दशैंको मुखमा मेयर बालेनको निर्णयले लाखौं लगानी डुबेको भन्दै व्यवसायीहरु आक्रोशित

​​​​​​​काठमाडौँ – नेपालीहरुको महान चाड दशैंकै मुखमा काठमाडौं महानगरपालिकाको निर्णयले लाखौं लगानी डुबेको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मापदण्डविपरीतका संरचनामाथि कारवाही गर्ने क्रममा व्यवसायीहरूको लाखौं लगानी डुबेको भन्दै व्यवसायी आक्रोशित भएका हुन् । महानगरपालिका र मेयर बालेन्द्र साहले सामानसमेत निकाल्न नदिएको र व्यवसायमा क्षति पुगेको भन्दै गुनासो गरेका छन् ।

नयाँ बानेश्वर व्यापार-व्यवसायी संघले एक विज्ञप्ति जारी गर्दै कारवाही गर्ने क्रममा व्यवसायीहरूलाई प्रक्रियागत ढंगबाट उचित क्षतिपूर्ति तथा व्यवसाय स्थानान्तरणको लागि पर्याप्त समय उपलब्ध गराइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ ।

संघले काठमाडौं महानगरको साउन ३ गतेको सूचना तथा निर्णयलाई विचार गर्दा ‘सरकार पनि यति कठोर हुन्छ र ?’ भन्ने महसुस व्यवसायीहरूलाई भएको बताएको छ ।

संघले व्यवसायलाई स्थानान्तरण गर्दा व्यवसायको प्रकृति, लागत र अन्य लगानीको अध्ययन तथा आवश्यक क्षतिपूर्तिको लागि निजी क्षेत्रसहितको एक उच्चस्तरीय समितिको गठन गर्न विज्ञप्ति मार्फत माग गरेको छ । उच्चस्तरीय समितिको प्रतिवेदनका आधारमा पीडित व्यवसायीहरूलाई राहतस्वरूप क्षतिपूर्तिको व्यवस्थाको लागि पहल गरिदिन आग्रह गरेको छ ।

घरधनीले समयमा नै व्यवसायीहरूलाई सूचना नदिएको तथा दिएता पनि अस्पष्टरूपमा जानकारी भएको कारणले यो किसिमको भयावहको अवस्था सिर्जना भएको हो संघले जनाएको छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १ : ३० बजे