अफगानिस्तानको पक्तिया प्रान्तमा बाढी १४ जनाको मृत्यु

काबुल । अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले सोमबार जनाएको छ ।

आइतबार राति प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण १४ जनाको ज्यान जानुको साथै १२ जना घाइते भएका राज्य सञ्चालित समाचार समितिले जानकारी दिएको छ ।

 मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा र छ सय ७६ अन्य आंशिक रुपमा ध्वस्त भएका बख्तरले जानकारी दिएको छ । 

बाढीले यस प्रान्तमा एक हजार चार सय ३०  भन्दा बढी गाईवस्तुको ज्यान गएको र सयौं किलोमिटर सडक, असङ्ख्य सुरक्षाका पर्खालहरु, पुल र बाँधमा क्षति पुगेको बख्तर जनाएको छ ।

 शनिबार पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अहमदउल्लाह अनासले पुष्टि गर्नु भएको छ । 
 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : २६ बजे