फोगाटको बलात्कारपछि हत्या भएको दाबी, आरोपित पक्राउ

भारत – भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

फोगाटको शव परीक्षण (पोष्टमोर्टम)का क्रममा उहाँको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ । 

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि हुनुहुन्थ्यो । उत्तर भारतस्थित हरियाणा राज्यकी उहाँ भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य बिधानसभामा पराजित उम्मेदवार हुनुहुन्थ्यो । 

प्रहरीका अनुसार सन्दिग्ध ती दुबै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ । 

पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उहाँलाई सँगै रहेका दुईमध्ये एक जनाले जवर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ । 

पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी हुनुहुन्थ्यो । प्रारम्भिक रिपोर्टहरूमा उहाँको हृदयाघातका कारण निधन भएको बताइएको थियो ।

तर उहाँको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाट कै सहयोगीहरूले उहाँको हत्या गरेको आरोप लगाएका थिए ।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाउनुभएको छ । 

उहाँले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गर्नुभयो । 

ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए ।

त्यस्तै उहाँले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाउनुभएको छ । 

रासस÷एएनआई

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : १३ बजे