मोतीराम भट्टको जीवनी, व्यक्तित्व र कृतित्व

              
काठमाडौँको भोसीको टोलमा विश्वामित्र गोत्रीय ब्राह्मण परिवारभित्र दातारामको पनाति र दयाराम(१८९८ भोसीको टोल– १९५९) का छोराको रूपमा १९२३ साल भाद्र कृष्ण औँसीका दिन पूर्व फाल्गुनी नक्षत्रमा मोतीराम भट्टको जन्म भएको थियो । उनकी आमाको नाम रिपुमर्दिनी (१९०० ढोका टोल– १९८९)  हो । उनी विजयराज गुरुज्यूकी नातिनी र राम शर्मा पाण्डेकी छोरी थिइन् । मोतिरामका एक दाजु र एक दिदीको बाल्यावस्थामा मृत्यु भएकोले यिनलाई बचाउन तान्त्रिक एवं कर्मकाण्डीय यत्नहरू गरिएका थिए । निक्खुनलाई मात्र दैवले चुँडालेर लान सक्ने, तर शारीरिक दोषी भए छाड्ने धारणा अनुसार यिनको नाकको दाहिने पोरो छेँडिदिएका थिए । त्यसैले यिनलाई सँगीहरू छोरी भनेर जिस्क्याउँथे तापनि नरिसाएर हाँस्ने उनको बानी थियो । यिनी पुलपुलमै हुर्केका थिए तापनि शान्त स्वभावका थिए । 

उनकी बहिनी १९२६ मा जन्मेकी थिइन् । मोतीराम पाँच वर्षका हुँदा यिनका पिता दयाराम आफ्नी माइली आमाको स्याहार सुसार गर्न काशी गए । वर्ष दिन पुग्दासम्म पति नफर्केपछि रिपुमर्दिनी पनि छ वर्षका मोतीराम  र तीन वर्षकी छोरी साथमा लिएर १९२८ सालमा काशी गइन् । काशीमै मोतीरामको ८ वर्षको उमेरमा व्रतबन्ध भयो । केही समय उनले संस्कृत पढे । पछि उनलाई दयारामले काशीमै फारसी स्कुलमा हालिदिए । उनले फारसीका सेरहरूबाट रस लिनथाले ।
काशीमा पन्नालाल भन्ने सितारवादकसँग मोतीरामको बसाउठी भयो । उनले सितार बजाउन र गाना गाउन सिके । उनको स्वर मसिनो थियो । उनले करिब ४०० सेरहरूको रचना गरी गाए । उनको विवाहको कुरा उठेकोले आमा र बहिनी सहित १९३७ सालमा काठमाडौँ फर्के । वि.सं. १९३७ मा १५ वर्षको कलिलो उमेरमै उनको बिहे भयो । त्यसपछि उनी काठमाडौँमै संस्कृत र अङ्ग्रेजी पढ्न थाले । 

मोतीराम एकदिन बागमतीका किनारतिर गुनगुनाउँदै बसेको बेला एक हुल मानिस आएर बसी रसिया गाउन थालेछन् । शृङ्गार रसका लोकगीतहरूले उनलाई प्रभाव पारिछाडे । अनुप्रास चिटिक्क मिलेका भए पनि छन्द उति मिलेका थिएनन् । त्यसैले गण सङ्केतसहित छन्द मिलाएर मातृभाषा नेपालीमा रचना गर्ने उनमा इच्छा जाग्यो ।  त्यतिखेरसम्म लोकभाकाहरू गाइन्थे मात्र, रचना गर्ने चलन थिएन ।  काशीतिर बस्दा नेपाली भाषाको अभ्यास हुन पाएको थिएन । त्यत्तिकैमा मोतिरामका छिमेकी साथी खड्गदत्त पाण्डेको बिहेमा उनलाई लोकन्दो बस्ने मौका प¥यो । दुलाहाको साथमा बस्नुपर्दा जन्तीहरू सिलोक भन्दै रातभर जुहारी खेलेको सुन्न पाए । जुहारीमा पुराना र भानुभक्तको रामायणका श्लोकहरू पनि थिए । मोतीरामलाई बडो रस  प¥यो । उनले भानुभक्तको रामायणको खोजी गर्न थाले । खोज्दै जाँदा बालकाण्ड सम्म फेला पर्यो । यतिकैमा उनलाई बनारसबाट साथीहरू र पिताको चिठी आयो । उनी परिवारसहित बनारस गए । बनारसमा मोतीरामले अंग्रेजी पढ्न थाले । उनलाई मातृभाषाप्रति गहिरो प्रेम र रुचि जागेर आएको हुनाले त्यहाँ नेपालीहरूलाई जम्मा गरी कविता लेख्न र वाचनको अभ्यास गर्न–गराउन थाले । ‘कविता गर्न सरजाम’ भन्ने छ श्लोकी पद्य बनाएर साथीहरूलाई बाँडे । मोतीराम, पद्मविलास पन्त, काशीनाथ, रङ्गनाथ, चेत सिंह, तेजबहादुर राना आदि जम्मा भई समस्यापूर्तिको तरिकाद्वारा कविताको अभ्यास गर्न थाले । भानुभक्तको श्लोक रचनाका पदविन्यास, सरल तथा सरस भावहरूले उनलाई गहिरो प्रभाव पारेका थिए । 

मोतीरामले साथीहरूको उत्साह बढाउन ‘मनोद्वेग प्रवाह’ नामक कविता सङ्ग्र्रह बनाए । त्यतिबेलासम्म नेपाली भाषाको कुनै श्लोक पनि छापिएको थिएन  । तसर्थ उनले काशीकै आफ्नो साथी रामकृष्ण बर्मालाई छापाखाना खोल्न घच्घच्याए । उनको पनि इच्छा भएकाले दुवैको कुरो मिल्यो । ‘भारत जीवन’ नामको छापाखाना खोली मोतीराम नै त्यसको म्यानेजर भए । भानुभक्तको बालकाण्ड रामायणलाई सर्वप्रथम छपाई नेपाली भाषाको पहिलो प्रकाशित पुस्तकको रूपमा बेलायतको पुस्तकालयलाई पनि पठाइदिए । 

बालकाण्ड रामायण फटाफट बिक्री भई छिटै सिद्धियो । उनको हौसला बढ्दै गयो । उनले क्रमशः भानुभक्त आचार्यको रामायणका सातै काण्ड बटुली छपाउन सफल भए । त्यसको पनि राम्रै बिक्री भयो । त्यसपछि उनले ‘गोर्खा भारत जीवन’ भन्ने प्रथम नेपाली भाषाको अखबार निकाल्न थाले । ‘गजेन्द्र मोक्ष’ को पद्यानुवाद गरी आफ्नो प्रथम कृतिको रूपमा १९४४ सालमा छपाए । उपदेशमूलक  ‘पञ्चक प्रपञ्च’ नामको हास्यरस प्रधान पुस्तक पनि सोही सालमा निकाले । त्यसपछि क्रमशः ‘स्वप्न प्रकाश’,  ‘शकूनौती सङ्ग्रह’ र ‘गफास्टक’ प्रकाशन गरे । यी सामग्रीहरू राम्रोसित बिके र नेपाली भाषाको प्रचार –प्रसार बढ्दै गयो ।

त्यसपछि मोतिराम भट्टले यी सामग्रीहरू बनाउँदै र छाप्दै गरे : 

१) जगतनारायणलाई तेजबहादुर रानासहित गोरक्षा खातिर १९४१ माघ २ मा लेखेर छपाई पठाएको पद्यमय ३२ श्लोकी पत्र । २) वि. १९४१ मा उनका काशीवाला मित्र एवं  हिन्दीका कवि हरिश्चन्द्र खत्रीको आकस्मिक निधन हुँदा वियोगमा बनाएको चार श्लोकी कविता । ३) पाँच श्लोकी गंगास्तुति । ४)  शिवप्रसाद नामको चकचके केटो डुबुल्की मार्दा ढुङ्गामा ठोकिई टुटुल्को निस्केको देखेर रचेको एक श्लोक । ५) हुक्का गड्गडाएर तमाखु  खाँदा रचेको पाँच श्लोकी पद्य  ६)  कालो मेघ आउँदा रचिएको एक श्लोक । ७) चौध श्लोकको भ्रमर गीत, १९४३ सालमा । ८) कवि समूह वर्णनम् ः (क) भानुभक्त कवि वर्णनम् १२ श्लोकको, १९४३ पुसमा र (ख) कविशिरोमणि राजीवलोचन वर्णनम्, १९४३ पुस ६ मा । (ग) कवि पद्मविलास वर्णनम् पाँच श्लोकी, १९४३ पुस ६ । 

मोतीराम र उनको मण्डलीले काशीमा भाषा, साहित्य र पत्रकारिता विषयमा निरन्तर काम गर्दै आएको थाहा पाएर नेपालका राजगुरु लोकराज पण्डितले १९४४ सालमा काठमाडौँ झिकाए । मोतीराम आफ्नी आमा, पत्नी र बहिनी सहित आई गुरुज्यूकै तहबिल घरमा बसे । अब उनले पुस्तकालय खोलेर मात्र वाङ्मयको प्रचार प्रसार गर्न सकिने सोची नरदेव पाण्डेका दाजु कृष्णदेव पाण्डेसित मिलेर मोती–कृष्ण कम्पनी नामको पुस्तक दुकान ठहिटीमा १९४५ सालमा खोले । त्यस बेलासम्ममा नेपालमा पुस्तक पसल समेत थिएनन् । तसर्थ मोती–कृष्ण कम्पनी बडो आकर्षक बन्न गयो । पुस्तकको खुबै किनबेच हुन थाल्यो । 

काठमाडौँमा मोतीरामले नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदि रहेको मण्डली बनाएर नेपाली भाषामा कविता लेख्ने र वाचन गर्ने अभ्यास गराउन थाले । ‘ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी’ जस्ता समस्या दिई कविताको अभ्यास गराइन्थ्यो । मोतीरामले सबभन्दा पहिले शृङ्गार रसमा कविता गर्न बेस हुन्छ, यसले चाँडै नै  हृदय पगाल्छ, त्यसैले समस्यापूर्तिको अभ्यास गर्नुपर्छ भन्थे । १०० वटा  समस्याहरू जम्मा गरी ‘समस्या शतक’ ग्रन्थ तयार गर्ने विचार थियो रे उनको । तर पसलमा मात्र बस्न कहाँ पाउनू ? बोलाएका सबै  इष्टमित्रकहाँ पुग्दा पनि धेरै समय जान्थ्यो । समस्या शतकका केवल २४ श्लोक मात्र बन्न पाए  । समस्या शतकका २४ श्लोकमध्ये मोतीरामका ८, गोपीनाथका ७, लक्ष्मीदत्त पन्तका ५ र नरदेवका ३ हुन् भने भोजराजको एउटा मात्र  हो । 

यिनका साथै निम्नलिखित सामग्रीहरू पनि तयार गरे :
अनुप्रास मञ्जरी पुस्तिका र शकुन्तला नाटिका (अनुवाद, देवशमशेरको दरबारभित्रै रहेका  वा प्रकाशित हुन नपाएका) । पश्चिम ३ नम्बर दोर्दोरका तीर्थराज पाण्डेको ‘माधवानल कामकबन्डला’लाई हेरिसकेपछि बनाएको चार श्लोकी वर्णन । ‘वसन्त पञ्चमी वर्णनम्’ नौ श्लोकी पद्य १९४५ माघ शुक्ल पञ्चमीका दिन विष्णुमतीदेखि सरस्वती थानसम्म पुग्न फूलमालाले भरिएका ढकिया र किस्ती हातमा लिएका युवतीहरूको भिडले दुई घण्टाको पट्यार समय लागेको स्मृतिमा रचित । माघेजात्रा वर्णन, दुई श्लोक,  वसन्त पञ्चमीको आठ दिनपछि लेख्दा लेख्दै कोही मित्र आउनाले अपुरो रहेको । बुद्धिबल प्रकाशिका, साढे तीन श्लोकको मात्र अपूर्ण । रसचन्द्रोदय वर्णन, ३६ श्लोकी, १९४६ माघे सङ्क्रान्तिमा,  असनमा बस्ने सुन्दरीलाई साथीले देखाउँदा ।

पत्र प्रकाशावली :
(क) १९४४ चैत्र ९ मा मोतीरामले राइनास बस्ने पद्म विलाशलाई पठाएको तीन श्लोकी चिठ्ठी । (ख) विसं १९४५ पौष १२ गते आइतबार काठमाडौंबाट मोतीरामले पद्मविलाशलाई नै पठाएको १३ श्लोकी जवाफी चिठी । (ग) उषा चरित्र १०३ श्लोकी, छापिएको । (घ) पद्मावती अपूर्ण नाटक, पछि पत्ता नलागेको । (ङ) प्रह्लाद भक्तिकथा (भक्ति रसकाव्य) ।
मोतीराम भट्ट १९४७ सालमा दरबार स्कुलमा भर्ना भई सेकेन्ड क्लासमा पढ्थे । व्यस्त भएर पनि भानुभक्तका बारेमा जानकारी बटुल्न आतुर थिए । भानुभक्त काठमाडौँ बस्दा  सुब्बा धर्मदत्तकहाँ डेरा गरी बस्थे रे भन्ने सुनेपछि त्यहाँ पुगेर सम्पर्क गरे । त्यहाँ उनको भानुभक्तका भतिजा रामदत्त आचार्यसँग भेट भयो । रामदत्तको सहयोगसमेत लिएर उनले भानुको जीवनी तयार गरी १९४८ मा छापे । त्यसै सालमा भानुभक्तका छोरा रमानाथ आचार्यसित भेट भयो । रमानाथले “श्री भानुभक्त कविपुत्र म हुँ उनैको,….क्या गर्नु छैन घरमा पनि खान दाना, भाउ बस्यो असनमा पनि तीन माना, यैबीचमा सलहको सब फौज आई, खेतीहरू सकिदियो सब छुट्टी खाई……। यो अढाई श्लोकी पद्यमय उत्तर दिएकामा मोतीराम खुसी भई सह्रनी गरे । वीरशमशेरबाट रु २०० बकस दिलाइ दिए । रमानाथ पनि मोतीरामको प्रशंसा गर्दै घर फर्के ।
विसं १९४८ मा बेलायतबाट लर्ड रबर्ट आई दरबार स्कुलको पढाइ हेर्न खोजेछन् । चन्द्रशमशेरले पहिलो क्लासको पहिलो विद्यार्थी भनी मोतीलाई बताइ दिए । लर्ड खुसी भई मेच दिएर बस्न भने । तर मोतीरामले मेच हातले समाते, बसेनन् । चन्द्र शमशेरले बस्न भनेपछि मात्र बसे । लर्डले प्रशंसा गरी मोतीलाई १५ थान पुस्तकहरू  उपहार दिएका थिए ।
मोतीराम र उनको मण्डली एक दिन दक्षिणकाली दर्शन गर्न हिडे । त्यो बेलुका फर्पिङमा वास बसी भोलिपल्ट बिहान दर्शन र पूजा गरे । भक्तहरूको भीड देखेर मोतीले ६२ श्लोकी जगदम्बाको स्तुति लेखी चढाए । बलि पूजा नगर्ने भट्ट हुनाले त्यसभन्दा पहिले उनी गएका थिएनन् । त्यसबेला पनि साथी–सङ्गाती हुनाले मात्र गएका थिए । 

वि. १९४८ मा मोतीराम कलकत्ता गई इन्ट्रेन्स(प्रवेशिका वा म्याट्रिक) को जाँच दिए । त्यसपछि नेपाल आईकन  एफ्.ए. पढ्न थाले । तिनैताका यिनले प्रियदर्शिका भन्ने नाटक पनि बनाए । बेफुर्सदीले त्यसका गीतहरू बनाउन बाँकी थियो । १९४९ मा उनलाई पढ्न कलकत्ता जानुपर्यो । मोतीकृष्ण कम्पनीको कारोबार उनको मण्डलीले लियो । १९५० मा जाँच दिएर फर्के तर सफल नभएको कागत आएकाले चिन्ता गर्दै उनी फेरि १९५१ कलकत्ता गए । वि.सं. १९५२ मा जाँच दिनुभन्दा १५ दिन पहिलेदेखि विषम ज्वरो आएकाले जाँच दिन पाएनन् । त्यही सालको फागुनमा बिरामी अवस्थामै नेपाल फर्के । यहाँ पनि सन्चो भएन । १९५२ सालदेखि नै कलम रोकियो । खाडिँदै गएकाले आखिर १९५३ भाद्र कृष्ण त्रयोदशीका दिन उनलाई पशुपति–आर्यघाट लगियो । तीन दिनपछि भाद्र कृष्ण औँसीमा उनको जन्मदिन पर्थ्यो। त्यहीँ उनको जन्मोत्सव मनाइयो । आमा, पत्नी र विधवा बहिनीका अगाडि आफ्नो मृत्यु आइपुगेको, सन्तान नभए पनि आफ्ना ग्रन्थहरू नै सन्तति भएको र आफ्ना पुस्तकहरू कुनै पुस्तकालयमा राखिदिए राम्रो हुने भन्दै अन्तिम यो कविता वाचन गरे– ‘पर्छे यो कविता शरण सकलमा पालन गरून् प्रीतिले ।’ 

त्यसपछि रामनाम जप्दै उनको वाणी बन्द भयो र इहलीला समाप्त भयो । उनका पुस्तकहरू उनकै इच्छाअनुसार सुब्बा मरिचीमान सिंहलाई पुस्तकालयमा राख्न जिम्मा लगाइयो । मोतिरामको अल्पायुमा मृत्यु हुँदा उनका पिता दयाराम काशीमा थिए । रिपुमर्दिनीले विरक्त पतिलाई काठमाडौँमा झिकाइन् । वंशोच्छेदन हुने भयो भन्दै मोतीराम बितेको दुई वर्षपछि १९५५ मा दयाकुमारी नाम गरेकी कन्यासित उनले दोस्रो विवाह गरिदिइन् । दयाराम कान्छी पत्नी लिएर काशी फर्के । उहीँ १९५९ साल मंसिरमा स्व. मोतीरामका भाइ रामेश्वर जन्मे । तर फेरि पारिवारिक शोक थपियो । रामेश्वरको भातख्वाइ वा पास्नी भएको एक सातापछि दयाराम बिते । काजक्रियापछि आमा रिपुमर्दिनीले दयाकुमारी र बालक रामेश्वरलाई काठमाडौँ झिकाएर सँगै राखिन् । उमेर पुगेपछि व्रतबन्ध र बिहे गराई नाति समेतको मुख देखेर रिपुमर्दिनी १९८९ असोजमा बितिन् ।

मोतीराम भट्टको योगदान (बुँदागत रूपमा) :
१) नेपाली साहित्यको शृङ्गारिक धाराका सर्जक तथा प्रचारक
२) भक्तिरस र राष्ट्रिय भावधारालाई पनि प्रोत्साहन
३) कवि मण्डली खडा गरेर समस्यापूर्ति जस्ता काव्य सिर्जनाको सामूहिक अभ्यास
४) स्वयं स्रष्टा, द्रष्टा र प्रेरणाका निरन्तर स्रोत
५) भानुभक्त जस्ता अग्रज कविको जीवनी र कृतिहरूको खोजी तथा प्रकाशन
६) छापाखाना र पुस्तक पसलको स्थापना गरी वाङ्मयका सामग्रीको उत्पादन, वितरण र प्रचार–प्रसार
७) नेपाली भाषामा सर्वप्रथम जीवनी परक समालोचनाको थालनी
८) संस्कृत नाटकहरूको उल्था, नेपाली भाषामा नाटक लेख्न र खेल्न सकिने काम गरी देखाएका
९) अल्पायुमै भए पनि नेपाली वाङ्मयको चेतना फैलाउने श्रेय
१०) नेपाली भाषाको साथै संस्कृत, अङ्ग्रेजी, हिन्दी, उर्दु, फारसी र बङ्गाली भाषामा पनि रचना गर्नसक्ने
११) गजललाई नेपाली भाषामा भित्र्याउने श्रेय
१२)  नाटक, कविता, जीवनी, काव्य, मुक्तक, गजल आदि लेखन
१३) कवि लक्ष्मीदत्त पन्तले भनेझैँ ‘मोतीराम भनी सुहृद कवि हुन् यो मित्रको मण्डली, शोभा पाइ रहन्छ चन्द्र जसरी राखेर तारावली ।’
मोतिराम भट्टद्वारा रचित एवं प्रकाशित पुस्तक–पुस्तिकाहरू :
१.गजेन्द्र मोक्ष १९४४
२. पञ्चक प्रपञ्च १९४४
३. तीजको कथा
४. स्वप्न प्रकाश १९४९
५. शकुनौती
६. गफास्टक
७. प्रह्लाद भक्तिकथा १९५१
८. उषा चरित्र १९५१
९. सङ्गीत रसचन्द्रोदय १९५१
१०. नीति दर्पण
११. कवि भानुभक्त आचार्यको जीवन चरित्र १९४८
भारत जीवन यन्त्रालय, काशी
१२.  उखानको बखान
१३. कमल–भ्रमर संवाद
१४. पीकदूत
१५. मनोद्वेग प्रवाह
यी बाहेक उनले रचेका र अनुवाद गरेका अभिज्ञान शाकुन्तलको उल्था, शकुन्तला, प्रिय दर्शिका, पद्मावती, हुस्न अफरोज, आराम दिल, गुलशनोवर, काशीराज चन्द्रसेन, बालाजी वर्णन आदि नाटक र पद्य रचनाहरु छापिन पाएनन् । बरु उनले भानुभक्तकृत भाषा रामायण १९४४, रामगीता भाषा १९४७, बधुशिक्षा १९४८ आदिको सम्पादन र प्रकाशन समेत गर्न भ्याएका थिए ।
स्रोत सामग्रीः
आचार्य, बाबुराम (२००३) पुराना कवि र कविता, काठमाडौँ ः नेपाली भाषा प्रकाशिनी समिति
आचार्य, राजेन्द्रकुमार (२०७१) मोतीराम भट्टको जीवनी, दैनिक पत्र, बुटवल बुटवल मिडिया प्रकाशन
कौन्डिन्यायन, आचार्य शिवराज (२०७०) पुस, आदिकवि भानुभक्त आचार्य, गुल्मी ः हाम्रो पुरूषार्थ भानुविशेष
पराजुली, डा. मुरारि (२०६७) मुक्तक मीमांसा, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन
पाण्डे, नरदेव (१९९५) कविवर मोतीराम भट्टको जीवनी (दोस्रो र तेस्रो संस्करण, क्रमशः २०३७ र २०५०), ललितपुरः साझा प्रकाशन
पौड्याल, रामहरि (२०४९) भानुदेखि पश्रितसम्म काठमाडौँः एकता प्रकाशन
प्रसाईं, गणेशबहादुर (२०४४) सुवानन्द दासदेखि राजीवलोचनसम्म, ललितपुरः साझा प्रकाशन
बन्धु, चूडामणि र अन्य (२०६०) नेपाली साहित्यको इतिहास प्रथमखण्ड, काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान
सुवेदी, राजेन्द्र (२०४३) स्रष्टा–सृष्टि, द्रष्टा–दृष्टि, ललितपुरः स

(लेखक लुम्बिनी वाङ्मय प्रतिष्ठानको संस्थापक महासचिव हुनुहुन्छ ।)

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : २४ बजे