भूमण्डलीकरणको आजको समयमा पुँजीवादको विकृत उपभोक्तावाद तीज गीतहरूमा पनि परेको छ । एक्काइसौँ शताब्दीबाट गुज्रिरहेको अवस्थामा हाम्रा सामु हिजोको परिस्थितिभन्दा धेरै कुरामा परिवर्तन भएका छन् । परिवर्तन सकारात्मक भएमा त्यसलाई विकाश भन्न सकिन्छ । परिवर्तन कहिलेकाहीँ सकारात्मक मात्र नभएर नकारात्मक पनि हुन सक्दछन् । हाम्रो जीविकोपार्जनमा सुविधा, सहजता तथा सामर्थ्यमा वृद्धि भई समृद्धितर्फ लाग्न सहयोग गर्ने परिवर्तनहरू सकारात्मक हुन् ।
राजमार्गहरूको निर्माण, बाटो, पुल, सिँचाइको लागि नहर, कृषिका लागि आधुनिक कृषि औजारहरूको विकाश, विद्युत् गृहहरू, सञ्चारका सुविधाहरू, जनस्वास्थ्यको लागि ठाउँ ठाउँमा सुविधा सम्पन्न अस्पतालहरू, अध्ययनको लागि राम्रा विद्यालयहरू, विज्ञान, व्यवस्थापन, प्राविधिक शिक्षा क्षेत्रका महाविद्यालयहरू तथा जनताको रोजगारीका लागि औद्योगिक कलकारखानाहरूको स्थापना हुनु सकारात्मक परिवर्तन हुन । तर यी सबैको विकाश देशका जनता स्वयंले, आफ्नै देशभित्र भएको मानवीय तथा प्राकृतिक श्रोतको दिगो प्रयोगबाट गरिएको हुनुपर्दछ अर्थात् हामीलाई चाहिने सम्पूर्ण अति आवश्यक वस्तुहरू हामी आफैले उत्पादन गर्न सक्षम हुन आवश्यक हुन्छ । हाम्रो जीवनशैली देशको माटो, हावापानी, भूगोल, संस्कृति र सकारात्मक परम्परा अनुसारको हुन आवश्यक छ । आफ्नो देशमा कस्ता उपभोग्य बस्तुहरू उत्पादन गर्न सकिन्छ त्यही वस्तुहरूको उत्पादन गरी उपभोगमा हामी रमाउन सक्नुपर्दछ । सकेसम्म नेपालमा उत्पादन गर्न सकिने वस्तुहरूलाई धेरैभन्दा धेरै उत्पादन गरूँ गुणस्तरीय उत्पादन बाहिरी देशहरूमा निर्यात गर्न सकेमा हाम्रो अर्थतन्त्र सबल बन्न सक्दछ ।
देशमा भएका मूर्त तथा अमूर्त सम्पदाको विकाशबाट देशको पहिचान बनाउन हामीसँग धेरै अवसरहरू छन् । सबैले मिलेर काम गर्ने, बाँडेर खाने, विविधता भएको समुदायमा पनि कुनै भेदभाव विना शान्तिपूर्वक मिलेर बस्ने वा अनेकतामा एकताबद्ध भएको हामी स्वाभिमानी नेपालीले आफ्नो पहिचान विश्व सामु देखाउन सक्नुपर्दछ । यी सबै उपलब्धिहरू प्राप्त गर्न जनताको चेतनामा सकारात्मक परिवर्तन अर्थात् विकाश हुन त्यतिकै जरुरी देखिन्छ ।
आज हाम्रो नेपाली समाज जीवनका उपभोग्य बस्तुहरूमा कति आत्मनिर्भर छ, समाज कतातिर मोडिएको छ, यसलाई सुमार्गतर्फ डोर्याउन राज्यले कति लगानी गरिरहेको छ,हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिले हाम्रो समुदायलाई कुन दिशातर्फ निर्देशित गर्दैछ यो आजको ठुलो चासोको विषय हो ।
हामीले दैनिक उपभोग गर्ने बस्तुहरू कहाँबाट प्राप्त भइरहेका छन्, तिनीहरूको गुणस्तर कस्तो छ, हाम्रो स्वास्थ्यमा तिनीहरूको प्रभाव कस्तो परिरहकेको छ र हाम्रो जीवनशैलीमा यिनीहरूले कस्तो खालको परिवर्तन ल्याएका छन् आदि गम्भीर विषयहरूमा हामी सचेत हुन अति आवश्यक छ ।
देशको वर्तमान परिस्थिति लाई गहिरिएर हेर्दा पहाडी क्षेत्रका खेतीयोग्य जमिन बाझिँदै गएका छन्, खेती गरिएको छ भने पनि जङ्गली जनावरको बिगबिगीबाट जोगाउन कठिन भएको छ । तराई र सहरका खेतीयोग्य जमिन सिमेन्ट र कङ्क्रिटले भरिँदै गएका छन् । कर्मठ युवाहरू वैदेशिक रोजगारीमा ठुलो सङ्ख्यामा बाहिरिएका छन् । जलवायु परिवर्तनको कारण खेती गर्ने वातावरण बिग्रँदै गएको मात्र होइन यहाँका धेरैजसो कृषक खास गरी युवा महिलाहरू काम गर्ने वातावरण बाट टाढिँदै गएको देखिन्छ ।
नेपाली युवाहरू स्वदेशमा रोजगारी नपाएर बाध्यतावस आफ्नो परिवारबाट टाढा विदेशतिर लागिरहेको अवस्थामा यहाँका उनका परिवारहरू पहाडबाट बसाई सराइ गरी तराईमा तथा सहरमा बस्ने, काम नगर्ने आयातित खाद्यान्नको प्रयोग, महँगा कपडा, घडी, मोबाइल फोन, सुनका गरगहनामा सजिसजाउ र सधैँ फूसर्दमा रमाएको देखिन्छन् । आडम्बरी र देखासिकी जीवनशैलीतर्फ आशक्ति बढेका कारण गृहस्थ्य जीवनमा प्रवेश गरेको पुस्ता परिवारबाट टाढिन बाध्य भएकाले समाजमा अनेकौँ विकृति मौलाएको हामी सबैले महसुस गरेकै कुरा हो । उनीहरूलाई पहिले पहिलेका आमा दिदी बहिनीहरूले गरेका उत्साहजनक कामहरूको अनुसरण गर्न गर्व लाग्दैन । आफ्ना सासू ससुराले बालबालिका हुर्काउँदा भोग्नु परेका दुःख कष्ट, वुहार्तन, पेटभरी खान नपाउँदाको पिडा त दन्त्यकथा जस्तो भइसक्यो ।
हिजोका दिनहरूमा हाम्रा आमा दिदी बहिनीहरू विद्यालयसम्म टेक्न पाएनन् तर उनीहरूमा प्रकृति र वातावरणका बारेमा धेरै ज्ञान थियो । आफूलाई चाहिने सम्पूर्ण औषधिजन्य जडीबुटीहरू आफै पहिचान गर्ने,संरक्षण गर्ने र उपभोग गर्ने चलनको विकाश भएको थियो । आषाढ र श्रावण महिना भरि त वर्ष दिनलाई पुग्ने खाद्यान्नको जोहो गर्नका लागि खेतीपातीमा व्यस्त बस्नु पर्दथ्यो । अन्धविश्वास र कुरीति व्याप्त थियो तापनि अहिले जस्तो श्रीमानको आयु वृद्धिका लागि भनेर आफ्नै शरीरमा सिरदेखि पाउ सम्मको आवरण हरियो बनाएर श्रावण महिना मनाउने तथा एक महिना पहिलादेखि दर खाने तीज मनाउने भड्किलो र खर्चिलो परम्परा भने चलनमा थिएन ।
नेपाली समाजका चाडपर्वहरू हाम्रा सांस्कृतिक सम्पदा हुन् । यिनीहरूले हाम्रो मौलिकता,पुर्खाहरू प्रतिको सम्मान र हाम्रो पहिचानलाई जीवित राख्न सघाउँदछन् । विगतका दिनहरूमा उत्पादनमा व्यस्त भएका महिलाहरू भाद्र महिना लागेपछि मात्र दिनभरिको कृषि कामबाट फुर्सद भएपछि रातको समयमा टोल छिमेकमा जम्मा भएर गीत गाएर रमाइलो गर्ने चलन थियो । सबैले आ–आफ्नै घरमा खाना खाएर जम्मा हुन्थे । बारीमा फलेका काँक्रा बाहेक चिया खाने सम्मको पनि चलन थिएन । आफूले भोग्न परेका लैङ्गिक विभेदका कुराहरू, घरपरिवारमा भोग्नुपरेका महिला हिंसाका कथाहरू, बुहार्तन, बिरामी पर्दा परिवारबाट अपहेलित हुनुपर्दाको दुःख, कामको बोझ भएता पनि पेटभरी खान नपाउँदाको पिडा तथा समाजमा घटेका घटनाहरू र प्राकृतिक प्रकोपका घटनाहरूलाई माला जस्तै बनाएर तीज गीत आफैले रचना गर्ने, गाउने र नाच्ने गरिन्थ्यो । अहिले जस्तो सञ्चार क्षेत्रले फड्को मारेको परिस्थिति भएको भए यस्ता सन्देश मूलक गीतहरूका भावले संसारका कुना कुनामा पुगेका नेपाली लगायत अन्य मुलुकका मानिसहरूले समेत प्रशंसा गर्ने थिए होलान् । दर खाने दिन त एक दिन मात्र हुन्थ्यो तीज पनि एक दिन मात्र मनाइन्थ्यो ।
यसै अवसरमा टाढा टाढाबाट माइतीघरमा जम्मा भएका बालसखाहरुको लामो समय पछिको भेटघाट, आमाबुवा दाजुभाइसँगको मिलन, आत्मीयता, मेलमिलाप तथा सद्भावको रूपमा लिने गरिन्थ्यो । अघिल्लो दिन राती सम्म दर खाने र अर्को दिन श्रीमानको दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निलआहार व्रत बस्ने, महिनावारीलाई पाप हो भन्ने अन्धविश्वासले गर्दा पाप कटाउन पञ्चमी पूजा गरी अर्को दिन कर्म घरको भाका ननघाई फर्कने चलन थियो । एकातिर निलहार बस्ने, अर्को पञ्चमी पूजा गरी पाप कटाउने परम्परा सकारात्मक संस्कृति होइनन्, यो त अचेतनाको पराकाष्ठा हो, जुन अहिलेको समयमा पनि विद्यमान छ । एक्काइसौँ शताब्दीमा आएर हाम्रा पुर्खा भन्दा हामी कति चेतनशील भयौ मापनको लागि कुनै कसीको आवश्यकता पर्दैन यो हाम्रा आजका व्यवहारले पुष्टि गर्दैछ ।
तीज आयो भनेर चेलीबेटी बटुल्छन्, पञ्चमीको अर्को दिन रुँदै पठाउँछन् ।
आज विज्ञान तथा प्रविधिको विकाशले संसारको कुनै स्थानमा होस वा कसैको घरको कोठामा भएका नेपालीहरूले मनाएका तीज कार्यक्रमका दृश्यहरू संसारभर छरिएका नेपालीहरूले प्रत्यक्ष हेर्न सकिने भएको छ ।
श्रावण महिना लागेदेखि नै नेपालमा मात्र होइन युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान लगायतका नेपालीहरु बसोबास गर्ने देशहरूमा तीज कार्यक्रम सञ्चालन भएका देखिएका छन् । सबैले युट्युबमा भएका गीतहरू बजाएर नाच्ने गरेको देखिन्छ जसमा कपडा र गहनाको बयान तथा माया पिरतीमा आधारित तर अश्लील र उत्तेजनात्मक भावको प्रयोग भएको पाइन्छ । समाजको स्वरूप यसरी बदलियो कि प्रविधिले पनि नयाँ मोड लिएसँगै आधुनिक गीतहरू बनाएर युट्युब मार्फत सुन्ने, नाच्ने प्रचलन हाबी हुदैछ चस्मा पुराना मौलिक गीतहरूको त आभास नै हुँदैन बरु तीज मनाउने कार्यक्रममा हिन्दी गीतहरूले प्रश्रय पाउन थालेका देखिन्छन्। हङकङ्गको सारीले नेपालको धुलो उडायो भन्ने गीतले नेपालको बारेमा कस्तो सन्देश दिन्छ ? हामी आफ्नो जन्मभूमिको बदनाम त गरिराखेका छैनौ सोच्न आवश्यक छ ।
भेसभुसामा पनि नेपाल बाहेक अरू विभिन्न देशबाट आयातित महँगा सारी तथा लेहङ्गा, लगाउने प्रवृत्तिको विकाश भएको देखिन्छ । पुराना र मौलिक तीजका गीतहरू नगाए पनि गरगहना भने शताब्दी पहिलेका महिलाहरूले लगाउने गरेका जन्तर, हमेल, छड्के तिलहरी, चन्द्रमा नौगेडी लगाउने प्रचलन भने बढ्दो क्रममा छ । नेपाली महिलाहरूको जस्तो सुनका गरगहना प्रतिको आशक्ति सायद विश्वका कुनै देशका महिलाहरूमा होला ! परम्परालाई अनुसरण गर्ने नाममा श्रावण महिना लागेदेखि नै घर तथा सरकारी कार्यालयहरू, सङ्घसंस्थाहरू, सहकारी, महिला समूह आदिले दैनिक जसो छुट्टाछुट्टै दर खानेसँगै मादक पदार्थको सेवन, जुवा तास आदिको प्रचलन बढ्दो देखिन्छ । कता गयो मौलिकता, कता गए वेदनाका गीतहरू, कता गयो समाज, कता मोडियो रीतिरिवाज ? सर्जकहरू पनि तीजको सामाजिक र सांस्कृतिक महत्त्वको पाटोलाई भन्दा व्यापारिक पाटोलाई बढी ध्यान दिँदा संस्कारमा विकृतिले प्रश्रय पाएको भान हुन थालेको छ । कोरोना जस्तो महामारीमा पनि जमघट गर्ने, आडम्बरी र तडकभडकपूर्ण वातावरणले छाड्न सकेको देखिँदैन । अर्काको देशमा उत्पादित रसायन प्रयोग गरिएका खाद्यान्न खाने, अर्काको तातो भूमिमा अत्यधिक गर्मीमा कडा मेहनत गर्ने, रसायन प्रयोग गरिएका पेय पदार्थको अत्यधिक प्रयोग, यता घरका वृद्ध आमा बाबुको तथा जहान छोराछोरीको चिन्ता, दिनभरको कडा कामबाट सृजित थकान मेटाउन पेनकिलरको प्रयोगले बिग्रिएको स्वास्थ्य श्रीमतीको हरियो चुरा पोते, कपडा र शृङ्गारका साधनको अत्यधिक प्रयोगले श्रीमानको स्वास्थ्य राम्रो हुन्छ कि हुँदैन एकाइशौँ शताब्दीको हाम्रो समाजले आफै महसुस गर्ने कुरा हो ।
प्रविधिको यस्तो विकाश भइरहेको सन्दर्भमा हाम्रा चाडपर्वहरूले धेरै कुरामा हाम्रो देशको मौलिकता, जात जातिमा भएका परम्परा झल्काउने, देशको गौरव हाम्रा हिमाल, नदीनाला, तालतलैया, पवित्र धार्मिक स्थलहरूको बयान विविधतामा पनि एकता भएको समाजको बयान गरेको हुनुपर्दछ ।
बुद्ध जन्मेको देशका शान्तिप्रिय हामी नेपालीहरूले विश्वमा शान्ति फैलाउने सन्देश मूलक गीतहरूको सृजना गरी विश्वमा फैलिँदै गरेको अशान्तिलाई कम गर्ने काममा योगदान पुर्याउन सक्नुपर्दछ । सीता र भृकुटी जस्ता आदर्श नारी जन्मेका देशका हामी नेपाली महिलाहरूले आफ्नो क्षमता, योग्यताको विकाश गरी धैर्यता र सहनशीलताको खानी र परिवर्तनका संवाहक हौँ भन्ने प्रत्याभूति गराउन सक्नुपर्दछ ।
केही दशक यता कतिपय सर्जकहरू जस्तै हरिदेवी कोइराला शान्ति श्री परियार तथा विष्णु माझीजस्ता समाज बुझेका, भोगेका व्यक्तिहरूबाट समाजमा भएका विकृति, भ्रष्टाचार र बेथिति, वर्गीय विभेद, जातीय विभेद, लैङ्गिक विभेद, देशको सामाजिक अवस्था, रोजगारीको अभावले विदेशमा नेपाली युवाहरूले भोग्न परेको पिडा, आदिका बारेमा राम्रा र सबैले सुन्नै पर्ने खालका कारुणिक तीज गीतहरू पनि रचना गरेका छन् । यिनीहरूमा देशको मौलिकताको दम पाइन्छ । हाम्रो कला, संस्कार, संस्कृति र सभ्यता विश्व विजयी छ यिनैको विकाशबाट हाम्रो पहिचान बन्नुपर्दछ । श्रमजीवी वर्गको सम्मान गर्दै सिद्धान्तलाई व्यवहारमा लागु गरी आर्थिक र सामाजिक अधिकारद्वारा समानता स्थापना गर्न सकिन्छ, यसैमा देशको मौलिकता भेटिन्छ । परिवर्तित परिस्थितिसँगै वर्तमान समाजको चित्रण गर्दै तीजको परम्परा र मर्मलाई जोगाउनु आजको आवश्यकता हो । समाजको प्रगतिशील रूपान्तरणमा अघि बढेको दावा गर्ने हामी व्यक्ति,समूह र राजनीतिक दलले पनि जुनसुकै किसिमले आर्जेको होस् सुनको भड्किलो र आडम्बर युक्त प्रदर्शन र खर्चिलो बन्दै गरेका हाम्रा चाडपर्वहरूमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । उनीहरूलाई दार्शनिक तथा वैज्ञानिक दृष्टिकोणबाट प्रशिक्षित गर्न आवश्यक छ । तीज गीतमा लैङ्गिक तथा जातीय विभेदका विरुद्ध आवाज घन्किनु जरुरी देखिन्छ ।
प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ९ : ३९ बजे
प्रतिक्रिया