‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सानो कथाभित्रको विस्तृत प्रभाव: हरितालिका तीज

तीज आयो भनेर नगरौँ खल्बल, बसौँ दिदीबहिनी हो गरौँ छलफल…..कुनै समय तीजको समयमा यस्तो गीत सुनिन्थ्यो । छलफलका विषय पनि गीतमा नै आउँथे र मन लगाएर सुनिन्थ्यो । सामाजिक, पारिवारिक, राष्ट्रिय चासोका विषय पनि गीतमा नै सुन्न पाइन्थ्यो । तर अहिले तीजमा त्यस्ता छलफल र मन्थन भएको पाइँदैन, बरु समाजलाई नै भद्दा, भड्किलो, उत्ताउलो र दिशाविहीन गीत—नाच, खाद्य र पहिरनको बोलबाला बढेको देखिन्छ । 

परम्परादेखि नेपाली समाजले अत्यन्त आत्मीयतापूर्वक मनाउँदै आएको राष्ट्रिय पर्व तीज हाम्रो घर—आँगनमा आइसकेको छ । यसको पारम्परिक, सामाजिक, सांस्कृतिक र पारिवारिक महत्त्व छ । समय बलिन्छ, सामाजिक अवस्था बदलिन्छ, भौतिक विकासले सहजता थपिन्छ; तर यसको तात्पर्य परम्परा, समाज, संस्कृति र परिवारको महत्त्व कम हुँदैन । हामीले हाम्रा पर्वहरूलाई सोही अन्तर्वस्तुका साथ मनाउनु उचित हुन्छ । फेर्ने भनेको विभेद हो, होँचोनिचो हो । फेर्नु भनेको भद्दापन र अश्लीलता प्रदर्शन गर्नु होइन । हाम्रो समाज र संस्कृतिमा महिलाद्वेषी केही प्रसङ्ग छन् तर, सनातन संस्कृतिका सार नै विभेद, अपमान, द्वेष होइन भन्ने  बुझ्न आवश्यक छ । 

यसै त तीजलाई महिलाहरूको पर्वको रूपमा अर्थ्याइने गरिन्छ । यसको सार र स्वरूप दुवैले यसलाई महिला मात्रको पर्व भएको पुष्टि गदैनन्, बरु यसलाई महिला केन्द्रित पर्व भन्न मिल्ला । नेपाली समाजमा तीजमा आफ्ना विवाहित छोरी तथा दिदी—बहिनीहरूलाई घरमा बोलाएर मिठो—मसिनो खुवाउने प्रचलन भएको चाड हो । यो पर्व महिलाको मात्र होइन, दिदी–बहिनी–छोरीलाई घरमा बोलाएर महत्त्व दिने बाबा–दाजु–भाइको पनि हो, एउटै घरमा कसैको पर्व हुने र कसैको नहुने हुन्छ र ? 

अहिलेको जस्तो यातायात तथा सूचना प्रणाली नभएको समय भएकोले त्यति बेला उनीहरूलाई बोलाउने वा लिनै जान पर्ने हुन्थ्यो । एक त बोलाउने माध्यम अहिलेको जस्तो सजिलो थिएन, अर्को महिलाहरूलाई लामोबाट एक्लै हिँड्ने अनुमति पनि थिएन । महिलालाई एक्लै हिँड्न नदिने विषय शास्त्रमै छ । यस्तो लेखिएको पाइन्छ, ‘पिता रक्षति कौमारे भर्ता रक्षति यौवने, रक्षन्ति स्थविरे पुत्राः न स्त्री स्वातन्त्य्र मर्हति अर्थात् सानो छँदा पिताले रक्षा गर्दछन्, युवा अवस्थामा पति—श्रीमान्ले रक्षा गर्छन् र वृद्ध अवस्थामा छोराले सम्हाल्दछ ।’ 

यस व्यवस्थाको विभिन्न कोणबाट आलोचना र विरोध पनि हुने गरेको पाइन्छ । यसले दुई वटा कुरा स्पष्ट हुन्छ ः पहिलो, महिलालाई सुरक्षा र सम्मानसाथ राख्नुपर्छ र दोस्रो, हाम्रो समाजका पुरुषहरू छाडा हुँदा रहेछन्, जसका कारण महिलाहरू घरबाहिर असुरक्षित रहेछन् । जङ्गली जनावरका नजरमा त मानिस महिला, पुरुष होस् वा अन्य, त्यो सिकार मात्र ठहर्छ, स्त्री विशेषको सुरक्षाको विषयले पुरुषहरूको आक्रामकता पुष्टि हुन्छ । महिला स्वतन्त्रता र सम्मानका लागि यो र अन्य यस्ता विषय पनि बहसमा आउनुपर्दछ । 

विवाह भएर पतिको घरलाई नै आफ्नो घर बनाएर बसेका दिदीबहिनीहरूलाई माइती घरमा सम्मानसाथ ल्याएर—बोलाएर खानपान गराउने विषय हाम्रो सामाजिक परम्परा हो । यसरी खुवाइने, खानुलाई दर खाने भनिन्छ । सामान्यतया ‘दर’ भनेको मूल्य हो, मूल्य भनेको महत्त्व र मान हो । यसरी हेर्दा दर खाने भनेको गतिलो मूल्यवान् वस्तुहरू÷पदार्थहरू खाने भनिएको हो, दर खानु भनेको महत्त्वपूर्ण र सम्मानयुक्त खवाइ हो । कृषि परम्परामा आधारित समाज रहेको अवस्थाका कारण बर्खे खेती लगाइ सकिएको बेला, बर्खामा फल्ने तरकारी–फलफूलको प्रचुरता हुने, हरियो घाँस—पातका कारण दुहुना पशुहरूले धेरै दूध दिने हुँदा दूध–दही–घिउको कमी नहुने समय पारेर, एकरूपताका लागि तिथि मिति तोकेर दिदी–बहिनी, छोरीहरूलाई घरमा (उनीहरूको माइतमा) भेला पारेर मूल्यवान्, गतिला, महत्त्वपूर्ण, दरिला (पौष्टिक) खानेकुराहरू खाने, गाउने, नाच्ने, पिर पोख्ने, देवी–देवता, ऋषि  (पुर्खाहरू)को सम्मान, सम्झना(पूजा) गर्ने सामाजिक परम्परा बसालिएको तीज दर खाएर सुरु गर्ने र ऋषि पञ्चमीमा अरुन्धतीसहित सप्तर्षिको पूजा गरेपछि सकिने हो ।  

यो सनातन सांस्कृतिक परम्परा हो । यसमा धर्म शास्त्रको मात्र भूमिका देखिँदैन । परम्परा, प्रकृति, धर्म, संस्कृति, अध्यात्म सबैको मिश्रण छ, तर यिनलाई एकसाथ गुजुल्टाएर बुझ्दा सत्य बोध हुँदैन । सत्य बोध नहुँदा सत्य नै दोषी देखिन्छ । यो नै अन्धविश्वास हो । तै पनि काम नबुझीकन लहै लहैमा लागेर गरेपछि अन्धविश्वास हुन्छ । 

माथि उल्लेख गरिएका शास्त्रीय वचनहरूलाई एकाङ्गी पाराले व्याख्या गर्दा निस्कने निष्कर्ष एक प्रकारको हुन सक्छ भने यसलाई द्वन्द्वात्मक दृष्टिले हेर्दा निष्कर्ष फरक निस्कन पनि सक्दछ । यसरी हेर्दा साह्रै महत्त्वपूर्ण व्यक्ति वा वस्तुको सुरक्षाको खास ख्याल गरिने कुरा हामीले देख्दै आएका छौँ । महिला भनेको मातृशक्ति हो, आद्यशक्ति हो । राजा महाराजा र अन्य विशिष्ट व्यक्ति राम्रै सुरक्षा घेरामा रहने गरेको यथार्थ समेतलाई हेर्दा सुरक्षाको विषय ‘न स्त्री स्वातन्त्य्रमर्हति’को अर्थ सुरक्षा घेराबाट बाहिर नहुने भनेको पनि हुन सक्दछ । महिला एक्लै छैनन्, एक्लै हुँदैनन्, एक्लै पारिनु हुँदैन भन्ने अर्थ पनि लगाउन सकिन्छ । सर्वसाधारणले अरू कसैको सुरक्षा सुविधा नपाइने भएको हुनाले यस्तो विशेष प्रावधान रहेको पनि हुन सक्दछ । जहाँसम्म आश्रित हुने विषय छ, यो महिलाका विषयमा मात्र सीमित छैन, ‘अनाश्रया नशोभन्ते पण्डिताः वनिता लता अर्थात् पण्डित, स्त्री र लहरा आश्रयविना सुहाउँदैनन्, यिनीहरूलाई कसैको सहारा अनिवार्य हुन्छ’ पण्डितलाई पनि लहरासरह उल्लेख गरिएको छ ।

यति बेलाका मानिस त्यति बेला कोही पनि थिएनौँ । त्यसैले त्यति बेलाको प्रथा परम्परा हाम्रो अनुमान र विश्लेषणको मात्र विषय हो । त्यसैले यस्ता विषयलाई एकोहोरो हेरिनु हुँदैन । शास्त्रको व्याख्या र परम्पराको अवलम्बन समाज अनुकूल गर्नुपर्दछ । विगतमा यस्तो शक्ति अनुकूल हुने गरेको छ । शास्त्रीय प्रावधान र कथन पनि एकै प्रकारको कहाँ छ र ? शास्त्रकै अर्को पङ्क्ति हेर्दा स्त्रीद्वेषी भएको देखिँदैन, ‘यत्र नार्यस्तु पूज्यन्ते रमनते तत्र देवता: अर्थात् जहाँ नारीको पूजा(उच्च सम्मान) हुन्छ, त्यहाँ देवता खुसी हुन्छन्’ भनिएबाट नारीहरूको सुरक्षाको विषय सम्मानसँग नै जोडिएको हुनुपर्दछ । कुनै पनि एउटा सन्दर्भमा एकसाथ दुई वटा कुरा एकसाथ आउँछन् भने सकारात्मक रोज्नु र त्यसमाथि दाबी गर्नु बुद्धिमानी हो । ऐतिहासिक र पौराणिक विषयमा गरिने विश्लेषण अनुमानका आधारमा गरिने विश्लेषण हो । अनुमान गर्दा, सम्भावनाको आँकलन गर्दा, परिकल्पना गर्दा नकारात्मक नै हुनुपर्छ भन्ने के छ ? बरु खोइ आजका महिलाहरूले त्यस्तो सुरक्षा पाएको ? किन आज महिलाहरू असुरक्षित र सन्त्रस्त भएर हिँड्नु परेको होला ? सामन्तवादी समाजमा अरूलाई कमजोर बनाउने र उनीहरूलाई शोषण गर्ने विषय सामान्यजस्तो थियो । यस्तो शोषण महिला पुरुष जोसुकैलाई हुन्थ्यो । त्यसमा महिलाहरू बढी नै शोषित हुन्थे । त्यसको अवशेष अहिले पनि छ । 

तीज एउटा खास घटना विशेषको एउटा सानो कथा हो । त्यो कथा पौराणिक कथा हो । तर, हाम्रो समाज पौराणिक होइन । त्यसदेखि यता अनेकौँ परिवर्तनहरू भए । ती परिवर्तनहरूमा जोगिनुपर्ने फ्याँकिए होलान्, फ्याँकिनुपर्ने रहे होलान् । तीजको त्यो पौराणिक कथाले शोषणको सन्देश दिँदैन, बरु विद्रोहको सफलताको सन्देश दिन्छ । 

तीजलाई ‘हरितालिका’ भनिन्छ । हरितालिका शब्द यसरी बनको छ: हरिता+आलिका = हरितालिका । यसको अर्थ आलिका (सँगिनीहरू)द्वारा हरण गरिएकी वा लुकाइएकी भन्ने हुन्छ । पौराणिक कथाअनुसार पार्वतीले शिवलाई मन पराएकी थिइन्, उनका बुवा भने पार्वतीको विवाह परं वैभवशाली विष्णुसँग गरिदिन चाहन्थे । पार्वतीले नचाहेका विष्णुसँग विवाह हुनबाट जोगाउन पार्वतीका साथीहरूले उनलाई लुकाएर राखे । उनले शिवसँग नै विवाह गर्ने प्रतिबद्धतासहित कुनै ठाउँमा लुकेर बसिन् । यो उनको दृढ अठोट थियो । यही नै सङ्कल्प र व्रत थियो । शिवलाई यस प्रकारको सन्देश पुगिरह्यो ।  अन्ततः उनको विवाह शिवसँग भयो । पौराणिक प्रसङ्ग यही हो र यत्ति हो । पार्वतीले साथीहरूको सहयोगमा मनले ताके–चिताएको प्रतिफल प्राप्त गरिन् । प्रतिफल यही हो । यसलाई पार्वती र उनका साथीहरूले गरेको एक प्रकारको विद्रोह सफल भएको रूपमा लिन सकिन्छ । शास्त्रीय दृष्टिले हेर्दा यही सफलताको उत्सव हो— तीजको खानपान, नाचगान आदि ! सङ्घर्ष र विजयको सन्देश सबैका लागि अनुकरणीय भयो । यही सन्देशलाई उत्सवको परम्पराको रूपमा अघि बढाइएको हो । शास्त्री—पौराणिक तीज यही हो । 

के यसमा विभेद छ ? यसमा विकृति छ ? के यसले समाजलाई गलत सन्देश दिएको छ ? यसले महिनौँ हरियो सारी लगाएर, हातभरि मेहन्दी रङाएर बस्न अह्राएको छ ? यस्तो तीजले कुन अर्थमा अन्धविश्वास बढाउँछ ? खोजेको, रोजेको जीवनसाथी प्राप्त गर्न पार्वतीको सार्थक प्रतिबद्धता नै व्रत हो, सङ्कल्प हो । यसमा पार्वतीका सहेलीहरूले साथ दिए, लुकाएर राखे, शिव—पार्वतीबीच सन्देश सम्प्रेषण गरे, भेट गराए । यसले सामूहिकताको, सरसहयोगको सन्देश छ । सफलतामा हुने नाचगान, खानपान, भेटघाट, उत्सवलाई भव्य, सभ्य भएर मनाउने र सकारात्मक सन्देशहरू दिने गर्न सकिन्छ । यसलाई अन्तर्जातीय विवाहमा मात्र सीमित राख्न आवश्यक छैन । यति बेलाका महिलाका ज्वलन्त मुद्दाहरूसँग जोडेर तीज मनाउन सकिन्छ । हामीले समाज, संस्कृति, परम्परा आदिलाई हेर्ने व्यावहारिक दृष्टिकोणबारे कवि जगन्नाथ गुरागाईँको रचनाका यी पङ्क्तिहरू सान्दर्भिक देखिन्छन्—

दोषैलाई गराई सद्गुण सखे बोल्छन् गतिला जन । 
अर्काका गुणलाई दूषित गरी फैलाउँछन् दुर्जन । 
नूनीलो जल मेघले लगि मिठो पारेर वर्षाउँछन् । 
​​​​​​​आलो दूध पिएर सर्पहरूले साक्षात् विषै पार्दछन् ।।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ३७ बजे