‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तीज र नयाँ संस्कृति निर्माणको सम्भावना

एक कलाकारको टिकटकमा भाइरल भएको नृत्यको मुद्दाले विगत एक हप्ताको तीज माहौललाई सनसनीपूर्ण बनाएको छ । विदेशी व्यावसायिक नृत्य समूहले गरेको नृत्य मुद्दा हुबहु गर्न नजानेपछि उनले गरेको नृत्यको अनेकन् मतलब निकालिए । धेरैलाई यो हाँसोको विषय भयो । कसै कसैलाई यस नृत्य मुद्दाको धक्काले हाम्रो परापूर्व कालदेखि चलिआएको संस्कृति विकृतितिर गयो भन्ने चिन्ता भयो । के ती कलाकार यिनै सामाजिक सांस्कृतिक चिन्तकहरूले भने जस्तो आधुनिकताको नाममा परम्परागत मौलिक संस्कृतिलाई लोप गर्न र विकृति फैलाउने महिला हुन् ? तपाईँले पनि बिर्सनु भएको छैन होला, एक वर्षअघि उनले आफ्नो श्रीमान्को खुट्टा धोएर पानी खाएर तीजको व्रत तोडेकी थिइन् । उनका व्यवहार र उनको व्यवहारबारे टिप्पणी गर्नेहरूमाथि स्वाभाविक प्रश्न उठ्छ— के उनी पुरातनवादी हुन् ? एक वर्षअघि सम्म पुरातनवादी भनिएकी उनी अहिले विकृति ल्याउने आधुनिक महिला हुन् ? अहिले उनलाई कुन कोटी—श्रेणीमा राख्नुहुन्छ ? तपाईँ आफूले गर्ने कार्यहरू, आफ्ना सोचहरू आफ्नो जीवनशैलीलाई कुन श्रेणीमा राख्नुहुन्छ ? यसरी विभाजित श्रेणीहरू कठोर र पूर्वाग्रहपूर्ण हुन्छन् । श्रेणी वा दायरा निश्चित परिभाषाभित्र रहेर गरिएका हुन्छन् । यस्ता विषय हाम्रा सोच र कार्य सम्पादन अलि तरल छन् । 

एक महिनासम्म साथीहरू भेला भएर,  मांस—मदिरा खाएर, नाचेर विकृति ल्याएका महिलाहरू तीजमा बिना अन्न, बिना जल व्रत बस्छन् र ऋषि पञ्चमीसम्म व्रत जारी राख्छन् । उनीहरू आधुनिक हुन्  कि पुरातनवादी  ? अहिले समाजमा उनीहरूलाई कुन कोटीमा राख्ने ? यी दुई अतिवादले समाजको सन्तुलन भङ्ग गर्छ कि भन्ने डर छ ।  

महिलाहरूले ‘एक महिनासम्म खाएका दर’ दसैँ, तिहारको बेला पुरुषहरूले खुलेआम महिना दिन खेल्ने तास र जुवाभन्दा धेरै गुणा बढी आलोचित हुन्छ । नसामा झुमेर सट्टेबाजी गरेका लडाइँभन्दा समाजलाई अलि बढी आलोचना र टिप्पणीको विषय बन्दछ । महिलाहरूले समूह बनाएर खाएको एक ग्लास वाइन, हाँसेर नाचेका नृत्य मुद्राहरू, खिचिएका तस्बिरहरूले समाजको टाउको दुखाउँछ ।

संस्कृति जोगाउनेका लागि यो विकृति ल्याउने प्रवृत्ति हो जस्तो लाग्छ भने ‘जागरूक, कामकाजी’ महिलाहरूका लागि यो त पुरातनवादी हो भन्ने लाग्दछ । तीजमा किन रातो लाउनु ? किन नाच्नु ? कामकाजी हुनु र परिवर्तनका कुरा गर्नु नि भने जस्तो लाग्छ । यी दुई सोचका बीचमा रहेका यो एक महिनासम्म तीज मनाउने महिलाहरूको समूह ठुलो छ । अनि यो समूह तरल छ । 

दसैँ, तिहारमा तपाईँले आफ्ना साथी, दिदीबहिनीहरूसँग बसेर निर्धक्क रमाइलो गर्दै गरेका त्यति धेरै महिलाहरू भेट्नुहुन्न । प्रायः महिलाहरू तीज बाहेक बाँकी सबै चाडपर्वमा घरपरिवार तथा आफन्तलाई खाना खान बोलाउने र त्यसका लागि भान्सामा, घरको सरसफाइमा व्यस्त हुन्छन् । महिलाहरू आफू आबद्ध भएका विभिन्न समूहसँग मिलेर आफ्ना नयाँ पुराना साथीहरूसँग मिलेर एक दिन भेटेको, नाचेको अनि खाएको यही तीजमा मात्र देख्न पाइन्छ । घरका कामबाट कहिल्यै फुर्सद नहुने गृहणीदेखि घर र कार्यालयको कामको बीचमा सन्तुलन मिलाउन दौडादौड गर्ने तीजको समयमा मात्र हो । अधिकांश महिलाहरू यही एक महिनाभित्र दुई—चार दिन अथवा पाँच—सात दिन मात्र हो— आफ्ना सङ्गिनीहरू भेट्ने निर्धक्क बस्ने । वर्षभरिमा उनीहरूले निकालेको एक महिना के हो ? अग्रगामी—प्रगतिशील कि पुरातनवादी ? आफ्ना लागि समय निकाले त्यो अग्रगामी भयो होला । तर फेरि सन्दर्भ त त्यही व्रत बस्नुपर्ने तीज हो, त्यो पुरातनवादी भयो होला । अनि रातो सारी र सोह्र शृङ्गार गर्छन्, अनि तीज तीज भन्छन् । त्यो त संस्कृतिको पक्षपोषण भयो होला । तर, त्यहाँ अनेक गीतमा नाच्छन्, उन्मुक्त हाँसो हाँस्छन्, वाइन खान्छन् ? त्यो विकृति भयो होला । यो तरलताले हाम्रो समाजलाई कता बगाइरहेको छ ?

यो मेरो लेख भएकोले मेरो विचार यहाँ राखेँ । यो एक महिनासम्म हुने कार्यक्रमहरूलाई महिलाहरूले संस्कृतिभित्र अटाउन खोजेर दिइएको नाम ‘दर खाने’ भन्नु भन्दा दसैँको शुभकामना, तिहारको शुभकामना जस्तै ‘तीज शुभकामना आदान—प्रदान’ कार्यक्रम भन्नु उपयुक्त हुन्छ ।  

माइतीले, दाजुभाइका परिवारले मात्र खुवाउने गरिएको दर अहिले टोल समितिले खुवाउँछ, आमा समूह, सहकारी समूहले खुवाउँछ । अहिलेका आर्थिक रूपले सबल महिलाहरू इष्टमित्र दिदीबहिनीले दर खान बोलाउँछन्, खुवाउँछन् ।  यस्ता समूहहरू र यस्तो आयोजनाले दाजुभाइ हुँदै नभएका वा विदेश वा टाढा रहेका दाजुभाइको अभाव महसुस हुन दिँदैनन्, यसलाई हामीले सकारात्मक रूपमा स्वीकार गर्नुपर्छ । 

यदि यस्ता कार्यक्रमहरू, यिनमा बज्ने गीतमा चेतना घोल्नुपर्छ भन्ने हो भने यसमा चेतनशील महिलाहरूले र उनीहरू रहेका सङ्घसंस्थाले रणनीतिक योजना बनाउनुपर्छ, प्रगतिशील साहित्य समूहहरूले जुझारु गीत अनि धुन दिनुपर्छ । यसका लागि यो एक महिना होइन, वर्षैभरि महिला सशक्तीकरण तथा सांस्कृतिक रूपान्तरणका क्षेत्रमा योजनाबद्ध कामहरू गर्नुपर्छ । प्रगतिशील सोच उन्मुख त गोलबद्ध हुन आउँछन् नै, असली काम त यथास्थिति वा पुरातनवादी सोच राख्ने पारिवारिक संरचनाहरूलाई समेट्नु हो । जानी नजानी ती समूहले समाजलाई डोर्‍याएका छन्, केही क्रान्तिकारी कुरा स्थापित गर्दै आएको छ, बन्धन तोडिएको छ तर केही पुराना विभेदपूर्ण मान्यताहरू स्थापित पनि गर्दै गएको छ । प्रगतिशील सोच भएका महिलाहरू र सङ्घसंस्थाले मार्च ८ भन्दा तीजलाई प्रभावकारी बनाउन सक्दछन् । परम्पराको जगमा स्थापित यस्ता जगमा नयाँ प्रगतिशील सोचहरू स्थापित गर्न सकिन्छ, पितृसत्ताको उपज यो तीजको सन्दर्भलाई प्रगतिशील सन्दर्भ दिन सकिन्छ । तीजले यस्तो उर्वर र उज्ज्वल सम्भावना बोकेको छ ।

तीजमा रमाउने, नाच्ने, गाउने महिलाहरूले केही असान्दर्भिक पुरातन मान्यता हटाउँदै छन्, बाँकी प्रगतिशील महिलाहरूले हातेमालो गरे तीजले नयाँ संस्कृति निर्माणको रूपरेखा कोर्न सक्दछ । ​​​​​​​

(लेखक मदन भण्डारी फाउण्डेशनका अध्यक्ष हुनुहुन्छ ।)

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : २४ बजे