माधवको कार्यक्रममा  देखिएनन् चार पूर्वमन्त्री : यसरी हुँदैछ भित्रभित्रै विद्रोहको तयारी 

काठमाडौं  । पार्टीपुर्नगठन  नाम दिएर तामझामका साथ कार्यक्रम गर्न खोजे पनि अन्तत माधव नेपाल असफल भएका छन् । विहीबार उनले आयोजना गरेको कार्यक्रममा उनको कोटाबाट मन्त्री बनेका चार पूर्वमन्त्री उक्त कार्यक्रममै देखिएनन् ।  

पार्टीको पहिलो स्थापना दिवस भनेर गरिएको कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले नेकपा एसमा मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको स्पष्ट हुन्छ । 

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुन् ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र लिएको थियो । दल दर्ता गर्न माधवलाई नाडी समातेर हिडेकी झाँक्री र त्यसलगत्तै मन्त्री भएका अरु तीन नेता पनि कार्यक्रममा नदेखिए पछि माधवको कार्यक्रम खल्लो भएको कार्यक्रममा सहभागी कार्यकर्ताहरुले बताए ।

माधवले भित्रभित्र माओवादीसँग एकता गर्न लागेपछि  नेकपा एसमा ठूलो विद्रोहको तयारी भइरहेको उनीहरुले बताए । कार्यक्रमा न्युन कार्यकर्ता देखिनु र ठुला नेताहरुले पनि वास्ता नगरेसँगै अब माधव नेपालको पार्टी विस्तारै रित्तिदै जानलागेको पूर्वसंकेत भएको उनीहरुले बताए । कसैलाई पद नपाएको झोक, कसैलाई मन्त्री फेरेको झोक त कसैलाई अब माओवादीसँग मिल्न पर्ने झोकले पुर्नगठन भनेको पार्टी समाप्त हुन लागेको असन्तुष्टहरुले बताए ।  गठबन्धनदलले पनि आगामी निर्वाचनमा खासै सिट दिने छनक नदेखाएसँगै नेकपा एसमा ठुलो विद्रोह हुने तयारी भइरहेको उनीहरुले बताए । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ५ : ५२ बजे