पाकिस्तान र भारतका लागि युद्ध राम्रो विकल्प होइन : शहबाज सरिफ

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताउनुभएको छ । 

अमेरिकाको हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरूको एक समूहसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामी वार्ताको माध्यमबाट भारतसँग स्थायी शान्ति चाहन्छौं किनभने युद्ध कुनै पनि देशका लागि राम्रो विकल्प होइन ।

सरिफले दक्षिण एसियामा दिगो शान्ति पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) को समाधानसँग जोडिएको पनि बताउनुभयो । दक्षिण एशियामा दिगो शान्ति संयुक्त राष्ट्रसंघको प्रस्ताव र कश्मीरीहरूको इच्छाअनुसार जम्मू र कश्मीर मुद्दाको समाधानसँग जोडिएको प्रधानमन्त्री सरिफलाई उद्धृत गरी द न्यूज इन्टरनेसनलले जनाएको छ ।

आणविक सम्पत्ति र पाकिस्तानको व्यावसायिक तालिम प्राप्त सेनाको बचाउ गर्दै उहाँले भन्नुभयो, “हामी हाम्रो सीमाको रक्षाका लागि हाम्रो सेनामा खर्च गर्छौं, आक्रमणका लागि होइन । प्रधानमन्त्री सरिफले भन्नुभयो, “इस्लामावाद र नयाँ दिल्लीबीच व्यापार, अर्थतन्त्र र दुई देशका जनताको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि सहकार्य हुनुपर्छ ।”

राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) कार्यक्रमका बारेमा सोधिएको एक प्रश्नको जवाफमा प्रधानमन्त्री सरिफले पाकिस्तानको आर्थिक संकट हालैका दशकहरूमा राजनीतिक अस्थिरतासँगै आएको संरचनागत समस्याका कारण उत्पन्न भएको बताउनुभयो ।

रासस÷एएनआई

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : २९ बजे