काँग्रेस नेता गिरीको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । 

क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिवार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले जानकारी दिनुभयो ।

उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिनुभयो । 

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदीप गिरीको जन्म विसं २००४ मा सिराहाको बस्तीपुरमा भएको हो ।  

समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक हुनुहुन्थ्यो । 

नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो । 

उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा काँग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । 

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि काँग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।  

राजमोती मिडिया प्रा.ली.द्वारा सञ्चालित चक्रपथ डटकम परिवार नेपाली काँग्रेसका नेता गिरीको निधनमा दुःख व्यक्त गर्दै स्व.नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । 

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ०९ बजे