स्थानीय स्तरमा विकासका सम्भाव्यताहरू कमी भएकै कारण लाखौँको संख्यामा नेपाली युवाहरू बिदेसिन बाध्य छन् । यो बाध्यता भारत, फिलिपिन्स, मेक्सिको आदि देशका युवाहरूले धेरै वर्षअघि अनुभूति गरिसकेका थिए । विदेशबाट फर्कंदां उनीहरूले पैसा मात्र ल्याएनन्, नयाँ सीप समेत ल्याए जसका कारण ती राष्ट्रहरूमा विकासका केही आयामहरू थपिन पुगे । हामीले पनि विकासको यो एउटा नयाँ सम्भावना देख्न थालिसकेका छौँ । विप्रेषण (रेमिटेन्स) बाट परिवारको खर्च धान्ने मात्र होइन, फर्केर आएपछि युवाहरूले नयाँ रोजगारको सिर्जना गरेका छन् ।
देश विकासको अर्को सम्भावना सहकारी तथा वन उपभोक्ता जस्ता समूहहरूको उचित परिचालन हुन सक्छ । यस्ता संस्थाहरूको बौद्धिक तथा आर्थिक सक्षमता बढेको छ । सम्बद्ध सदस्यहरू चेतनशील र उद्यमशील छन् । उनीहरूले धेरै किसिमका तालिमहरू लिइसकेका छन् । यस्ता संस्थाहरूलाई अब प्रविधिसँग जोड्नु आवश्यक छ । साना, सजिला र प्रभावकारी प्रविधिको प्रयोगबाट यस्ता संस्थाहरूले आफ्नो उत्पादकत्व वृद्धि गर्ने खालका कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्नु आवश्यक छ ।
कुनै एउटा विषयलाई ध्यान दिएर मात्र विकास हुन सक्दैन । यो एउटा सर्वाङ्गीण विषयवस्तुहरू समेट्ने प्रक्रिया हो । कलाम (२०१८) को विचारमा विकासका निम्ति पाँच मुख्य उपायहरूमा कृषि र खाद्य प्रशोधन, पूर्वाधार र बिजुली, शिक्षा र स्वास्थ्य, सूचना र सञ्चार प्रविधि र रणनीतिक उद्योगहरूका निम्ति विशिष्ट प्रविधिको विकास पर्दछन् । आर्थिक विकासका निम्ति विश्व बैङ्क (२०१८) ले नेपाललाई दिएको सुझावमा सहभागितामूलक राजनीतिक प्रक्रिया, निजी क्षेत्रलाई लगानीको अवसर, मानवीय पुँजीको सदुपयोग, प्राकृतिक स्रोतको उपयोग, वातावरणीय जोखिमको कमी गर्ने र आप्रवासी कामदारको व्यवस्था तथा उनीहरूको सीपलाई सदुपयोग गर्नुपर्ने कुरा बताइएको छ ।
समग्र परिवर्तनको मूल आधार विज्ञान तथा प्रविधि हो । अन्य विषयको तुलनामा विज्ञान तथा प्रविधिमा नै सबैभन्दा छिटो परिवर्तन हुने गर्छ । सन् २०३० सम्ममा नेपाललाई समृद्ध तथा मध्यम आय भएको देशमा पुर्याउने राष्ट्रिय अभियानका निम्ति विज्ञान तथा प्रविधि र नवीन आविष्कारको बाटोलाई नअँगाली सम्भव छैन ।
एउटा देशको विकासले अर्कोलाई समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्छ । संयुक्त राज्य अमेरिकाले जीवाश्म इन्धनको खपतमा बढी ध्यान दिनुले सौर्य ऊर्जाको समुचित विकासमा उसको ध्यान जान सकेको छैन । यसबाट सौर्य ऊर्जाको प्रयोग विश्वव्यापी रूपमा उचित ढङ्गमा हुन सकेको छैन । चीनले हालै यसतर्फ विशेष ध्यान बढाएको छ । फलतः यसको प्रयोगको सम्भाव्यता बढेर आउन थालेको छ । धनी देशले नमूना काम नगर्ने हो भने विकासोन्मुख राष्ट्रहरूले सिक्ने अवसर पाउँदैनन् । पश्चिमा देशमा भएको औद्योगिक क्रान्ति तथा त्यसपछि भएको मोटर गाडीको क्रान्तिको प्रभाव नेपालमा सुरुमा खासै परेन । किनकि यो प्रविधि महँगो मात्रै होइन, यसको प्रविधि हस्तान्तरण नै जटिल थियो । यो भारी थियो, एक ठाउँबाट अर्को ठाउँमा लान बाटो चाहिन्थ्यो । पूर्वाधार नभएकै कारण कतिपय यस्ता प्रविधिहरू हाम्रो जस्तो देशमा उचित मात्रामा विस्तार हुन सकेनन् । तर, पछिल्लो समयमा आएको सूचना क्रान्तिको भने नेपालमा ठूलै प्रभाव परेको छ । यो प्रविधि मानवीय बुद्धिसँग बढी सम्बन्धित भएकोले प्रविधि हस्तान्तरण समेत सहज भयो । यसले हामीलाई एकै पल्ट विश्व मानचित्रमा जोडेको मात्र नभई भविष्यका निम्ति एउटा ठूलो सम्भावना आफ्नै सङ्घारमा ल्याइदिएको छ । सन २०१४ मा फेसबुकले ‘ह्वाट्स एप’ नामक सफ्टवेयर खरिद गर्दा १९ अर्ब डलर तिरेको थियो । अमेरिकाको एउटा पत्रिकाले यो रकम नेपाल नै किन्न सक्ने बराबर भएको समाचार सम्प्रेषण गर्यो । जुन हाम्रो लागि अपहेलना हो ।
यो अपहेलनालाई चुनौतीका रूपमा लिन सक्नुपर्छ । प्रभावकारी सफ्टवेयर निर्माण गरी आय आर्जन गर्ने यो सम्भावना अब हामी सबैलाई छ, यसले कुनै पनि देशको सिमानालाई आधार मान्दैन । हजारौँको संख्यामा नेपाली युवाहरू सूचना प्रविधिको अध्ययन तथा निर्माणमा संलग्न छन् । यस अर्थमा हामीले विश्व विकासमा देखिएका केही चरणहरूमा पर्याप्त समय नबिताई ‘विकासे फड्को’ मारेर नयाँ चरणमा प्रवेश गरेका छौँ । यो हाम्रो देशको कायापलट गर्ने सम्भावनाको एउटा बाहक हुन सक्छ ।
धेरै विकसित देशहरूले अरूलाई अतिक्रमण गरी त्यहाँ भएका स्रोतहरू ल्याएर (जस्तै, बेलायत), कालो धनलाई बैङ्किङ गरेर (जस्तै, स्विटजरल्याण्ड), विश्वभरिका बौद्धिक मानिसहरू भेला गरेर (जस्तै, अमेरिका) समृद्ध हुन सकेका हुन् । तर, समय अब बदलिसकेको छ । धनी देशभित्र पनि विकासको अवसर सबैतिर समान हुँदैन । त्यहाँ पनि कोही झन् विकसित हुने त कोही ओरालो लाग्ने क्रम हुन्छ । हालै, संयुक्त राज्य अमेरिकाको डेट्रोयट सहरले आफूलाई दिवाला भएको घोषणा ग¥यो । कुनै बेला अति विकसित यो सहर क्रमशः अधोगतितर्फ लाग्दै छ ।
राष्ट्र निर्माणको काम एक दुई वर्षमा हुने काम होइन । यसको निम्ति ठूलो समर्पण चाहिन्छ । विगतको जस्तो अरू देशलाई लुटेर, अरू देशलाई युद्धमा होमेर वा अरू देशमा प्रभुत्व जमाएर अब कसैले पनि आफ्नो देशको विकास गर्न सक्दैनन् । अब पारस्परिक सहयोग, मानव अधिकारको प्रत्याभूति, समावेशिता आदिको माध्यमबाट आमसञ्चारलाई जनस्तरमा पु¥याई देशलाई अघि बढाउन सकिन्छ । सबैलाई शिक्षित गरेर, उद्यमशीलता तथा सृजनशीलता प्रवद्र्घन गरेर तथा अनुकूल वातावरण (संरचना, लगानी, शिक्षा तथा तालिमको अवसर, प्रविधि विस्तार आदि) को विकास गरेर गरिने विकास नै दिगो हुन सक्छ । नेपालले आगामी दिनहरूमा लिनुपर्ने बाटो पनि यही हो ।
अहिलेका समृद्ध भनिएका धेरै देशहरू अरूलाई नलुटी यो अवस्थामा आएका होइनन् । संसारभरिबाट पढ्न गएका विद्वता वर्गलाई त्यही रोकेर अमेरिकाले आफ्नो देशको विकास ग¥यो । संसारभरिका स्रोतहरू लुटेर बेलायत तथा अरू कतिपय युरोपेली राष्ट्रहरु समृद्ध बने । संसारभरिका कुख्यात भ्रष्टाचारीका पैसा राख्न दिएर स्विट्जरल्याण्ड, लक्जेमबर्ग जस्ता राष्ट्रहरू धनी भए । स्रोत भएरै पनि धेरै विकासोन्मुख राष्ट्रहरू युद्ध, द्वन्द्व आदिका कारण झन् झन् गरिब बन्दै गए । नाइजेरिया, कङ्गो आदि यसका उदाहरण हुन् ।
विश्वव्यापी रूपमा विकासका विविध मोडेलहरू मार्फत सफलता प्राप्त गरी धरै विपन्न राष्ट्रहरूले छोटो समयमा काँचुली फेरिसकेका छन् । हामीमा विद्यमान भएका स्रोतहरूको उचित प्रयोग गरी देशलाई समृद्ध बनाउन सक्छौँ । अबको समय ज्ञानमा आधारित अर्थतन्त्रमा अग्रसर हुँदै छ । ज्ञानको सिर्जना तथा प्रयोग गरी अर्थतन्त्रको विकास गर्न सकिन्छ । व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिबारे सुसूचित गर्दै नवसिर्जना (इनोभेसन) तर्फ अघि बढाउनु आवश्यक छ । आधुनिक र पर्याप्त सूचना र वैज्ञानिक सोचको माध्यमबाट आम जनसमूहलाई विकासका निम्ति उत्प्रेरित गर्नु जरुरी छ ।
केही गर्न चाहने हरेक व्यक्तिलाई हामीले केही गर्न दिनुपर्छ । सबै देशहरू मानवीय मस्तिष्कको उच्चतम प्रयोगबाट मात्रै विकसित भएका हुन् । हरेक नागरिकलाई हामीले केही गर्न सक्ने, सोच्न सक्ने र सृजनशील भएर नयाँ कुराको आविष्कार गर्न सक्ने अवस्थामा पु¥याउनु पर्छ । हिजोको जस्तो स्रोत कमी भएको अवस्था अहिले छैन । विश्वव्यापीकरण र सूचना प्रविधिले समग्र विश्वलाई एउटै परिवार जस्तो बनाइसकेको छ । हामीले गरेको खोजी वा सिर्जना विश्व व्यापारमा तुरुन्तै जान सक्छ ।
भौगोलिक रूपमा विकट मानिए तापनि यही भौगोलिक विकटताले हामीलाई सुन्दर प्रकृति दिएको छ । यति सानो ठाउँमा यति धेरै प्राकृतिक, जातीय तथा सांस्कृतिक विविधता संसारमा अन्य कतै छैन । यो विविधताको अब प्रयोग गर्ने बेला आएको छ । जल विद्युत्, सिँचाइ, पर्यटन, कृषि आदिमा यस्तो विविधता नै वरदान साबित हुन सक्छ ।
यहाँ भएका प्रचुर सम्भावनाहरूबारे हामी अवगत नभएका पनि होइन । काठमाडौँ उपत्यका नै ग्यास भण्डारको माथि अवस्थित भए तापनि वा शौर्य शक्तिको प्रचुर सम्भावना रहेरै पनि हाम्रा अधिकांश समस्याहरू ऊर्जामा गएर गाँसिएका छन् । पहाडमुनि बग्ने खोलालाई पहाडमा चढाई सिँचाइ तथा खानेपानीको आपूर्ति गर्ने, पानीलाई बिजुलीमा बदल्ने, देशव्यापी रूपमा विद्युतीय मार्गको विकास गर्ने, प्रकृतिमा रमाउनेका लागि व्यापक पूर्वाधार विकास गर्ने जस्ता सम्भाव्य कार्यहरूबाट देशकै मुहार फेर्न सकिन्छ । यसो गरे विदेशीप्रतिको हाम्रो पर निर्भरतामा कमी आई क्रमशः हामी समृद्ध राष्ट्रका रूपमा विकसित हुन सक्छौँ ।
विभिन्न पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई पनि अब राजनीतिक विस्तार सँगसँगै आयआर्जनका काममा लगाउनु जरुरी छ । अरूलाई लुटेर, धम्क्याएर वा मागेर खानु पाप (अपराध) हो भन्ने कुराको अनुभूति सबैलाई हुनु जरुरी छ । एक्लै वा समूहले गर्न सक्ने स–साना परियोजना मार्फत स्थानीय स्तरमै आयआर्जन गर्ने कार्यलाई प्रोत्साहन गर्नुपर्छ । यसको निम्ति विभिन्न गैरसरकारी वा अन्य संस्थासँग सहकार्य गर्न सकिन्छ ।
बेलायतका तत्कालीन प्रधानमन्त्री विलियम ग्लाडस्टोन (सन् १८०९–१८९८) ले माइकल फाराडेलाई बिजुलीको प्रयोग केमा गर्न सकिएला भनी सोधेका थिए । फाराडेको सटिक जवाफ थियो, ‘प्रधानमन्त्री ज्यू, तपाईँ यसमा कर लगाउन सक्नुहुन्छ ।’ (फ्लिन, २०१३) । यसको अर्थ विज्ञानबाट फाइदा हुनुपर्छ भन्ने हो ।
विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी कामलाई सहज र पारदर्शी बनाउनुपर्छ । नेपाली युवाहरू विशेष गरी सहरी क्षेत्रका मध्यम वर्गीय युवाहरू सूचना प्रविधिको प्रयोगमा अभ्यस्त छन् । यसको प्रयोगबाट एकै क्षणमा उनीहरूका विचार वा अभियान ठूलो समूहमा व्याप्त हुने गर्छ । समर्थन र विरोधको राजनीतिमा यसले ठूलो महत्त्व राख्छ । यस्तो समूहलाई विकास कार्यमा जोड्नेतर्फ विशेष पहल लिनुपर्छ ।
नेपालको अहिलेको सबैभन्दा ठूलो स्रोत भनेको बौद्धिक तथा सृजनशील युवा शक्ति हो । नेपाली युवाहरूले मङ्गल ग्रहमा पानी पाइएको पुष्टि गरेको वा नासामा रही ठूला खोज गरेका दृष्टान्तहरू सुनेका छौँ । नेपाली युवाहरूले विदेशमा मात्रै होइन, स्वदेशमै समेत कहिले काहीँ हेलिकप्टर बनाई उडाएका वा रोबोट गुडाएका कुराहरू हामी सुन्ने गर्छौँ । यस्ता कामहरू गर्न युवाहरूलाई अभिप्रेरित गरी अबको समयलाई सृजनशीलता प्रवद्र्घनका निम्ति प्रयोग गर्नुपर्छ । यो शक्तिलाई अझ सृजनशील बनाई राष्ट्रलाई नै एउटा सिर्जनाको केन्द्र बनाउनु पर्छ । हिजोको जस्तो कविता कोरेर वा दोहोरी गीत गाएर मात्रै सिर्जना देखाउने होइन कि केही सामग्रीहरू बनाएर वा आविष्कार गरेर यसलाई एउटा अभियानकै रूपमा अघि बढाउनुपर्छ ।
दरिद्रताको मूल कारण न्यूनतम मानवीय आवश्यकताहरू जस्तै गाँस, बास र कपासको कमी हुनु वा त्यसको पहुँचबाट टाढा रहनु हो । हामी आफैले केही नगर्नु नै दरिद्रता निम्त्याउनु हो । प्रकृतिले स्रोतको सिर्जना गर्छ, मान्छेले त्यसैलाई प्रयोग गरेर विभिन्न किसिमका उत्पादनहरू बनाउँछ ।
विज्ञान प्रविधि, नवीन आविष्कार तथा यस्तै परिवर्तनकारी विचारहरूलाई निरुत्साहित गर्दै नयाँ नयाँ परिवर्तन विरोधी नियम कानून थप्दै जान्छ । गर्न सक्ने तथा चाहनेहरूमा नैराश्य आउन थाल्छ, प्रतिभा पलायन हुन थाल्छ । विगत ७० वर्ष यताको हाम्रो इतिहास हेर्ने हो भने हामी अझैँ पनि यही बाटोबाट हिँडिरहेका छौँ । यो कुरा धेरैले बुझेका छन् । तर भित्रैबाट मनन गरी समृद्धिको बाटो खोज्ने उपाय धेरै कमले मात्र देखेका वा देखाएका छन् । दरिद्रता शिक्षाको कमी होइन, शिक्षित व्यक्तिमा सही शिक्षाको कमीले हुने गर्छ ।
आफूलाई चाहिनेभन्दा कम वस्तु उत्पादन गरेर वा त्यस्तो वस्तु सिद्ध्याउने गरी खपत गर्ने सन्तान उत्पादन गरेर मानिसले आफूलाई दरिद्रताको खाडलमा धकेल्छ । यसको विपरीत, यदि यो दरिद्रताबाट ऊ मुक्त हुने चाहना राख्ने हो भने उसले विज्ञानको सहारा लिई उत्पादन बढाउन थाल्नु पर्छ । एक जना व्यक्ति (वैज्ञानिक) नर्मन बोरलाङको प्रयासले सन् १९७० ताका अनिकालले धेरै देश आक्रान्त हुनेछन् भन्ने पूर्व अनुमानलाई हरित क्रान्तिको माध्यमबाट कैयौँ गुणा बढी उत्पादन गरेर सबैको मुहारमा हाँसो ल्याइदिए । यसको निम्ति उनले जनसङ्ख्या बढाएर काम गर्ने मानिस थप्ने भनेनन्, बरु नयाँ प्रविधि, उपकरण, बीउ – बिजन, सिँचाइ आदिमा क्रान्तिकारी परिवर्तन ल्याउन सुझाए । मान्छे होइन, प्रविधि बढाऔँ, नयाँ उपकरणको विकास गरी दरिद्रता हटाऔँ । गरिब राष्ट्रले विज्ञान–प्रविधि, आविष्कारमा होइन, झन् बढी खाने मुखहरूको सङ्ख्या थपी, ऊ दरिद्रता, जनसङ्ख्या वृद्धि र वातावरणीय विनाशको दलदलमा जाकिदैं जान्छ । यो दरिद्रतालाई केही सहज बनाउन दाता राष्ट्रले उसलाई केही सहयोग दिन्छ, खानेकुरा दिन्छ । ऊ झन् झन् यो दलदलमा फस्दै जान्छ, पर निर्भरतामा ऊ अभ्यस्त हुन्छ । दाताकै इसारामा चल्न थाल्छ । यतिका वर्षसम्म उति धेरै ‘दाता’ संस्थाहरू देशमा सक्रिय हुँदा पनि हाम्रो अवस्थामा आशातीत परिवर्तन हुन नसक्नुमा केवल नेपालीहरू तथा राज्य मात्र जिम्मेवार छैनन् यसबाट, यी ‘विकसित देशहरू’ को विकासको प्रारूपमा नै केही कमजोरी भएको पुष्टि हुन्छ ।
विज्ञान र प्रविधिले गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निभाउँछ । विज्ञानकै कारण विकास हुने प्रविधिलाई औद्योगिक स्तरमा प्रयोग गर्दा रोजगारीको सम्भावना बढ्छ । विज्ञान र व्यवसायहरूबाट स्व–रोजगारको सम्भावना बढ्छ । आधुनिक कृषि, पशुपालन, आनुवंशिक इन्जिनियरिङ, सूचना प्रविधि आदिका कारण धेरै व्यक्तिहरूले रोजगार पाउँछन् । रोजगारी हुनु भनेको विभिन्न सभावनाहरुमा आफ्नो पहुँच बढाउनु हो । आयआर्जन गर्नु हो । यो आय व्यक्तिले आफ्नो तथा परिवारको स्वास्थ्य, शिक्षा, मनोरञ्जन, सुरक्षा आदिमा खर्च गर्न सक्छ । यसबाट परिवार तथा व्यक्तिको जीवन स्तरमा सुधार आउँछ । जीवन स्तरमा सुधार आउनु भनेको विकास हुनु हो, जुन क्रमशः समृद्धिको बाटोमा अग्रसर हुन सक्छ ।
प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १० : १० बजे
प्रतिक्रिया