दक्षिण कोरिया रोजगारी : उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । 

एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ । उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।
 
यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कूल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो । उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कूल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए ।
 
        उत्पादनतर्फको पहिलो चरणको परीक्षा गत साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने इपिएस कोरिया शाखाले जनाएको छ ।
 
      शाखाका निर्देशक पुष्पराज कटुवाल परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको सङ्ख्या पनि वृद्धि हुने बताउनुहुन्छ । “यो नेपाली युवाका लागि अवसर हो”, उहाँले भन्नुभयो, “कोरिया सरकारले नेपालीलाई रुचाएको देखिएको छ ।”
 
        सन् २००८ देखि इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् । इपिएसबाट ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । उनीहरुले चार वर्ष १० महिना कोरियामा काम गर्न पाउँछन् । हाल कोरियामा ३३ हजार इपिएस श्रमिक छन् ।
 
       दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । इपिएसबाट श्रमिक लैजाने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।

रासस

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : ०१ बजे