विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ट्रक धादिङको जरेखेतमा दुर्घटना

मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । 

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीसहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

प्रनाउ रिमाललले भन्नुभयो,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ५८ बजे