एक महिनामा ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक आयात

काठमाडौं – नेपालमा एक महिनामा विभिन्न देशबाट ७६ करोड रुपैयाँभन्दा बढीको ल्यापटप र नोटबुक भित्रने गरेको छ । 

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको ल्यापटप र नोटबुक नेपालमा भित्रिएको हो । 

भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको छ । 

सो मूल्यमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक नेपालले आयात गरेको विभागले जनाएको छ । 

नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ । गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ । 

चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : २३ बजे