सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिवार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगरस्थित न्युरो अस्पतालमा भइरहेको छ । 

को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले शनिवार बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो । 

एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ३९ बजे