‘झापा सङ्घर्षका योद्धाले रोपेको बीउ हो एमाले’

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा सङ्घर्षका शहीदहरूले रोपेको विचारको बीउ फस्टाएर अहिलेको एमाले बनेको बताउनुभएको छ । 

तत्कालीन पञ्चायती शासकहरूद्वारा हत्या गरिएका झापा सङ्घर्षका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मृतिमा झापाको सालबाडीमा निर्माण गरिएको शहीद स्मृति पार्कमा कलर वाटर फाउन्टेन पार्कको उद्घाटन गर्दै अध्यक्ष ओलीले उक्त भनाई राख्नुभएको हो ।  

देश परिवर्तनका लागि सङ्घर्षमा होमिनुभएका योद्धाहरूलाई २०२९ सालमा तत्कालीन शासकहरूद्वारा झापाको सुखानीको जङ्गलमा लगी गोली ठोकेर मारिएको थियो ।  

तत्कालीन पञ्चायती सरकारले ५० वर्ष अघि उहाँहरूको हत्या गरे पनि उहाँहरूको विचार नमरेको र उहाँहरूले बोकेको विचारबाटै आजको एमाले भएको अध्यक्ष ओलीले बताउनुभयो । 

शहीद स्मृति पार्कमा रहेको सानो खोल्सीलाई एमालेले तलाउ बनाएको र त्यसलाई अहिले विकास गरी कलर वाटर पार्कको रूप दिएको हो । 

शुक्रवार राती ९ बजे सयौँ स्थानीयवासीको उत्साहपूर्ण उपस्थितिमा अध्यक्ष ओलीले उक्त कलर वाटर पार्कको उद्घाटन गर्नुभएको हो । 

सो अवसरमा अध्यक्ष ओलीले देशको विकास गर्ने पार्टी एमाले हो भन्नुहुँदै सानै भए पनि प्राकृतिक स्रोतको संरक्षणबाट आज आकर्षक पार्क बन्न सकेको र एमालेले साना–साना प्राकृतिक स्रोतहरूमा पनि विकास र समृद्धि देख्ने बताउनुभयो । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५० बजे