्नुपर्यो । 

आज परम्परागत धार्मिक—सांस्कृतिक पर्व ऋषि पञ्चमी हो । ऋषि पञ्चमी पर्वलाई तीजको समापनको पर्व पनि मानिदैआएको छ । तीज पितृशक्तिमाथि मातृशक्तिको विजयको प्रतीक हो । यसको प्रमाण हो, पार्वतीका बाबुले विष्णुसँग विवाह गरिदिने निर्णयलाई पार्वतीले उल्ट्याइदिइन् र आपूmले रोजेका शिवसँग विवाह गरिन् । ऋषि पञ्चमी पुर्खाको सम्मान र स्वास्थ्य सचेतनाका दृष्टिले महत्वपूर्ण छ । यसले हिजोको चेतना र त्यसको विस्तारको प्रमाण दिन्छ । तर, यो बुझेर गरे विज्ञान र नबुझी गरे अन्धविश्वास हुन्छ । 

मान्यता अनुसार ऋषि पञ्चमी व्रत रजस्वला हुँदा छोइछाइको प्रायश्चित्तका लागि गरिने व्रत हो । गणना अनुसार पञ्चमी भनेको सोह्र तिथिमध्ये पाँचौँ तिथि हो । पञ्चमी भनेको पाँचको समूह पनि हो । हाम्रो शरीर पाञ्चभौतिक अर्थात् वायु, तेज, आकाश, पृथ्वी र जलसहितको छ । ज्ञानेन्द्रिय पाँच छन् । कर्मेन्दिय पाँच छन् । सुन्ने, सँुघ्ने, स्पर्श थाहा पाउने, स्वाद थाहा पाउने, देख्ने गरी तन्मात्रा पनि पाँच छन् । पञ्चमीको व्रतसँग यिनको शुद्धिको प्रसङ्ग पनि जोडिएको देखिन्छ । मानिस स्वस्थ हुन इन्द्रिय र तन्मात्रा दुरुस्त हुनुपर्दछ । यिनैको असन्तुलन नै अस्वस्थता हो । 

कसै कसैले कुनै शास्त्रीय प्रावधानको कुनै अंश उधृत गरेर घुमाई फिराई त्यसैमा अल्झाउने प्रयत्न पनि गरिरहेको देखिन्छ । तर, हामीले के बुझ्न आवश्यक छ भने कहाँ कहाँ नकारात्मक विषय छन्, कहाँ कहाँ नकारात्मक छिद्रहरू छन् भनेर खोज्नुभन्दा कहाँ कहाँ सकारात्मक पक्ष छन्, कहाँ कहाँ ऊर्जाका किरण छन् भनेर खोज्नुपर्ने हुन्छ । शास्त्रमा नराम्रा र अनुपयोगी, अन्यायी प्रावधान मात्र छैनन् । सकारात्मक र समन्यायिकताको दाबी गर्न सकिने प्रावधान पर्याप्त छन् । तर, त्यसो हुन सकिरहेको छैन । शास्त्रहरूको अध्ययन गर्दा द्वन्द्ववादी र विवेकी भएर गर्नुपर्ने हुन्छ । 

रजस्वला पाप हो भनिएका केही पङ्क्ति घोकेर, घोकाएर प्राचीन संस्कृतिको सार बिगार्न पाइँदैन, आप्mना व्यवहार अद्यावधिक गर्न शास्त्रले बाधा पार्दैन । यदि बाधा पारिरहेको हुन्थ्यो भने शास्त्रका ती पङ्क्तिबारे कसैले विवेचना नै गर्न पाइँदैन थियो होला । रजस्वलाका विषयमा पूर्वीय प्रसङ्गमा प्रयोग भएका शब्द यस्ता छन्, ‘रजोवती हुनु, रजोधर्म हुनु, रजोदर्शन हुनु, ऋतुमति हुनु आदि ।’ यस्ता सुन्दर, सम्मानजनक र आत्मीय शब्दहरू प्रयोग गरिएको छ । यस विशेष अवस्थालाई सम्बोधन गर्दा हीन वा तुच्छ शब्द प्रयोग गरिएको छैन । यस अवस्थालाई नारीमा हुने विशेष प्राकृतिक अवस्था भएको मात्र स्वीकार गरिएको छ । रजस्वलाबारे शास्त्र अनुसार नै गरिएको छ भने के यसो गरिएको छ त ? 

‘प्रथमर्तौ अक्षतैरासनं कृत्वा तत्र तामुपवेश्य पतिपुत्रवत्यः स्त्रियो हरिद्राकुङ्कुमगन्धपुष्पस्रक्ताम्बूलादि तस्यै दत्वा दीपैर्नीराज्य सदीपालङ्कृते गृहे तां वासयेयुः । सुवासिनीभ्यो गन्धादिकं लवणमुद्गादि च दद्यात् । पहिलो पटक कन्या रजस्वला हुँदा बस्ने ठाउँमा अक्षता बिछ्याइदिएर त्यसमाथि ती कन्यालाई राखेर पति र पुत्र भएका स्त्रीहरूले बेसार, केसर, चन्दन, पूmल, माला, पान आदि कुरा ती कन्यालाई दिएर आरती गरेर उनलाई बत्तीहरूले सिँगारिएको घरमा लगेर राखिदिनुपर्छ । त्यसबेला विवाहित युवतीहरूलाई नुन र मुगीमास आदि दिनुपर्छ ।’ धर्मसिन्धुसारः तृतीयपरिच्छेद— पूर्वार्ध पृ. ३१२)

नेपालीमा अर्को एउटा उखान प्रचलित छ, ‘काशी जाने कुतीको बाटो’ यसलाई यसरी पनि भन्न सकिन्छ, ‘नर्कको नक्सा बोकेर स्वर्ग पुगिन्न ।’ तात्पर्य के हो भने राम्रो प्राप्त गर्न राम्रोको खोजी गर्नुपर्दछ । बजारबाट गतिलो गोलभेँडा किन्दा छानेर किनिन्छ भने मानिसको जीवन र असल सामाजिक संस्कृति निर्माण गर्ने विषयमा भएभरका म्याद गुज्रिएका वा आज सान्दर्भिक नरहेका वाक्यांश खोज्दै हिँड्नु राम्रो बाटो हुन सक्दैन । यति त हेक्का राखौँ, ‘नजाने गाउँको बाटै नसोध्नू ।’  वेद, शास्त्र, परम्परा, संस्कृति हामी सबैका साझा हुन् । यसमा रहेका गुणदोष पनि साझा हुन् । गतिलो रोज्ने र कमसल छोड्ने जिम्मेवारी पनि सबैको साझा हो । नयाँ संस्कृति निर्माणको दायित्व पनि सबैको साझा हो । 
रजस्वला, पवित्रता र अपवित्रताबारे केही प्रसङ्ग यस्ता छन्:

श्रीमद्भागवत महापुराणमा वर्णन गरिएको कथा (छैठौँ स्कन्धको नवौँ अध्याय) अनुसार स्वर्ग र देवताका राजा इन्द्रले विश्वरूप भन्ने शक्तिशाली व्यक्तिको हत्या गरे । त्यस ब्रह्महत्याको पापबाट मुक्ति पाउन उनको पापलाई पृथ्वी, जल, वृक्ष र स्त्रीमा बाँडेको प्रसंग छ । त्यहाँ भनिएको छ— 

ब्रह्महत्यामञ्जलिना जग्राह यदपिश्वरः । संवत्सरान्ते तमघं भूतानां स विशुद्धये अर्थात् राजा भए पनि इन्द्रले हात जोडेर स्वीकार गरेको त्यस ब्रह्महत्याको पापलाई एक वर्षपछि शुद्धिका लागि पृथ्वी, जल, वृक्ष र स्त्रीमा चार भाग लगाए । पृथ्वीमा मरुभूमिको रूपमा यो देखिन्छ । वृक्षमा काट्दा आउने चोपका रूपमा देखिन्छ । जलमा फोका र फिँजका रूपमा देखिन्छ । स्त्रीमा परेको भागका सन्दर्भमा भनिएको छ—

शश्वत्कामवरेणांहस्तुरीयं जगृहु स्त्रियः । रजोरूपेण तास्वंहो मासि मासि प्रदृश्यते अर्थात् सधै काममा सक्षम स्त्रीले स्वीकार गरेको चौथो अंश पाप प्रत्येक महिना रजका रूपमा देखिन्छ । (श्रीमद्भागवतमहापुराण, षष्ठम स्कन्ध, नवम अध्याय, श्लोक ९,) 

यसरी प्रत्येक महिना महिला रजस्वला हुँदा देखिने रजलाई इन्द्रले गरेको पाप (अपराध)को रूपमा बताइएको छ । यसबाट सिंगो महिला नै अपवित्र हुने विषय नभई देखिने, बग्ने रज मात्र दूषित हुने स्पष्ट हुन्छ । अरुले गरेको अपराधको भारी अरुलाई बोकाउने विषय न्यायसंगत हुँदैन । शास्त्र भनेको विज्ञान हो र विज्ञान कहिल्यै अन्यायी हुँदैन । अर्को, त्यस रजको उपयुक्त व्यवस्थापन र शारीरिक सरसफाइ र स्वच्छताको विषय भएको बुझिन्छ । 

केही प्रश्न त फेरि पनि उठ्छ — के इन्द्रले विश्वरूपलाई मार्नुअघि महिलाहरू रजस्वला नै हुँदैन थिए ? यदि यस्तो हो भने प्राकृतिक प्रजजन् कसरी हुन्थ्यो ? कहीँ, कसैमा कुनै अपवाद घटना बाहेक यस्तो सम्भव छैन । यसबाट के थाहा हुन आउँछ भने मानिसले महिला रजस्वला हुने कुरा पछिसम्म पनि थाहा पाएको रहेनछ । थाहा नपाउनु अपराध होइन, तर अज्ञान त हो । कुनै समयको कुनै घटनाविशेषसँग जोडिएको विषयलाई शाश्वत बनाउनु सही हुन सक्दैन । अज्ञानको निरन्तरतालाई ज्ञानले भङ्ग गरिदिन्छ । अज्ञान बोकेर हिंड्नु अन्धविश्वास हो । 

रजस्वला एउटा विशेष अवस्था हो । यसले महिलाको यौवन आगमनको संकेत गर्दछ । प्रजनन्का लागि तयार हुने कुराको संकेत गर्दछ । शरीरबाट नियमित रूपमा रजको रूपमा रगत बग्नु र त्यस क्रममा महिलाहरूमा भित्रैदेखि असहज हुनु ख्याल गर्नुपर्ने पक्ष हुन् । कतिपय महिलाहरूमा महिनावारीका बेलामा निकै पीडा समेत हुने गर्दछ । यी कारणले त्यस्तो अवस्थामा गह्रौँ काम नगर्नु, हिँडडुल नगर्नु, खानपान र सरसफाइमा ध्यान दिनु आदिका लागि विशेष ध्यान दिन छुनसम्म नहुने (नछुने) गरी व्यवस्थापन गर्नु गलत होइन । सामाजिक कार्यविभाजनका हिसाबले घरधन्दा, भान्सा, पूजा आदिबाट समेत अलग हुनु पनि गलत होइन । पन्छिने, पर सर्ने भन्ने विषयको खास अर्थ छ, तर अपराधीलाईझैँ सिङ्गो मानिसलाई नै अशुद्ध, अपवित्र भनेर परसार्नु विज्ञानसम्मत छैन । 

सोम शौचं ददौ तासां गन्धर्वश्च शुभां गिरम् । पावकः सर्वदा मेध्यो मेध्यो वै योषितो ह्यतः ।। 
सोमले पवित्रता, गन्धर्वले सुन्दर वाणि र अग्निले पवित्रता दिएका हुनाले स्त्रीहरू सधै नै 

चोखा हुन्छन् । (श्री गरुडपुराणम् १९।९५)  रजस्वलामुखास्वादः सुरापानसमानि तु । अश्वादिहरणं ज्ञेयं सुवर्णस्तेयसम्मितम्।। 
रजस्वलाको मुखमा चुम्बन गर्नु सुरापान समान हो र घोडा आदि चोर्नु, सुन चोर्नु जस्तै हो ।  (श्री गरुडपुराणम्८।१०५)  भष्मना शुध्यते कांस्यं ताम्रमम्लेन शुध्यति ।  रजसा शुध्यते नारी नदी वेगेन शुध्यति ।। अर्थात् खरानीले माझ्नाले काँसको भाँडा शुद्ध हुन्छ । तामाको भाँडा अमिलोले माझ्दा शुद्ध हुन्छ । रजस्वला भएर नारी शुद्ध हुन्छन् । बग्नाले नदी शुद्ध हुन्छ । यसरी रजस्वला हुने विषयलाई शुद्धीकरण हुने कुरासँग जोडिएको छ । रजोवती भएकी सिंगो महिला नै अशुद्ध हुने विषय शास्त्रसम्मत छैन । 

पूर्वीय संस्कृतिमा प्रायः मानककै रूपमा लिइने चाणक्य नीतिमा यस्तो लेखिएको पाइन्छ— 
‘भष्मना शुध्यते कांस्यं ताम्रमम्लेन शुध्यति । रजसा शुध्यते नारी नदी वेगेन शुध्यति अर्थात् खरानीले माझ्नाले काँसको भाँडा शुद्ध हुन्छ । तामाको भाँडा अमिलोले माझ्दा शुद्ध हुन्छ । रजस्वला भएर नारी शुद्ध हुन्छन् । बग्नाले नदी शुद्ध हुन्छ ।’ यसरी रजस्वला हुने विषयलाई शुद्धीकरण हुने कुरासँग जोडिएको छ । रजोवती भएकी सिङ्गो महिला नै अशुद्ध हुने विषय शास्त्रसम्मत छैन । 

गरुडपुराणमा त महिला सधै शुद्ध रहने कुरा उल्लेख गरिएको छ । त्यो यस प्रकार छ— 
‘सोम शौचं ददौ तासां गन्धर्वाश्च शुभां गिरम् । पावकः सर्वदा मेध्यो मेध्यो वै योषितो ह्यतः अर्थात् सोमले पवित्रता, गन्धर्वले सुन्दर वाणि र अग्निले पवित्रता दिएका हुनाले स्त्रीहरू सधै नै चोखा हुन्छन् ।’ (श्री गरुडपुराणम् १९÷९५) महिलाहरू कहिल्यै अपवित्र नहुने, सदा पवित्र रहने प्रमाणको रूपमा लिन सकिन्छ । हाम्रा पर्वहरू मानिसका यिनै विषयसँगै सकारात्मक मनोविज्ञानका लागि मनाइने गरेको देखिन्छ । ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, तन्मात्रा र भौतिक तत्वहरूको असन्तुलन भए मानिस पूर्ण स्वस्थ हुँदैन । मानिसमा समानता, सद्भाव, सम्मान र सकारात्मक सोच विकास हुन र जीवनमा यिनको अवलम्बन गर्न यस प्रकारको मनोविज्ञान आवश्यक हुन्छ । यसका लागि आहार, विहार, आचार, विचारमा सन्तुलन हुनुपर्दछ । हाम्रा पर्वहरूले दिने सन्देश यिनै हुन् । भेटघाट, खानपिन, पहिरन, नाचगान आदि क्रियाकलाप यिनैलाई ध्यान दिएर गरिनु पर्दछ । तर, हामी आपूm बिगाछौँ अनि, पुर्खा, परम्परा र संस्कृतिका आधारहरूलाई दोष दिन्छौँ । 

भदौको शुक्ल पञ्चमीलाई चलन चल्तीमा तीज पञ्चमी भनिएको भए तापनि मूलतः यो ऋषि पञ्चमी हो । ऋषि भनेका मानव पुर्खा हुन् । ऋषि पञ्चमीका दिन सात ऋषिसँग रहने देवी अरुन्धतीको पनि पूजा गरिन्छ । आफ्ना पूर्वजहरूको सम्झना, मान—सम्मान, पूजा गर्नु राम्रो हो । प्रतीकको रूपमा मात्र भए पनि महिला पुर्खा देवी अरुन्धतीको पूजा गर्ने प्रचलनले नारी सम्मान र सहभागिताको सानो रूप देख्न सकिन्छ । 

यही बहानामा स्वास्थ्य तथा स्वच्छता र सरसफाइको विषयले निरन्तरता पाउनु राम्रो पक्ष हो । व्रत भनेको दृढ संकल्प हो । संकल्प केका लागि र कस्तो भन्ने कुरा मानिस स्वयंले बुझ्नुपर्ने विषय हो । 

पञ्चमीका ब्रतालुहरूले धमिराले उठाएको माटोले शरीर शुद्ध पार्ने, ३६५ पटक नुहाउने, ३६५ दतिवन गर्ने—दाँत माझ्ने आदि गर्दछन् । यसबाट स्पष्ट छ, यस्तो काम दिनदिनै गर्नुपर्दछ । वर्षभरिको गर्नुपर्ने कृत्य एकै पटकमा गर्दा एकै दिन ३६५ नै गर्नुपर्ने भनेको दिनको एकका दरले गर्नु भनिएको हो । यस्तो व्यावहारिक विषयलाई पनि बुझ्ने प्रयत्न नै नगरी अवलम्बन गर्नु अन्धविश्वास हो । 

‘धार्मिक’ग्रन्थमा लेखिएका सबै कथा ‘धर्म’ होइन । कार्ल मार्क्सले बोलेका सबै कुरा ‘माक्र्सवाद’ होइन । पुराना कुरालाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नु संस्कृति होइन । रजस्वला हुनु नछुने हुनु होइन, विशेष शारीरिक अवस्था हो, यो प्राकृतिक हो, सरसफाईमा थप ध्यान दिनुपर्ने अवस्था हो । कथालाई जस्ताको तस्तै लागू गर्नु भनेको बोक्रैसंग कांचो पिँडालु खानु जस्तै हो । इतिहास र कथा त शिक्षा लिनका लागि पो हो त ! बुट्यानमा हिँड्दा काँडा पन्छाउनुभन्दा जुत्ता लगाएर हिँड्नु सहज र उत्तम उपाय हो । पुल नबनेको समयमा  खोला तर्दा लुगा माथि सारेर, जुत्ता हातमा लिएर तरिन्थ्यो, खोलामाथि पुल बनिसकेको छ भने त्यसो गर्न पर्दैन । संस्कृति समयसापेक्ष हुन्छ । वेद, शास्त्र र विगतलाई दोष लगाएर होइन, वर्तमान सुधारेर नयाँ संस्कृति निर्माण गर्न सकिन्छ । 

पूर्वीय संस्कृतिमा एउटा महत्वपूर्ण भनाइ छ, ‘शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् धर्मसाधनाका लागि शरीर मुख्य हो ।’ स्वच्छ र स्वस्थ तन स्वच्छ र स्वस्थ मन ! नबुझेर गरिएको कुनै ठूलो कर्मले पनि पूरा फल दिँदैन । जानेर गरिएको सानो कर्मले पनि असल फल दिन्छ । स्वस्थ मन(सोच—विचार) का लागि स्वच्छ तन (शरीर) आवश्यक छ । 

मानव समाजलाई सुव्यस्थित बनाउन विभिन्न समयमा विभिन्न नियमहरू बनाइए । ती नियमहरू देश, काल, परिस्थिति अनुसारका बनाइए । नियमहरू कडा बनाइए । राज्यको उत्पत्ति नभइसकेको हुनाले ठूलो प्रकृतिका दण्डसजाय नर्क जाने र त्यहाँ यातना भोग्नुपर्ने, अर्को जन्ममा अझ बढी कष्ट भोग्नुपर्ने र अपमानित हुनुपर्ने विषय राखिएको देखिन्छ । यसलाई आजको सन्दर्भमा जस्ताको तस्तै हेर्ने हो भने उतिबेलाको सन्दर्भ बुझिँदैन । विगतलाई विगतकै सापेक्षतामा, आजका लागि आजकै आवश्यकतामा र भोलिका लागि भोलिकै सुविधाअनुसार संस्कृति निर्माण हुनुपर्ने विषयलाई सोही अनुसार बुझौँ र व्यवहार गरौँ । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  १० : २८ बजे