‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देश द्वेषी राजनीति, देशभक्तको घृणा देशकै घृणा हो

प्रसिद्ध लेखक सरिता तिवारी बारबार एक महत्त्वपूर्ण छापा पत्रिकामा लेखिरहनुहुन्छ । विशेषतः उहाँले  ने.क.पा.एमाले र अझ ओलीविरुद्ध लेख लेखेको पाइन्छ । घरमा नै पत्रिका आउनाले मेलै पनि समय मिलाएर पढ्ने गरेकी छु ।  तिवारीले यही साउन १७ गते उफ् , यो स्त्री द्वेष ! नामको लेख कान्तिपुर दैनिकमा छापिएको रहेछ । पढियो र पढेपछि प्रतिक्रिया स्वरूप यो लेख लेखिएको हो । 

उहाँले नै अर्थ्याए अनुसार स्त्री द्वेषको सामान्य अर्थ महिलाप्रति पूर्व निर्धारित वा तत्कालीन घृणा र अपमान  हो ।तिवारीजी द्वेष, शत्रुता, वा परपीडन एउटा खराब प्रवृत्ति पनि हो । यस्तो खालको बानी र बेहोरा भएको मानिस देश प्रति नै द्वेष वा घृणा व्यक्त गर्दा रहेछन् । देशभक्तलाई धारे हात लगाएर देशभक्ति हुँदैन तिवारीजी  । 

गठबन्धन सरकार बनेदेखि स्त्री द्वेष ह्वात्तै बढेको छ । कारण सरकार नै यस खालका अपराधका सवालमा कठोर नहुँदा त्यसले तलतल मलजल पाउँछ ।  तिवारीजीले स्त्री द्वेष देख्नुभयो र यसका बारेमा लेख्नु पनि भयो तर देशप्रति नै द्वेष राखेको र गरेको किन देख्नुभएन ? 

गठबन्धन सरकार देश द्वेषी रहेको थाहा भइकन किन मौन बस्नुभएको हो र यस्ता अत्यन्त दुःख लाग्दा र समस्त देशवासीलाई बिझाउने विषयमा किन केही लेख्नु हुन्न यो प्रश्न मैलै गर्न खोजेको हो । 

महाकालीमा जयसिंह धामी मारिए, महाकालीको आकाशमा भारतको सैनिक हेलिकप्टरले चार चक्कर लगायो,चुच्चे नक्सा भारतमा रहेको नेपाली दूतावासमा बुच्चे पारियो, २४ लाख कोरोना खोप सरकार आफैँ हरायो भन्छ । केही दिनअघि कोरोना खोप समयमै लगाउने प्रबन्ध सरकारले नगर्दा कामै नलाग्ने भयो । अमेरिकासँग गुपचुपमा गरेको एसपीपी सम्झौता दबाबपछि सरकार आफैँले नगर्ने निर्णय गर्‍यो र पत्र पनि पठाउने भन्यो तर पत्र पठाइरहेको छैन । बजेट निर्माण गर्दा बाहिरी व्यक्ति प्रवेश गराई करका दरमा भारी परिवर्तन गर्ने र नेपाल आमामाथि घात गर्ने अर्थमन्त्री जनार्दन शर्मा जस्ता कुपुत्रलाई सरकारले बहुमतका नाममा जवर्जस्ती चोख्यायो । विवादित नागरिकता विधेयक पास भयो । के बहुमतका नाममा जे पनि गर्न मिल्छ ? र यस विषयमा हामी मौन बस्न सुहाउँछ ? त्यसैले नेपाल आमाको छाती चिरेर त्यसमा नुनचुक दलिरहेको देखेर त्यसका बारेमा चुप्प लाग्ने अनि चेलीको चोलो च्यातियो भनेर मात्र चिन्ता गर्नु मात्र जाती होला र सरिताजी ? 

द्वेष भनेको घृणा, ईर्ष्या र शत्रुता रहेछ । छोरीलाई माया गर्ने तर  बुहारीलाई घृणा गरेर महिला मैत्री भइन्छ र सासूको रिस गरेर आमालाई मान मनितो गर्नु को के माने हुन्छ ?  कुनै पनि खाले द्वेष अर्थात् घृणा जाती हुँदैन । यस्तो संस्कारले अगाडि बढ्न सकिँदैन  । कसैलाई पनि अनावश्यक  हेला होचो गर्नु हुँदैन । आफ्नालाई माया र अर्कोलाई घृणा वा द्वेष, आफूलाई मन परेको पार्टी र सरकार उसले गरेको नराम्रै कामलाई प्रशंसा, सिद्धान्त विचार नमिलेकै आधारमा पुरै घृणा गर्नु  जाती होइन । सरिता जी, तपाईँ प्रायः एमाले र अझ ओलीप्रति चरम घृणा गर्दै लेख लेखेको मैले पढेकी छु । देश र जनताको भलो गर्ने पार्टी, नेता र सरकारलाई यसरी खेदी खेदी घृणा गर्नु अनैतिक हो । ओली सरकारका पालामा भएको निर्मला पन्तको हत्या हिंसाका विरुद्ध सडकमा उत्तेजक तथा हिंस्रक प्रदर्शन गर्ने महिला गठबन्धन सरकार बनेपछि महिला हिंसा र हत्याका घटना चरम रूपमा बढोत्तरी हुँदा किन मौन छन् ? निहारिका राजपूतलाई सर्वोच्च अदालत कम्पाउण्ड भित्रबाट जोरजर्वर्जस्ती लछार पछार गर्दा तपाईँको चित्त दुःखेन ?  ओली सरकारले हिंसा हत्या र एसिड आक्रमण विरोधी अध्यादेश ल्याउँदा तपाईँहरू किन मौन विरोधमा रहनुभयो ?  जाती र असल काम र कुरालाई खुला दिलले किन समर्थन गर्नु हुन्न ?  महाकालीमा जयसिंह धामी मारिँदा हाम्रा आँखाबाट शोकका दुई थोपा आँसु किन आएन । राष्ट्रपतिविरुद्ध कतिपय महिला, बौद्धिक वा मानव अधिकारवादीहरूले मनोमानी तरिकाले मुख छाडेर बोल्दा हामी किन चुपचाप सरिताजी ? के उहाँ विगत जीवनमा एउटा राजनीतिक आस्था सम्बद्ध हुनुहुन्थ्यो भन्ने आग्रहले होइन र उहाँको अहिलेको काम हेर्ने कि हिजो कुन आस्था, जात, धर्म र लिङ्गको हो भनेर हेर्ने । सरिताजी लेख्नुहोस् तर आज लेखेर भोलि पछुताउने दिन नआओस् । म पनि लेख्ने कोसिसमा छु । ठुलै नेता नभए पनि ठुला हौँ भन्ने र घमण्डले फुल्ने नेताभन्दा कम छैन । ठुलो कुर्सीमा बसेर ठुलो पदमा विराजमान भएर मात्र ठुलो भइन्छ र कि बौद्धिक रूपमा पनि ठुलो हुनुपर्छ ? 

त्यसैले महिला आन्दोलन यिनै कारणले कमजोर भएको हो । बौद्धिक र लेखकीय क्षमता अत्यन्त आवश्यक छ । खै त राष्ट्रियसभा र संसद्मा विजयी भएर र समानुपातिकबाट सभासद् भएका महिलाको सङ्ख्या भारी देखिन्छ । अझ प्रदेशमा पनि सभासद् निक्कै छन् तर राप र ताप अत्यन्त कमजोर देखिन्छ । यस्ता कुरामा महिला सङ्घ र पार्टी स्वयंको ध्यान गएको पाइन्न । मदन भण्डारीले भनेझैँ योग्य मध्ये योग्यतम नेतृत्व बनाउने भन्दा अयोग्य मध्ये योग्य बनाउन लागेपछि सोचे अनुसार उपलब्धि हासिल हुन सक्तैन । 

सरिताजी  किन पहिले जस्तो ओली सरकारका विरुद्ध छाती छेड्ने गरी गोली बर्साउने गर्नु हुन्न ?   खोटो मन लिएपछि छोटो भइन्छ  । आकाश जत्तिको फराकिलो हाम्रो छाती कहिले होला ? संस्कृतको एउटा श्लोकमा आमालाई सबै भन्दा ठुलो गुरु मानेको रहेछ । हामी महिलाहरू आमाको भूमिकामा रहन सक्नुपर्छ । आमा कहिल्यै कुमाता हुन्नन् भन्ने छाप छाड्नुपर्छ । एउटा द्वेष र घृणामा रुने अनि अर्को घृणा र द्वेषमा हाँस्ने काम बन्द गर्नु पर्छ । यो देश बन्यो भने सबै कुरा ठिकठाक हुन्छ । कसैले पनि नेपाल र नेपालीको हितका लागि थोरै मात्र राम्रो काम गर्छ भने त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ । 

हाम्रो देशमा नै सबै खालका असमानता र उपेक्षा हटेपछि मात्र महिलामाथि हुने द्वेष पनि हट्छ र हटाउन सकिन्छ । खेतभरि फैलिएको राते रोग फैलिएको छ अनि हामी चाहिँ एउटा गरो वा फोगटोमा मात्र रोगविरुद्ध बिस हालेर  पुरै खेतबाट रोग हटाउन खोज्छौँ अनि कसरी हुन्छ  ? देशै भरि फैलिएको रोग देशबाटै हटाउन लाग्नु पर्छ । अनि मात्र सबै खालका असमानता,विभेद र अन्याय हटाउन सकिन्छ । आफ्नी छोरी वा चेलीका विरुद्ध मात्र लाग्ने होइन देशै भरिका चेलीहरू विरुद्धका हिंसा र हत्याका विरुद्ध लाग्नुपर्छ । देशमा  अन्याय अत्याचार र भेदभाव हत्या, हिंसा व्याप्त छ भने त्यसलाई समूल समाप्त पार्न लागि पर्नुपर्छ । देशलाई माया गर्ने  गर्ने पार्टी, नेता र सरकारलाई फुटेका आँखाले देख्न सकिएन भने आखिरमा हामी कसैको भलो हुन्न । 

देशमा सबै खालको देशघात, जनघात  र सबै खालका भ्रष्टाचार तथा अनियमितता  देखि देखि त्यसका बारेमा एक शब्द नबोली हक र हित कायम हुँदैन ।  सामन्तवादी शासनमा महिला वर्ग समाजको सबै भन्दा पुछारमा राखिएको थियो र चरम उपेक्षा र अपमान गरिएको थियो । त्यस बेला गाई बस्तुको नाम थियो । तिनलाई कम्तीमा तारे,सिँदुरे र तिल्के भनेर बोलाइन्थ्यो तर महिलालाई फलानाकी स्वास्नी,छोरी र आमा मात्र भनेर बोलाइन्थ्यो । पहिले पहिले त त्यस्तो थिएन भन्ने थाहा हुन्छ । गार्गी जस्ता विद्वान् थिए । राजा महाराजाका शासनमा महिला पैतालामुनि नै राखिए र पेलिए । पूर्व राजा ज्ञानेन्द्रका पाउ पखाल्न महिलाहरू नै अघि सरे । यसरी भाट  विचार, चिन्तन र पाठ बारबार हजारबार पढाएर सदाएर दास संस्कृतिलाई जब्बर बनाइएको  छ । 

यस्तो तुच्छ संस्कृति हटाउन लाग्नु परेन तिवारी जी । त्यस्तै पुँजीवादी समाज व्यवस्थामा महिलाले  अधिकार पाए पनि महिलालाई सबै खालको कमाउ धन्दाका रूपमा अश्लील र नाङ्गो रूपमा उपयोग गरेको त हो नि तर समाजवादी वा कम्युनिस्ट शासन प्रणाली भएका देशहरूमा महिलाको सबै क्षेत्रमा भएको उत्थान सरिताजीलाई थाहा नभएको होइन तर नेपालमा भने सही कम्युनिस्ट को हो भनेर राम्ररी ठम्याउनुपर्छ । कम्युनिष्टको झण्डा बोक्तैमा सबै कम्युनिस्ट हुँदैनन् । कम्युनिष्ट आन्दोलनलाई भष्मखरानी पारेर काँग्रेसको टाङमुनि छिर्ने कम्युनिस्ट हुँदैनन् । सधैँ जनतालाई धाक धम्की दिने तर्साउने पनि कम्युनिस्ट हुन्छन् र ?  अनेमसंघ र एमाले पार्टी महिला उत्थान र उन्नयनको मूल आधार हो । अरूले भए महिला राष्ट्रपति बनाउँथे ? अहिले पुरुष सरह महिला हक हित दिने दिलाउने सवालमा सङ्घर्ष गरी सफलता प्राप्त गर्न अनेमसंघको र वर्तमान राष्ट्रपतिको अग्रणी भूमिका रहेको छ र यसमा अरू महिला सङ्घको पनि भूमिका रहेको छ । 

त्यसैले भारतले गरेको नेपालमाथि गरेको नाकाबन्दीलाई भन्न नसक्ने पार्टी पनि थिए तर ओली र एमालेले नाकाबन्दी विरुद्ध चट्टानी अडान राख्यो । संविधान जारी नगर्न र गरेको संविधान विरुद्ध भारतीय सरकार मरिमेटेर लागि पर्‍यो । विराटनगरमा लामो समयदेखि भारतीय सैनिक टुकडी बसिरहेको थियो । तर अरू कुनै सरकार र पार्टीले हटाउन कुनै पहल गर्न सकेका थिएनन् तर ओली सरकारले हटाइ छाड्यो । चीन तिर ओली सरकारले गरेको वाणिज्य र पारवहन सन्धि पहिले र पछि पनि अरू कसैले गर्न सक्ने थिएनन् तर ओली सरकारले गरिछाड्यो । अब भारतले नाकाबन्दी गरे पनि उत्तरी सीमा खुला भएको हुँदा भारतको कुनै धाक र धम्की देखि नेपाली डराउनु पर्दैन ।  के यी तमाम गतिविधि एउटा राष्ट्रभक्त सरकार र पूर्व प्रधानमन्त्री ओलीले गर्नु भएको होइन ? के यी तमाम काम कुनै पार्टी र नेता विशेषका लागि गरिएका हुन् र ? तमाम देशबासी र भावी सन्ततिका लागि गरिएका हुन् भने एकोहोरो कुनै सकार नदेखी एकोहोरो ओली र एमालेलाई धारे हात लगाउनु सरासर नजाती कुरा हो । देशलाई माया गर्नेले देशभक्तलाई पनि माया गर्नुपर्छ र जान्नु पर्छ तिवारीजी ?  

देशभक्तलाई घृणा गर्नु देशलाई द्वेष वा घृणा हो र धर्ती पुत्रलाई तिरस्कार गरेर धर्तीको माया गरेको ठहर्दैन लेखक महोदय ? पदीय हिसाबले पार्टी र राजकीय तहको उपल्लो तहकी नभए पनि यस्ता गलत कुराको जानी नजानी खण्डन गर्ने गरेकी छु । कृपया देश र जनताका लागि राम्रा काम गर्नेहरूका विरुद्ध यस खालका गलत र फरेवी लेख लेखेर आम जनतालाई अब आइन्दा भड्काउने दुष्प्रयत्न नगर्नु होला तिवारी जी ?

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ३५ बजे