‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

शङ्कास्पद प्रवेश पत्रसहित सशस्त्र प्रहरी पक्राउ

कर्णाली । सवारी चालक अनुमति पत्र (लाइसेन्स)परीक्षाको प्रवेश पत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमति पत्र परीक्षाको (लिखित/मौखिक) प्रवेश पत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको कीर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शङ्कास्पद प्रवेश पत्र भेटिएको थियो । 

यातायात कर्मचारीले शङ्कास्पद प्रवेश पत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरेन्द्रनगर–७ स्थित यातायात व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताउनुभयो । “प्रवेश पत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदै छ”, उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयकै कर्मचारीले शङ्कास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ ।”

यसैबीच प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । 

वीरेन्द्रनगर–११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो । प्रदेश लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागु औषध फेला पारेको हो ।रासस

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ३० बजे